टीकापुर, पौष २०
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एकजना अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. १ का २५ वर्षीय हिमाल शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए । शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ । बडुवालको २०७८ कात्तिक २३ गते टीकापुरमा हत्या भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।
अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । तर, मुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन । उक्त मुद्दामा पटक–पटक पेशी तोक्ने र सर्ने गरेको छ ।