Hamro Patra
अन्तरविद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु

टीकापुर, पौष १९
टीकापुर नगरपालिकास्तरीय अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ ।नगरपालिकाको वडा नं. १ देखि ५ सम्मका सम्पूर्ण सामुदायिक विद्यालय र वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय तथा वडा नं. ६ देखि ९ सम्मका सामुदायिक विद्यालयहरुको सहभागितामा आजदेखि प्रतियोगिता शुरु भएको हो । 

टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयको खेलकुद मैदानमा भएको कार्यक्रम एक भव्य समारोहका बिच नगर प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गरेका छन् । 

कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख थारुले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त लगानी गर्न नसकेको स्वीकार्दै खेलकुदमा लगानी बढाउँदै जाने बताए । 

‘टीकापुरमा जसरी हामीले प्लेन चलाएका छौं, त्यसैगरी भोलिका दिनमा खेलकुदको क्षेत्रमा पनि लगानी बढाउँदै जानेछौं’ नगर प्रमुख थारुले भने ‘सीमित श्रोत साधनका कारण पालिकाको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन ।’

Game-2-1735914517.jpg
प्रतियोगिताको आयोजक विद्यालय मुक्त कमैया आधारभूत विद्यालय विजयनगरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोलारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाको शिक्षा शाखा प्रमुख नरेश अवस्थी, समाजसेवी प्रकाश टमट्टा, खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल, वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी, कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्मा, आयोजक विद्यालयका प्रधानाध्यापक राजाराम ढकाल, पत्रकार यज्ञराज सिम्खडा लगायतले बोलेका थिए ।   

प्रतियोगिता सञ्चालक मूल समितिका सदस्य एवं जनप्रकाश आभारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्यायले दिएको जानकारी अनुसार प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स अन्तर्गतका खेलकुदहरु सञ्चालन हुनेछन् ।  

उता, वडा नं. ६ देखि ९ सम्मका सामुदायिक विद्यालयहरुको सहभागितामा हुने प्रतियोगिता आजदेखि नै त्रिभुवन माध्यमिक विद्यालय बटनपुरको खेल मैदानमा शुरु भएको छ । 

उपाध्यायले दिएको जानकारी अनुसार निजी तथा आवासीय विद्यालयहरुले भने प्रतियोगितामा माघ ७ गतेदेखि भाग लिनेछन् । वडा नं. १ देखि ५, ६ देखि ९ र निजी विद्यालयबाट हरेक प्रतियोगितामा प्रथम हुने विद्यालयले फाइनल चरणमा प्रतियोगिता खेल्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update