टीकापुर, पौष ७
कैलालीको धनगढीमा प्रहरीले आधा किलो बढी सुनसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनजस्तो देखिने ५४९.२०० ग्राम (आधा किलो बढी) सुनजस्तो देखिने वस्तु, नगद र अन्य सामग्रीसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं. ३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको गाडीबाट उक्त सामग्री बरामद गरिएको हो ।
कैलाली प्रहरीका प्रमुख पदम बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ १ हजार २८० फेला पारेको छ ।
गाडीका चालक, भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले बरामद सामग्रीको वैधता र उक्त वस्तु सुन हो या होइन भन्नेबारे प्राविधिक परीक्षण गर्न तयारी गरिरहेको छ ।