वेदप्रकाश तिमिल्सैना
नेपालगञ्जको महेन्द्र स्कुलमा पढ्दा बितेका ती दिनहरू आज पनि झल्झली सम्झना आउँछन् । हाम्रो स्कुल बिहान ६ बजे शुरु भएर दिउँसो १२ बजे सकिन्थ्यो । हरेक मौसममा समय उही रहन्थ्यो । मेरो बसाई बुलबुलियामा, रङ्गशाला नजिकैको टोलमा थियो । त्यो बेलाको रङ्गशाला धेरै चहलपहल हुने ठाउँ थियो । त्यहाँ जान सजिलो थियो, र म पनि प्रायः दिउँसो खसी चराउन त्यहीँ पुग्थेँ । स्कुलबाट फर्केपछि खाना खाएर खसी लिएर रङ्गशाला जान्थेँ । ट्युसन पढ्न जानु अघि खसी चराउँदै खेलकुद प्रतियोगिता हेर्ने मेरो दैनिकी जस्तै बनिसकेको थियो ।
उतिबेला रङ्गशालामा खेलकुद गतिविधि नियमित रूपमा आयोजना गरिन्थ्यो । आजको जस्तो सुनसान कहिल्यै हुन्नथ्यो । वर्षभरिका फुटबल खेलहरूले रङ्गशालालाई झनै जीवन्त बनाउँथ्यो । म धेरैपटक खसी चराउँदै फुटबल खेलहरूमा रमाएँ । खेलकुद हेर्दाहेर्दै मेरो मनमा खेल पत्रकारिताप्रतिको रुचि जाग्यो । मेरो पत्रकारिताको जग त्यही रङ्गशालामा बसेको हो । रङ्गशालामा बितेका ती सरल तर प्रेरणादायक पलहरूले मेरो खेलकुद पत्रकारिताको यात्रा सम्भव बनाइदिए ।
पत्रकारितामा सक्रिय भएपछि मेरो झुकाव खेलकुदतर्फ झन् बलियो भयो । स्वभाविक रूपमा, रङ्गशालामा नियमित आउजाउ गर्न थालेँ । खेलकुद, विशेष गरी क्रिकेटको समाचार लेख्नु मेरो रुचिको विषय बन्यो । नेपालगञ्ज रङ्गशालामा प्रायः सारा समय खेल हेरेर र त्यसकै समाचार लेखेर बिताउँथे । साना प्रतियोगिताहरूमा पनि दर्शक भरिभराउ हुने भएकाले रिपोर्टिङ गर्न अझ उत्साहजनक हुन्थ्यो ।रङ्गशालाको नजिकै रहेको मंगलप्रसाद मा.वि. (एमपी स्कुल) को मैदानमा क्रिकेट पिच थियो । त्यहाँका क्रिकेट खेलहरू नियमित रूपमा आयोजना गरिन्थे । ठूला प्रतियोगितामा दर्शकको संख्या ठीकै भए पनि साना प्रतियोगितामा कम मात्र देखिन्थे । तर फुटबलका साना प्रतियोगितामा समेत ठूलो उपस्थितिले रङ्गशालालाई जीवन्त बनाइराख्थ्यो ।
रङ्गशालामा फुटबलको हुटिङ र होहल्ला परसम्म सुनिन्थ्यो । यो आवाज एमपी स्कुलसम्म पुग्थ्यो, जहाँका अतिरिक्त खेलाडीहरू पनि फुटबल हेर्न रङ्गशालातिर आइपुग्थे । नेपालगञ्ज रङ्गशालामा नेपाली फुटबलका नामी क्लबका खेलाडीहरूको खेल प्रत्यक्ष हेर्ने अवसर मैले धेरै पटक पाएँ । त्यो समय अखिल नेपाल फुटबल संघ (एन्फा) निकै गतिशील थियो । मोफसलका विभिन्न ठाउँमा फुटबल प्रतियोगिता नियमित रूपमा आयोजना गरिन्थे ।
