Hamro Patra
टीकापुरमा जारी होली पर्व रोक्न प्रशासनको अनुरोध

टीकापुर, फागुन २२
इलाका प्रशासन कार्यालय टीकापुरले होली पर्व रोक्न आग्रह गरेको छ । टीकापुर साँस्कृतिक समाज टीकापुरलाई आज एक पत्र पठाई कार्यालयले स्वास्थ्य तथा सुरक्षा सतर्कताका लागि होली पर्व रोक्न भनेको छ ।

कार्यालयले चिनबाट सुरु भएर विश्वका विभिन्न मुलुकहरुमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाईएका कारण होली पर्वमा मानिसहरु भेला हुने कार्यलाई स्थगित गरिदिन अनुरोध गरेको छ ।

Khadga Memorial And Janajagriti

चिनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरस अर्को छिमेकी मुलुक भारतमा समेत देखा परेको छ । होलीको अवसरमा भारतबाट थुपै्र व्यक्तिहरु आउने र उनीहरु मार्फत कोरोना भाइरस फैलिन सक्ने सम्भावना रहेको भन्दै कार्यालयले मानिसहरु भेला हुने कार्य रोक्नु परेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम राष्ट्रका रुपमा राखेको छ । संगठनले उच्च जोखिममा राखेपछि सरकारले कोरोना भाइरस फैलिन नदिन सतर्कता अपनाएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सभा समारोह, गोष्ठी लगायतका मानिस भेला हुने खालका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेका छन । स्थानीय पालिकाहरुले समेत आफ्ना क्षेत्रमा यस्ता खालका कार्यक्रम नगर्न भनेका छन ।

भारतसँग सीमा जोडिएका स्थानीय पालिकाहरुले सीमा क्षेत्रमा स्वास्थ्य जाँचको व्यवस्था गरेका छन । यसैक्रममा टीकापुर नगरपालिकाले खक्रौलामा कोरोना भाइरसलाई मध्यनजर गरेर हेल्थ डेस्क राखेको छ । भारतबाट आउने हरेक व्यक्तिको स्वास्थ्य जाँच गर्ने उद्देश्यले हेल्थ डेस्क राखिएको बताईएको छ ।

नेपालमा केही व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । सरकारले विदेशबाट फर्किएका ती व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ । उनीहरु मध्ये धेरैजसोलाई कोरोना भाइरसको संक्रमण नभेटिएको सरकारको दावी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update