Hamro Patra
आफैंलाई गोली हान्ने प्रहरी जवानको अवस्था गम्भीर

कञ्चनपुर, पौष १३
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट घाइते भएका न्यौपानेलाई धनगढीमा उपचार सम्भव नभएपछि कोहलपुर पठाइएको हो ।

शुक्रबार साँझ शाखामा कोही नभएको समयमा उनले सरकारी पेस्तोल प्रयोग गरी आफैंलाई गोली हानेका थिए । गोली निधारको साइडबाट छिरेर हड्डीमा अड्किएको बताइएको छ ।

प्रारम्भिक उपचारका लागि उनलाई धनगढीस्थित नवजिवन अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार जवान न्यौपानेले सो समयमा शाखामा कोही नभएका बेला आफैलाई गोली हानेका थिए । गोली लागेर उनको निधारभित्र रगत जमेको छ भने अवस्था चिन्ताजनक छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालिएको छ । न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update