काठमाडौंका ए डिभिजन क्लब र मोफसलका साधारण क्लबहरूबीच पनि रोचक प्रतिस्पर्धा हुने गर्दथ्यो । एन्फाको सक्रियताले जिल्ला फुटबल संघहरूलाई दबाब दिन्थ्यो, जसका कारण तिनीहरू पनि निकै सक्रिय रूपमा काम गर्थे । ती दिनमा फुटबल प्रतियोगिताले स्थानीयस्तरमा खेलाडीहरूलाई प्रोत्साहन मात्र होइन, दर्शकहरूलाई पनि खेलकुदप्रतिको मोह बढाउन महत्वपूणर् भूमिका खेल्थ्यो । आजभोलि मोफसलका साधारण क्लब र ए डिभिजन क्लबबीचको खेल कल्पनाभन्दा बाहिरको कुरा भइसक्यो । विभिन्न ठाउँमा गोल्डकप प्रतियोगिता त आयोजना हुन्छन्, तर त्यहाँ पनि स्थानीय टिममा नाम चलेका खेलाडीको वर्चस्व देखिन्छ ।
गोल्डकप प्रतियोगिताहरूमा नयाँ प्रतिभालाई अवसर दिनुभन्दा पनि उपाधि कब्जा गर्ने होड नै प्राथमिकतामा रहेको देखिन्छ । यस कारण सहभागी टिमहरू जोखिम मोल्न चाहँदैनन् । यसले गर्दा स्थानीयस्तरमा खेलकुदको वास्तविक विकास र नयाँ खेलाडीहरूको प्रोत्साहनमा कमी आएको महशुस हुन्छ । यति हुँदै गर्दा पनि सुदूरपश्चिम गोल्डकप, बुढासुब्बा गोल्डकप, विराट गोल्डकप, आहा रारा गोल्डकप, खप्तड गोल्डकप, सिमरा गोल्डकप, झापा गोल्डकप, राइनो गोल्डकप, बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, खुदुनाबारी गोल्डकप, भोजपुर गोल्डकप, सिरिजङ्गा गोल्ड कप, आत्मानन्द गोल्डकप, मकवानपुर गोल्डकपलगायतका मोफसलका प्रतियोगिताले नेपाली फुटबलको इज्जत धानेका छन् ।
स्थानीयस्तरमा प्रतियोगिता आयोजना गर्न एन्फाको अनिच्छुकताका कारण नयाँ प्रतिभाहरूलाई प्रस्फुटन हुने मौका मिल्न सकेको छैन । धेरैजसो नाम चलेका फुटबल खेलाडी विदेश पलायन भइसकेका छन्, जसले गर्दा यहाँको फुटबल झनै कमजोर बन्दै गएको छ । उमेर समूहका प्रतियोगिताहरू पनि न्यून मात्रामा हुने भएकाले युवा खेलाडीहरूले आफूलाई प्रस्तुत गर्ने मञ्च पाउँदैनन् । बाँकी फुटबल गतिविधि लगभग ठप्प प्रायः भएकाले नयाँ खेलाडीका लागि आफ्नो प्रतिभा देखाउने अवसर नै बन्द भइसकेको छ । यसले गर्दा भविष्यका खेलाडीहरू र नेपालको फुटबलको समग्र विकास दुबै अवरुद्ध भएका छन् ।
मैले माथि उल्लेख गरेजस्तै, यस्तै मोफसलका साधारण क्लब र काठमाडौंको ए डिभिजन क्लब बीच खेल प्रायः भइरहन्थे । एन्फाको अग्रसरतामा हुने त्यस्ता प्रतियोगिताहरूमा स्थानीय खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउँथे । मोफसलका क्लबहरूका लागि ए डिभिजन क्लबहरूसँग भिड्ने मुख्य प्रतियोगिता थियो खुकुरी गोल्डकप ।
