
धनगढी, पौष १९
कैलालीको खुटिया खोलाको दोहन हुँदै आएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ मा पर्ने खुटिया नदीको जेबिसी प्रयोग गरेर दोहन हुँदै आएको हो ।
महेन्द्र राजमार्गको खुटिया नदीको पुल मुनिको क्षेत्रबाट नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहिवार राति चार सवारीलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको टोलीले रातिको समयमा नदीमा भेटिएका २ जेसिबीसहित चार सवारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो । कैलाली प्रहरीले से १ क ९६६, सुदूरपश्चिम प्रदेश ०१–००१ क १५१०, सुदूरपश्चिम प्रदेश ०१–००१ क १६१४ र से १ त ९६७४ नम्बरका गाडीहरू नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले रातिको समयमा नदीमा रहेका सवारीहरू नियन्त्रणमा लिएको बताएको हो । चार सवारीका चालकहरू प्रहरीमा गाडी बुझाएर गएका थिए। सवारीहरू मालाखेती प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी मिश्रले रातिको समयमा नदीमा रहेका सवारी नियन्त्रणमा लिएको बताए । गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको सङ्कलन, बिक्री वितरणका लागि ठेक्कामा दिएको छ ।
नगर प्रवक्ता गोपालदत्त भट्टले खोलाहरू ठेक्कामा दिएको बताएका हुन । खुटिया नदीको दोहन भएको विषयमा जानकारी नरहेको उनले बताए ।