Hamro Patra
वर्षा नलाग्दै तिब्र कटानः स्थानीय त्रसित

परमानन्द पाण्डे
टीकापुर, फागुन १९
कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ५ भुर्वामा कान्द्रा नदीले कटान गरेको छ ।

कैलालीको चुरे क्षेत्रमा भएको सामान्य वर्षाको बाढीले भुर्वामा कान्द्रा नदीले कटान गरेको हो । वर्षायाममा डुबान हुने क्षेत्रमा पर्ने भुर्वामा नदीले कटान गर्दा गहुँखेतीमा समेत नोक्सान भएको छ ।
वर्षा नलाग्दै खहरे पानीले कटान गर्न थालेपछि त्यहाँका स्थानीय नागरिकहरु त्रसित भएका छन् ।

नदीले भुर्वा क्षेत्रमा गहुँ लगाइएको झण्डै १० विघा बढी क्षेत्रमा कटान गरेको स्थानीय रामकिसन चौधरीले बताए । सामान्य वर्षा हुँदा समेत कटान हुँदै आएको उनले बताए ।

Khadga Memorial And Janajagriti

‘सामान्य पानी पर्दा समेत यहाँ कटान शुरु भइहाल्छ’ चौधरीले भने ‘वर्षायाममा त कटानको कुरै नगर्नुस्, लामो समयदेखि शयौं विघा जमिन कटान हुँदै आएको छ ।’

वर्षायाम नदीमा आउने बाढीबाट कटान हुने गरेको भए पनि हिउँदैमै परेको सामान्य वर्षाले कटान शुरु भएपछि स्थानीयहरु त्रसित भएका हुन् ।

भजनी नगरपालिका वडा नं. १ निरज चौधरीले कान्द्रा नदीले वर्षाैंदेखि उर्बर जमिन कटान गरेर दुःख दिँदै आएको बताए ।

‘हाम्रो १३ कठ्ठा खेत पुरै कटान भएर नदी पारी भइसकेको छ, छिमेकीहरुको पनि त्यस्तै कटान छ’ चौधरीले भने ‘सामान्य पानी पर्दा समेत कटान हुन थालेपछि यहाँको उर्बर जमिन नदीमा परिणत हुँदै आएको छ ।’
भजनी नगरपालिका वडा नं. ५ कर्मदेवमा समेत कान्द्रा नदीले कटान गर्दै आएको छ । कर्मदेवका रतिराम डगौंराले उब्जाउ जमिन कटान हुनुले किसानहरु चिन्तित भएको बताए । ‘डुबान त वर्षौंदेखि हुँदै आएको थियो’ डगौराले भने ‘नदी नियन्त्रणको पहल नहुँदा उब्जाऊ भूमि नदीमा परिणत हुँदै गएको छ ।’

नदी कटानबाट उबंर भूमि बालुवामा परिणत हुँदै गएको स्थानीय कर्मदेवकै दुर्गाप्रसाद डगौराले बताए ।

‘हामी दोहोर मारमा छौं, एकातिर डुबान हुन्छ, अर्कोतिर बचेको जमिन पनि नदीले कटान गर्दै गइरहेको छ’–डगौराले भने–‘हामी यहाँका बासिन्दाको जतिबेला पनि उठिबास लाग्न बेर छैन ।’

कैलालीको भजनी नगरपालिका डुबानको अति जोखिममा रहेको क्षेत्र हो । भजनी नगरपालिकामा सीमावर्ती मोहना नदी, कान्द्रा नदी, काँढा नदीले वर्षेनी उब्जाऊ जमिन कटान गर्दै आएको छ ।

विगत लामो समयदेखि डुबान क्षेत्रका रुपमा रहेको भजनीमा वर्षायाममा कान्द्रा, मोहना र काँढा नदीले कटान गर्दै आएको बताउँदै नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले नदी नियन्त्रणका लागि प्रयासहरु भइरहेको बताए ।

उनले कान्द्रा, मोहना र काँडा नदीमा डेढ किलोमिटर पक्की तटबन्ध गरिएको बताए । ‘तीन वटा नदीका विभिन्न ठाउँमा गरेर डेढ किलोमिटर पक्की तटबन्ध गरिरहेका छौं’ भट्टले भने ‘नदी नियन्त्रणका लागि किनारमा रुखहरु रोप्ने, बाँस आदि प्रयोग गरेर जैविक तटबन्धहरु निर्माण गर्ने कार्य भइरहेको छ ।’

नदी कटानका कारण किसानहरुले लगाएको बाली समेत नष्ट हुँदै आइरहेको छ । सामान्य रोकथामका कार्यक्रम भए पनि पक्की तटबन्ध निर्माणमा सरकारले ध्यान दिन नसकेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update