जिल्लाको छनोट चरण पार गरेका क्लबहरू र ए डिभिजन क्लबहरूको बिचको यो प्रतियोगिता नेपालगञ्जको रङ्गशालामा आयोजना भएको थियो । उतिबेलाका बाँके जिल्ला फुटबल संघका कार्यसमितिमा भोजराज शाही सबैभन्दा चल्तापूर्जा थिए । सक्रियताका कारण एन्फाको तर्फबाट प्रतियोगिता सफल बनाउने जिम्मेवारी उनैले पाएका थिए । फुटबललाई निकै माया गर्ने उनले प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी राखेका थिएनन् । फुटबल रिपोर्टिङमा रङ्गशाला आवतजावत गरिरहने हुँदा भोजराज शाहीसँग मेरो नजिकको सम्बन्ध बन्यो । खुकुरी गोल्डकप सफल बनाउन मिडियाको तर्फबाट मेरो बुद्धि, वर्गत र सामथ्र्यले भ्याएसम्म मैले उनलाई सहयोग गरेको थिएँ । भोजराज शाही महासचिव हुँदै तेस्रो कार्यकाल अध्यक्ष भएर बाँके जिल्ला फुटबल संघलाई नेतृत्व दिइरहेका छन् ।
नेपालगञ्जको रङ्गशालामा कहिले खसी-बाख्रा चराउँदै, कहिले दर्शक बनेर त कहिले खेल पत्रकारको रूपमा मैले कति खेल हेरेँ भन्ने लेखाजोखा नै छैन । तर, ११ फागुन २०५९ मा भएको खुकुरी गोल्डकपको एक विशेष खेलका बारेमा केही उल्लेख गर्ने प्रयास गरिरहेको छु । त्यो दिनको खेलले मलाई मात्र होइन, रङ्गशालामा उपस्थित सबै दर्शकलाई रोमाञ्चित बनाएको थियो । ती क्षण आज पनि मेरो स्मृतिमा ताजा छन् । नेपालगञ्जको महेन्द्र रङ्गशालामा खुकुरी गोल्ड कपको रोमाञ्चक प्रतिस्पर्धाको स्मरण साँच्चै अद्भुत छ । पश्चिम नेपालको सबैभन्दा ठूलो रङ्गशाला, जहाँ उपत्यका बाहिरका टिम र काठमाडौंका ए डिभिजन क्लबबीचको भिडन्तले दर्शकलाई रोमाञ्चित बनाउँथ्यो । त्यस समयको फुटबल प्रतिस्पर्धा साँचो अर्थमा ‘बाघ र बिरालो’को लडाइँजस्तो देखिन्थ्यो ।
खेलको मैदानमा उपत्यका बाहिरका टिमहरूको संघर्ष, काठमाडौंका ठूला क्लबहरूको दबाव र दर्शकहरूको उत्साहले रङ्गशालालाई जीवन्त बनाउँथ्यो । म, खेलकुद पत्रकारितामा संलग्न, नियमित रूपमा यी खेलको साक्षी बन्न महेन्द्र रङ्गशाला पुग्थेँ । हरेक खेलको बखान र घटनाको विवरण सङ्कलन गर्दै रिपोर्टिङ गर्ने अनुभवले मलाई खेलको गहिराई बुझ्ने अवसर दियो ।
यो केवल फुटबल मात्र थिएन, यो थियो स्थानीय खेलाडीहरूको आफ्नो क्षमता प्रमाणित गर्ने अवसर र देशभरका दर्शकहरूका लागि मनोरञ्जनको स्रोत । खुकुरी गोल्डकपले फुटबल प्रेमीहरूको मनमा जुन स्थान बनायो, त्यो सधैँ अविस्मरणीय रहनेछ । आजभोलि नेपाली फुटबलको अग्रणी संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का खेल-केन्द्रित गतिविधिहरू त्यति देखिँदैनन् । काठमाडौं उपत्यका बाहिर एन्फाका गतिविधिहरू कम भएका छन् । फुटबललाई माया गर्ने धेरै व्यक्तिहरू नेपालभर विभिन्न गोल्डकप प्रतियोगिताहरू आयोजना गर्दैछन्, तर त्यसमा एन्फाको कुनै महत्वपूणर् भूमिका हुँदैन । यद्यपि, अतीतमा द्वन्द्वको उत्कर्षका समयहरूमा पनि एन्फाका कार्यक्रम र फुटबलका गतिविधिहरु मोफसलसम्म पुगेका थिए ।
