Hamro Patra
सत्ती भन्सारले मंसिरमा संकलन गर्यो १७२ प्रतिशत राजश्व

टीकापुर, पौष २
कैलालीको टीकापुरस्थित सीमावर्ती खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको मंसिर महिनामा १७२ प्रतिशत राजश्व संकलन गरेको छ । निर्धारित लक्ष्य ९६ लाख ७२ हजार रुपैयाँ रहेकोमा कार्यालयले १ करोड ६७ लाख राजश्व संकलन गरेको हो । 

भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले दिएको जानकारी अनुसार कार्यालयले कार्तिकमा १ करोड ४३ लाख १५ हजार, असोजमा १ करोड ३५ लाख ९० हजार, भदौमा १ करोड २८ लाख र साउनमा ७६ लाख ५० हजार राजश्व संकलन गरेको हो । कार्यालयले वार्षिक १२ करोड बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । 

भन्सार प्रमुख सापकोटाका अनुसार भारतीय बजार तिकुनियाँ लगायत क्षेत्रबाट सत्ती भन्सार भएर कपडा, हार्डवेयरका सामान, विद्युतीय सामान, मेसिनरी पार्टपूर्जा आयात हुने गरेको छ । 

छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार आर्थिक वर्ष २०७५÷०७६ मा मुल भन्सारका रुपमा स्तरोन्नति भएको थियो । खुल्ला सीमाना, पर्याप्त कर्मचारीको अभाव जस्ता कारणले निर्धारित लक्ष्य भेट्याउन नसकिरहेको भन्सार कार्यालयले यस आर्थिक वर्षको शुरुवातबाट राजश्व उल्लेख्य मात्रामा वृद्धि गरिरहेको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा १० करोड राजश्व संकलन कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ५० लाख, आर्थिक वर्ष ०७८/०७९ मा १० करोड ६७ लाख, आर्थिक वर्ष ०७७/०७८ मा १५ करोड ८३ लाख, आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ८० लाख र आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड ६९ लाख राजश्व संकलन गरेको थियो । 

भारतीय क्षेत्रमा बाटो सहितको पूर्वाधार नहुँदा समेत राजश्व संकलनमा उल्लेख्य सुधार हुन नसकेको स्थानीयहरु बताउँछन् ।  

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update