
टीकापुर, पौष १
कैलालीमा टीकापुर र भजनीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाको मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका वडा नं. १ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरी पक्राउ परेका छन् ।
चौधरीलाई २ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उता, भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटमा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ६ जगतपुर बस्ने २३ वर्षीय दिनेश कुमार साउँद पक्राउ परेका छन् ।
साउँदलाई ४१० मिलीग्राम खैरो हेरोइनसहित सशस्त्र प्रहरी कुसुमघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको छ ।