नेपालगञ्जको महेन्द्र रङ्गशालामा आयोजित खुकुरी गोल्ड कप प्रतियोगितामा पश्चिम नेपालको उदाउँदो शहर टीकापुरको टिम टीकापुर युवा क्लब र नेपाली फुटबलको प्रतिष्ठित नाम, काठमाडौंको मनाङ मस्र्याङ्दी क्लबबीचको खेल विशेष चासो र उत्साहको विषय थियो । नेपाली फुटबलमा उतिबेला पनि मनाङ मस्र्याङ्दी क्लब दादा थियो भने टीकापुर युवा क्लब कैलाली जिल्लाको विजेता बनेर आएको थियो ।
दुबै टिम बिचको त्यो खेलले स्थानीय दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो । ठूला क्लब र नयाँ प्रतिभाले भरिएको टिम बिचको यो खेलले त्यसबेला नेपाली फुटबलप्रति बढ्दो आकर्षण र यस क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्न महत्वपूणर् भूमिका खेलेको थियो ।
सुदूरपश्चिमको टिमलाई समर्थन गर्न स्थानीय दर्शकहरूको उत्साह उच्च थियो । त्यस समयमा चर्चित खेल पत्रकार जयनारायण शाह दाईले बाजागाजाको व्यवस्थापन गर्दै खेलको माहोललाई अझै जीवन्त बनाउन महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको थियो ।टीकापुरको टिमका लागि नेपालगञ्जको महेन्द्र रङ्गशाला होम ग्राउन्डजस्तै महशुस हुन्थ्यो । दर्शकहरूको उत्साह, स्थानीय समर्थन र सुदूरपश्चिमको गर्वले खेलाडीहरूलाई अझ प्रेरित गर्दथ्यो । तर, उनीहरूको सामना लिगका धेरै उपाधि उचालिसकेको, देशकै सबैभन्दा बलियो क्लबमध्ये एक मनाङ मस्र्याङ्दी क्लबसँग थियो ।
खेल जित्ने सम्भावना चुनौतीपूणर् थियो, तर टीकापुरका खेलाडीहरू सुरुवातमै धमाकेदार प्रदर्शन गर्न आतुर थिए । योजना थियो-खेलको पहिलो मिनेटमै गोल हानेर मनाङलाई चकित पार्ने । यसले न केबल खेलको दिशा परिवर्तन गर्ने आशा राखिएको थियो, तर आत्मबल र मनोवैज्ञानिक दबाबलाई पनि आफ्नो पक्षमा पार्ने रणनीति थियो । त्यो रणनीतिक सोच र दर्शकहरूको चर्को हुटिङले खेलको प्रारम्भमै माहोललाई उत्साहपूणर् र रोमाञ्चक बनायो । टीकापुरका खेलाडीहरू उत्साह र आत्मविश्वासले भरिएका थिए र खेल शुरु भएसँगै उनीहरूको प्रयासले मैदानलाई ऊर्जा र रोमाञ्चले भरिदिएको थियो ।
त्यतिखेर मनाङ मस्र्याङ्दी क्लबका कप्तान कुमार थापा र टोलीका अन्य खेलाडीहरूको योजना खेलको सुरुवातमै टीकापुरको रणनीति बिफल पार्दै खेलमा आफ्नो पकड मजबुत बनाउनु थियो । मनाङजस्तो अनुभवी र सफल टोलीको गोल पोस्टमा विपक्षी टोलीको गोल सम्भव छैन भन्ने विश्वास टीकापुरका खेलाडीहरूमा समेत थियो । राष्ट्रिय टोलीका गोलकिपर विनोद डंगोलको उपस्थिति र मनाङका बलिया डिफेन्डरको अनुभवले टीकापुरका खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा दबाबमा राखेको थियो ।
