टीकापुर, पौष १८
झण्डै पाँच महिनादेखि रिक्त रहेको सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर जीवन राना नियुक्त भएकी छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको मन्त्री परिषदको बैठकले डाक्टर रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले डडेल्धुराका शेरबहादुर भण्डारी र कञ्चनपुरका डाक्टर हिरा चन्दलाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।
द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधी गरेकी रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् भने भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । सदस्यमा नियुक्त चन्द एमाले कञ्चनपुरका नेता हुन् ।
मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाएका छन् भने उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् ।
राना आयोगकी पाँचौं उपाध्यक्ष हुन् । यसअघि गणेशबहादुर विश्वकर्मा, अनुपकुमार उपाध्याय, मोहनदेव विष्ट र केशरबहादुर साउँद आयोगका उपाध्यक्ष भइसकेका हुन् ।