Hamro Patra
विद्यालयमै गएर विद्यार्थीलाई इसाई धर्मको प्रवचन दिने पास्टर पक्राउ

टीकापुर, पौष ९ 
कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयहरुमा गएर विद्यार्थीलाई इसाई धर्मको बारेमा प्रवचन दिने एक पास्टरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्‌टराई विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई इसाई धर्मको प्रचार गरेको आरोपमा पक्राउ परेका हुन् । 

पास्टर भट्‌टराईले नगरपालिकाको वडा नं. ५ स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १ को सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार झोला, चकलेट बाँडेर विद्यार्थीलाई धर्मको बारेमा प्रबचन दिएका थिए । उनले आफ्‌नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका फोटोहरु समेत सार्वजनिक गरेका हुन् । 

सहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई विद्यालयको चउरमा लाइन लगाएर इसाई धर्म सम्बन्धी प्रबचन दिइरहेका भट्‌टराईको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल थियो । 

विद्यालयमा विपन्न बालबालिकालाई झोला वितरण गर्ने भन्दै आएका पास्टर भट्टराईले इसाई र बाइबलमाथि लामो प्रवचन दिएका छन् । आफूहरूलाई झुक्याएर पास्टर भट्टराईले बाइबलको प्रचार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकालले बताए ।

उनले पास्टर भट्टराईले लम्कीका अन्य विद्यालयमा पनि क्रिसमसको अवसर पारेर उपहार दिने गरेको बताए । ‘उपहार दिने भनेर विद्यालयमा मलाई पनि बोलाइएको थियो । अन्तिम पिरियडमा पास्टर भट्टराईले शुभकामना दिन्छु भनेर बोल्न थालेका हुन्‌’ उनले भने ‘बाइबलको बारेमा बोल्न थालेपछि पछि मैले त्यो कुराको खण्डन पनि गरेको हुँ । पास्टर भट्‌टराईले हामीलाई समेत झुक्याउने काम गरेका छन् ।’

भट्‌टराईले विद्यालयमा खेलकुद सामग्री, विपन्न विद्यार्थीहरुलाई झोला, चकलेट वितरण गर्दै आएका थिए । केही दिन अघि जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ५ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा समेत बाइबलबारे प्रवचन दिएका थिए । विद्यालयका विद्यार्थीहरुले भट्‌टराईको कुराप्रति आपत्ति जनाएपछि उनी त्यहाँबाट हिँडेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तनका लागि प्रेरित गरेकोमा आरोपमा चर्चका पास्टर भट्‌टराईलाई पक्राउ गरिएको हो । 

‘धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थप गर्दै भट्टराईमाथि अनुसन्धान गरिरहेको छ’ प्रहरी उपरीक्षक विष्टले भने, ‘भट्टराईले विद्यालयमा पुगेर शैक्षिक र खेलकदु सामग्री वितरण गर्ने र विद्यार्थीहरुलाई इसाई धर्ममा लाग्न प्रेरित गर्दै आएको आरोप छ ।’

नेपालको संविधान २०७२ को धारा २६ मा ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ’ भन्ने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update