तर, खेलको असली कथा मैदानमै लेखिनुपर्ने थियो । टीकापुरका खेलाडीहरू आत्मविश्वास र साहसका साथ मैदानमा उत्रिएका थिए र त्यस दिनको नतिजा उनीहरूको विश्वास र मिहिनेतको परख हुनेवाला थियो । किनभने मनाङका गोलकिपर थिए राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडी विनोद डंगोल, जसलाई त्यो समयमा ‘चुम्बक’जस्तै बल समात्ने क्षमताका कारण परिचित गरिएको थियो । उनको कौशल र अनुभवले विपक्षी खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा दबाबमा राख्थ्यो ।
डंगोलको अति आत्मविश्वास खेलको सुरुवातमै उनको हाउभाउबाट प्रस्ट देखिन्थ्यो । बलियो शारीरिक उपस्थिति, सतर्क दृष्टिकोण र कडा आत्मविश्वाससहितको उनको तयारीले टीकापुरका खेलाडीलाई मैदानमा चुनौतीपूणर् परिस्थितिमा धकेलेको थियो । खेलको रोमाञ्चकता यही संघर्षले झनै बढाएको थियो । खेल शुरु हुने बित्तिकै रोमाञ्चकता चरम सीमामा पुग्यो । एकातिर अन्तर्राष्ट्रिय अनुभव प्राप्त बसन्त थापा र अन्य नामी खेलाडीहरूको टोली मनाङ मस्र्याङ्दी, अर्कोतिर तुलनात्मक रूपमा कमजोर मानिएको टीकापुर, जसलाई आफ्ना समर्थकहरूको उत्साहले ऊर्जा दिएको थियो ।
रेफ्रीले सिटी फुक्ने बित्तिकै टीकापुरले खेललाई आक्रामक मोड दियो । सुरुवाती क्षणमै टीकापुरका स्ट्राइकर अयोध्या चौधरीले मनाङको पोस्टतिर बल प्रहार गरे, जसलाई विनोद डंगोलले सजिलै बचाउ गरे । त्यो क्षणले डंगोललाई आत्मविश्वास थप्यो र उनले अयोध्या चौधरीलाई जिस्क्याउन खोजे । तर, डंगोलको ठट्टा टीकापुरका लागि प्रेरणा बन्यो । अयोध्या चौधरीले त्यसपछि मनाङको पोस्टमा दोस्रो प्रहार गरे, जुन बल जाली चुम्न पुग्यो । मनाङको गोल पोस्टमा बल पुर्याएपछि रेफ्रीको गोल भएको संकेतसहितको सिटीसँगै रङ्गशालामा टीकापुरका समर्थकहरूको चर्को हुटिङले माहोल तात्यो । जयनारायण शाहको नेतृत्वमा उतिबेला नेपालगञ्जमा बस्ने सुदूरपश्चिमेलीहरू ठूलो संख्यामा रङ्गशालामा पुगेका थिए । अयोध्याको यो गोलपछि खेलको उत्साह शिखरमा पुग्यो र सम्पूणर् रङ्गशालाको प्याराफिटबाट आएको ब्यान्ड बाजाको आवाजसँगै ‘टीकापुर, टीकापुर’ को आवाज पूरै रङ्गशालामा गुञ्जियो ।
मैदानमा सुरुवातमा मसिनो सुनिएका टीकापुर युवा क्लबका म्यानेजर चेतमान केसीको त्यो जोस अनि उत्साह अहिले पनि याद गरिरहेको हुन्छु । अयोध्याको गोलपछि टीकापुर युवा क्लबका टिम म्यानेजर केसी चर्को सुनिएका थिए । रङ्गशालाको प्यारपिटबाट ‘टीकापुर, टीकापुर’ को हुटिङ गुञ्जिरहेको थियो र मैदान बाहिर टचलाइनमा केसीको सक्रियता मनाङका प्रशिक्षकसँगै उस्तै थियो ।
