Hamro Patra
कैलालीका किसान तोरी खेतीतर्फ आकर्षित

अविनाश चौधरी
धनगढी, पौष १४

कैलालीका किसान तोरी खेतीतिर आकर्षित भएका छन् । गहुँ, मसुरो जस्ता हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन् ।

छाडा चौपायाबाट आजित भएपछि किसानको ध्यान तोरी खेतीतिर गएको कैलारी गाउँपालिका वडा नं. ३ लालपुरका कृषक गुरीलाल चौधरीले  बताए । उनले किसानले गहुँ, मसुरो खेती घटाएर तोरी खेती बढाएको उल्लेख गरे । 

कैलालीमा छाडा पशुचौपायाको समस्या विकराल छ । चौपायाले गहुँ, मसुरो जस्ता हिउँदे बाली अत्यधिक नोक्सान गर्ने गरेकाले किसानको ध्यान तोरी खेतीमा गएको छ । तोरी खेती र थोरथोरै रहेको गहुँ जोगाउनका लागि उनीहरु रातभरि खेतमा गस्ती गर्नुका साथै जाग्राम बस्ने गरेका छन् । चौपाया धपाउनका लागि उनीहरु झुप्रो बनाएर खेतमै बस्ने गरेका छन् ।

कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताए । ‘वडा नम्बर ४ त तोरी ब्लक जस्तै देखिन्छ’ उनले भने ‘तर पालिकाको अनुदान छैन । किसान आफैंले तोरी खेती बढाएका हुन ।’ छाडा चौपायाबाट पीडित किसानले तोरी खेती बढी गर्न थालेको उनको भनाइ छ ।

गहुँ छोडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update