-1734261995.jpeg)
टीकापुर, मंसिर ३०
टीकापुर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटको ग्यारेण्टी लिने सम्झौता गरेपछि आइतवार तारा एयरको विमानले टीकापुरमा व्यावसायिक उडान गरेको छ ।
आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ जना कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो । यो उडानसँगै तारा एयरले टीकापुर -नेपालगञ्ज-काठमाडौंको ‘कनेक्टिङ्ग फ्लाइट’ शुरु गरेको हो ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार वि.स.ं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको थियो । तारा एयरको पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उत्रिएका थिए । व्यावसायिक उडान भरेको विमान अवतरणका क्रममा सयौं स्थानीयले स्वागत गरेका थिए ।
व्यावसायिक उडान शुरु भएपछि राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं-टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए । ‘गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ’ राज्यमन्त्री चौधरीले भने ।
टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगर प्रमुख डगौरा थारूले जानकारी दिए ।
विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं-नेपालगञ्ज-टीकापुर र टीकापुर-नेपालगञ्ज-काठमाडौं उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगर प्रमुख डगौरा थारूले जानकारी दिए ।
‘यति एयरलाइन्सले काठमाडौं-नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज-टीकापुर उडान भर्नेछ, यसका लागि एकमुष्ट काठमाडौं-टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ तय गरिएको छ’ नगर प्रमुख थारुले भने ।
उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ ।
टीकापुर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ । न्यूनतम १५ सिट बुक नभए नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।