श्याम वणर्का उनी खेल अवधिभर उज्यालो र हँसिलो देखिन्थे । त्यहाँ उनको उपस्थितिले मात्र टिमको उत्साह बढाएको थिएन, बरु उनले जोश र आत्म विश्वासको सञ्चार गर्दै मैदानमा सक्रिय रहन प्रेरित गरेका थिए । आज पनि उनको त्यो हर्ष र उत्साहको क्षणलाई झलझली सम्झिरहेको हुन्छु ।
रेफ्रीले सिटी फुकेसँगै टीकापुरका खेलाडीहरूले आक्रामक सुरुआत गरे, र पहिलो मिनेटमै स्ट्राइकर अयोध्या चौधरीले सानदार गोल गर्दै मनाङलाई स्तब्ध पारे । त्यो गोलले खेलमैदानमा मात्रै होइन, दर्शकदीर्घामा पनि सनसनी मच्चायो । त्यो जमानामा मनाङजस्तो बलियो र अनुभवी टिमविरुद्ध पहिलो मिनेटमै गोल गर्नु ठट्टा गर्न सकिने विषय थिएन । यो कल्पनाको सीमाभन्दा बाहिरको कुरा मानिन्थ्यो ।
नामी खेलाडी विनोद डंगोलको दाउ उल्टो पर्दा टीकापुरका खेलाडीहरूले आत्मबलका साथ खेललाई थप रोचक बनाउँदै लगे । खेलको सुरुवातमै मनाङ मस्र्याङ्दी क्लबले खेलमा पकड जमाउँदै पहिलो मिनेटमै गोल गर्ने सल्लाह गरेका थिए । तर, त्यस दिन खेलको कथा केही फरक लेखियो । रेफ्रीले सिटी फुकेसँगै टीकापुरका खेलाडीहरूले आक्रामक सुरुआत गरे, र पहिलो मिनेटमै स्ट्राइकर अयोध्या चौधरीले सानदार गोल गर्दै मनाङलाई स्तब्ध पारे । त्यो गोलले खेलमैदानमा मात्रै होइन, दर्शकदीर्घामा पनि सनसनी मच्चायो । त्यो जमानामा मनाङजस्तो बलियो र अनुभवी टिमविरुद्ध पहिलो मिनेटमै गोल गर्नु ठट्टा गर्न सकिने विषय थिएन । यो कल्पनाको सीमाभन्दा बाहिरको कुरा मानिन्थ्यो ।
तर, कैलालीको टिम टीकापुरले अयोध्या चौधरीको नेतृत्वमा असम्भवलाई सम्भव बनाएर देखायो । त्यो क्षण सुदूरपश्चिमको फुटबल इतिहासको स्वणर्िम पानामा लेखियो । मनाङजस्तो प्रतिष्ठित टिमविरुद्धको त्यो अप्रत्याशित गोल आज पनि झलझली सम्झनामा ताजै छ । मनाङले धेरै ठूलो अन्तरले खेल जिते पनि मनचाहिँ मैदानमा आत्मसम्मान कायम राख्दै खेलेको अयोध्या चौधरीको नेतृत्वमा रहेको टीकापुरले जितेको थियो ।
आजभोलिका अयोध्याहरूका टिमलाई गोल हान्ने अवसर कमै प्राप्त हुन्छ । आजभोलि अयोध्याहरूलाई फुटबलमा आफ्नो प्रतिभा देखाउने ठाउँ नै छैन । अनि चेतमान केसीहरूले ए डिभिजन क्लबविरुद्ध आफ्नो टिम उतार्ने अवसर पाउँदैनन् । एन्फाको निष्क्रियतापछि आजभोलि सबैतिर फुटबल ओरालो यात्रामा छ । यतिबेला टीकापुर उदीयमान शहर होइन, पश्चिम नेपालको प्रमुख शहरमा रुपान्तरण भइसकेको छ । चौडा र फराकिला सडक सञ्जाल भएको शहर बसेको वडा नेपालका ठूलो जनसंख्या भएको वडामध्येको एक हो । टीकापुर शहरमा पहिलेजस्तो फुटबलको जुनुन अब देखिँदैन ।
