Hamro Patra
टीकापुरमा कृषि स्नातकोत्तर विषय पढाई हुने

टीकापुर, पौष ११
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । विश्वविद्यालयको २०८१ साउनमा बसेको बाह्रौँ सिनेट बैठकले स्नातकोत्तर कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

विश्वविद्यालयले यस वर्ष बाली विज्ञान विषय र आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, माटो विज्ञान आदि विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको छ’ कृषि विज्ञान संकायका डिन डा. विष्णुविलास अधिकारीले भने ‘विषय समितिले ३३ वटा विषयका कोर्स बनाएको छ, केही दिनमा सहप्राध्यापकको भर्ना खोल्दैछौँ, १० जनाले यसै वर्ष स्नातकोत्तर पढ्न पाउँछन्, पढाइ खर्च साढे तीन लाख जति लाग्ने छ ।’

पश्चिम नेपालस्थित त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका १० वटा जति क्याम्पसमा छ सय जना विद्यार्थीले स्नातक तह पढिरहेका छन्‌ । त्यीमध्ये पाँच सय जना जतिले स्नातक तह पूरा गर्ने गरेका छन्‌ ।

नेपालमा त्रिवि, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालयमा मात्रै स्नातकोत्तर तहमा पढाइ हुने गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा यस वर्ष बाली विज्ञान पढ्न पाउने १० जनामध्ये आठ जना फ्रेस विद्यार्थी र दुई जना सरकारी निकायमा सेवा गरिरहेका कृषि अधिकृतले कोटा पाउने छन्‌ । 

परम्परागत कृषिबाट आधुनिक हुन् नसकेको अवस्थामा कृषिमा स्नातकोत्तर जनशक्तिले कृषिलाई आधुनिकीकरण, औद्योगिकीकरण गर्न सहयोग पुग्ने बताउँदै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सरकारले कृषि क्षेत्रमा गरेको ठूलो लगानीबाट प्रतिफल लिन सकिने बताए ।

यस क्षेत्रमा अर्बौं रुपियाँ लगानीका रानी जमरा कुलरिया सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा छन्‌ । कृषि विज्ञान सङ्कायको यस प्रयासबाट यस क्षेत्रका विद्यार्थी अभिभावक, कृषि उद्यमीलाई फाइदा पुग्ने छ भने उच्च तहको शैक्षिक जनशक्ति पनि उत्पादन हुने छ ।

गोरखापत्रबाट

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update