Hamro Patra
रानी जमरा कुलरीया सिँचाई आयोजना ःमुआब्जा बुझेर पनि सरेनन्
बल्चौरस्थित बस्तीमा पक्की संरचना निर्माण हुँदै

योगेश रावल
टीकापुर, फागुन १९
रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहर निर्माणका क्रममा जग्गा अधिग्रहण वाफत मुआब्जा बुझेका १६ घरपरिवार अझै सर्न मानेका छैनन् । लम्की चुहा नगरपालिका–३ बल्चौरमा रहेका ती घरपरिवारलाई आयोजनाले जानकी गाउँपालिका–५ अमौरीमा जग्गा खरिद गरेर स्थानान्तरणको व्यवस्था गरेको छ ।

सो ठाउँमा आयोजनाले गतवर्ष ३५ कठ्ठा जमिन खरिद गरेर प्लटिङ गरेको छ । प्लटिङ गरिएको ठाउँमा आयोजनाले सडक ग्राभेल, विद्युत बिस्तार, खानेपानी लगायतको व्यवस्था समेत गरिदिएको जनाएको छ । लम्की–टीकापुर सडक नजिकै रहेको सो बस्तीमा जानका लागि आयोजनाले दुईवटा कल्भर्ट समेत निर्माण गरेको छ ।
यसका साथै आयोजनाले गतवर्ष नै प्रति घरपरिवार दुई कठ्ठाका दरले जग्गाधनी पूर्जा समेत प्रदान गरिसकेको छ । त्यस्तै आयोजनाले उनीहरुलाई घर निर्माणमा समेत आर्थिक सहयोग गरेको सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार घर निर्माण अन्र्तगत पहिलो किस्ता वाफतको रकम सबै घरपरिवारले बुझिसकेका छन । उनले केही घरपरिवारलाई दोस्रो किस्ता वाफतको रकम उपलब्ध गराउने तयारी समेत भैरहेको बताए ।

यतिबेला मुआब्जा बुझेका ती घरपरिवारले उल्टै नहर आसपासका क्षेत्रमा पक्की संरचना निर्माण थालेका छन । उनीहरुले पूर्वपश्चिम राजमार्ग र नहरको बिचमा धमाधम घर निर्माण गरिरहेका छन । यसरी घर निर्माण गर्नेमा मुआब्जा बुझेका मात्रै हैन अन्य घरपरिवार समेत रहेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

सो बस्तीका बडघर कालिचरण चौधरीले आफूहरुले मात्रै नभई अरुले समेत घर निर्माण गरिरहेको बताए । उनी समेत मुआब्जा बुझ्ने मध्येका हुन । उनले समेत घर निर्माण गरिरहेका छन । उनले मुआब्जा बुझेका घरपरिवारबिच सर्ने वा नसर्ने भन्ने बारेमा अहिलेसम्म कुनै छलफल नभएको बताए । ‘मुआब्जा बुझिसकेपछि ढिलो चाँडो सर्न त सर्नै पर्ला’ उनले भने–‘तर कहिले सर्ने भन्ने बारेमा सल्लाह भएको छैन ।’

यो मुक्त कमैया बस्ती हो । यहाँ सरकारले करिव ३०० मुक्त कमैया घरपरिवारलाई बसाएको हो । आयोजनाले मुआब्जा दिएर सार्न खोजेका मध्ये सबै मुक्त कमैया घरपरिवार हुन । उनीहरु लामो समयदेखी यो ठाउँमा बस्दै आएका छन ।

विगत १० वर्षदेखी यो ठाउँमा बस्दै आएका सहदेव चौधरीले मिलेको समाज छोडेर जान मन नलागेको बताए । उनी ५ जनाको परिवार सहित अहिले पनि नहर किनारको घरमा बस्दै आएका छन । ‘लामो समयदेखी सँगै बसेका दाजुभाईलाई छोड्न गाह्रो भैरहेको छ’ उनले भने–‘त्यसकारण पनि स्थानान्तरणमा ढिलाई भएको हो ।’

कतिपयलाई आयोजनाले मुआब्जा स्वरुप दिएको जमिन चित्त बुझेको छैन । उनीहरु मध्ये कतिपयले आयोजनाले स्थानान्तरणका लागि दवाव दिएको गुनासो समेत गरेका छन । तर उनीहरुले यसअघि आयोजनासँग नहर किनारको बस्ती छोड्न सहमति भने गरिसकेका छन । ‘त्यो जमिन राम्रो छैन । त्यहाँ बस्न मन लागेको छैन’ लक्ष्मीराम चौधरीले भने–‘तैपनि सर्नै पर्छ । बिस्तारै सर्ने हो ।’

उनले काम गर्ने मान्छे नभएका कारण सर्न खोजेको ठाउँमा घर निर्माण गर्न नसकेको बताए । उनको यस भनाईमा धेरैजसोको समर्थन छ । उनीहरु सबैजना ज्यालादारी काम गरेर जीविकोपार्जन गर्छन । हरेक दिन काम नगरे उनीहरुलाई साँझबिहानको छाक टार्न समस्या छ । उनीहरुले काम छोडेर घर निर्माणमा समय दिन नसकेको बताए । ‘पेट पाल्नका लागि काम गर्ने कि घर निर्माण गर्ने भन्ने समस्या छ’ देशराज चौधरीले भने–‘फुर्सद नभएका कारण पनि घर निर्माणमा ढिलाई भएको हो ।’ तर कतिपय घरपरिवारले भने प्लटिङ गरिएको ठाउँमा घरको जग निर्माण गरेका छन ।

 अमौरीस्थित स्थानान्तरणका लागि प्लटिङ गरेको जमिन ।

आयोजनाले नहर क्षेत्रमा घेराबार गर्ने तयारी गरेको छ । उनीहरुलाई आयोजनाले बारम्बार बस्ती खाली गरिदिन आग्रह गर्दै आएको छ । सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले तत्काल बस्ती सार्नका लागि आग्रह गरेको भएपनि काममा वाधा हुने देखिए बलप्रयोग गरिने बताए । ‘अहिले आग्रह गरिरहेका छौं’ उनले भने–‘काम नै नहुने अवस्था देखियो भने स्थानीय सरकारसँगको सहकार्यमा बलप्रयोग गर्नैपर्छ ।’

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले दुवै पक्षले सहमति पालना गर्नुपर्ने बताए । उनले आयोजनाको काममा कुनै बाधा नपुगेको तर बस्ती सर्ने काममा ढिलाई भैरहेको बताए । ‘आयोजनाको काममा कुनै समस्या छैन’ उनले भने–‘बस्ती सर्नु पथ्र्यो तर उनीहरु सरेका छैनन् ।’

आयोजनाको उद्देश्य कैलालीको पूर्वी क्षेत्रमा रहेको करिव ४० हजार हेक्टर क्षेत्रफलमा सिँचाई सेवा पु¥याउने रहेको छ । आयोजना नेपाल सरकार र विश्व बैंकको ऋण सहयोग गरी २७ अर्ब लगानीमा निर्माण भैरहेको छ । हाल आयोजनाको दोस्रो चरणको काम भैरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update