Hamro Patra
जातका नाममा राजनीति गर्नेका दिन सकिएः केन्द्रिय सदस्य चौधरी 

टीकापुर, पौष १६
जातको नाममा गरिएको राजनीतिले कसैको भलो नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविभानसभा सदस्य योगेन्द्र चौधरीले बताएका छन् ।कैलालीको टीकापुरमा नेपाली काँग्रेस नगर कार्यसमितिले आयोजना गरेको ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं १०० दिने अभियानसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै नेता चौधरीले सो कुरा बताएका हुन् । 

नागरिक उन्मुक्ति पार्टीलाई लक्षित गर्दै नेता चौधरीले रेशम चौधरी र रञ्जिता चौधरीले दुई कार्यकाल निर्वाचन जित्दा समेत यो क्षेत्रका नागरिकहरुको जीवनस्तर ज्यूँका त्यूँ रहेको दाबी गरे । 

Tikapur Mohotsav 2081

‘रेशम जी र रञ्जिता जीहरुले चुनाव जितेको दुई कार्यकाल भयो, यहाँका कुनै नागरिकको जीवनस्तर उठेको छ ? रञ्जिता जी मन्त्री बन्नु भयो ? टीकापुरका कति मुक्त कमैया, सुकुम्बासीले लालपूर्जा पाए ?’ संविधान सभा सदस्य चौधरीले भने ‘देशको समृद्धिका लागि जातको नाममा राजनीति गर्नेहरु सकिँदै गएका छन्, यो कुरा आमजनताले बुझ्‌न जरुरी छ ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले नागरिक उन्मुक्तिलाई प्रश्न सोध्ने बेला आइसकेको बताए । 

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ललिता सुनारले देशको आवश्यकतालाई हेरेर बि.पी.ले शुरुवात गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति अनुशरण गर्नुपर्ने बताइन् । 

काँग्रेस नगर सभापति नरेशकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य केशरी विष्ट, काँग्रेस कैलालीका सचिव नृप सुनार, महाधिवेशन प्रतिनिधि प्राध्यापक डाक्टर जगतबहादुर सिंह, क्षेत्र नं. १ का सभापति प्रकाश शाह लगायतले बोलेका थिए । नगर उपसभापति सुरतबहादुर रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव झपटबहादुर बुढाले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update