Hamro Patra
चिसो बढेपछि टीकापुरको चोकचोकमा दाउरा वितरण

टीकापुर, पौष १९
कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न संघ संस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

Tikapur Mohotsav 2081

एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको बताए । भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए । 

टीकापुर नगरपालिका वडा नं. ४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएको वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ’ उनले भने‍ ‘चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।’

यस्तै टीकापुर वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्षझैँ यस वर्ष पनि वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ ।

‘गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ’ उनले भने, ‘यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।’ चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीयहरु बताउँछन् ।

रासस

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update