
टीकापुर, पौष १२
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराका एक स्वास्थ्यकर्मीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । बिहीवार साँझ धनगढी उपमहानगरपालिका वडा नं. ३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३० वर्षीय धर्मराज खत्रीको ज्यान गएको हो ।
सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका वडा नं. ७ का खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए । मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन् ।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए । यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार डोटीको शिखर नगरपालिका वडा नं. ११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् ।
धनगढी उपमहानगरपालिका वडा नं. ५ का २५ वर्षीय पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।