यसपटक म करिब दुई हप्ता टीकापुरमा बसेँ । करिब ३५ वर्षअघि मैले पहिलोपटक पाइला टेकेको शहर टीकापुर अहिले पनि मलाई निकै प्यारो लाग्छ । त्यो मेरो पहिलोपटक देखेको शहर थियो । बज्यैको साथमा अछामबाट मलवार जाँदा हामी केही दिन टीकापुरमा रोकिएका थियौँ । हाम्रो गन्तव्य जनकपुर गाउँ भए पनि सरकारी जागिरे बुबा त्यतिखेर टीकापुरमा बस्नु हुन्थ्यो, त्यसैले हामी केही दिन टीकापुरमा बसेका थियौँ ।
मैले पहिलोपटक देखेको शहर अनि मेरो बुवाले जागिर गरेको, अनि थोरै समय भए पनि व्यापार गरेको शहर टीकापुरमा समयले धेरै कुरा बदलिएको भए पनि टीकापुरसँग जोडिएका ती सम्झनाहरू भने अहिलेसम्म प्रिय छन् । मैले पहिलोपटक देखेको त्यो शहरसँगको प्रेम आजसम्म घटेको छैन । त्यसैले मलवार (पूर्वी कैलाली) मा जहाँ काम भए मेरो बसाइँ टीकापुरमा हुन्छ । अछामबाट बसाइँ सरी आएकाहरूको बाक्लो बसोबास भएको टीकापुर आफ्नै जस्तो लाग्छ ।
म आजभोलि राजनीतिमार्फत समाज सेवा सक्रिय भए पनि मेरा धेरै साथीहरू पत्रकार नै छन् । टीकापुरमा पनि पत्रकारिताका परिचित अनुहार योगेश रावल, परमानन्द पाण्डे अनि स्थानीय डल्फिन मिडिया (हाम्रोपत्र डटकम) का सञ्चालकहरू पृथ्वी ढुंगाना, दीपक थापा, रुपक विष्ट, टोपप्रकाश वि.क. र युवा ब्यवसायी भूपेन्द्र खड्का र भरत भण्डारी भाइसँग दोस्ती छ । मलाई मन पर्ने मानिसहरू टीकापुरका चल्तापुर्ता चेतमान केसी, सन्तोष खडका, लोकेश साँउद, भान्जा मानस विष्टसँग भेट भैरहेको हुन्छ । त्यहाँ पुगेपछि उहाँहरूको सञ्जालमा म पनि मिसिन्छु । उहाँहरूमार्फत धेरै जनासँग भेटघाट कुराकानी पनि हुन्छ । योपटक मात्रै होइन, दुई वर्षदेखि नियमित टीकापुर आवतजावत भइरहेको छ । धेरै जनासँग भेटघाट हुन्छ, कुराकानी हुन्छ । विभिन्न विषयमा कुरा हुन्छन् । मेरो दुई वर्षको अनुभवमा त्यहाँ पनि फुटबलको चर्चा प्रायः सुनिएन ।
उदीयमान शहर टीकापुर जसरी सुविधाजनक शहरमा रूपान्तरित भएको छ, खेलकुदको माहोल पनि फुटबलबाट क्रिकेटतर्फ रुपान्तरण भइसकेको छ । यतिबेला टीकापुरमा चर्चा छ केवल क्रिकेटको, विशेष गरी एनपीएलको । एनपीएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र मुख्य प्रशिक्षक जगत टमटा टीकापुरकै भएका कारण टीकापुरभरि क्रिकेटकै कुरा सुनिन्छ ।
पहिले सीमित शहर र बजारमा खेलिने क्रिकेट अहिले नेपालभर फैलिएको छ । आजभोलि जताततै क्रिकेटको चर्चा र लोकप्रियता देख्न सकिन्छ । विदेशी खेलाडीहरूले नेपाली लिगमा अनुबन्धन पाएपछि यसप्रति झन् धेरै आकर्षण बढेको छ । त्यस्तै, पहिले सबैतिर खेलिने फुटबल भने अहिले सीमित भएको छ । फुटबलको लोकप्रियता घट्दै गर्दा क्रिकेटले आफ्नो स्थान विस्तार गरेको देखिन्छ ।
नेपाली क्रिकेट लिगमा विदेशी खेलाडीहरूको अनुबन्धनले यो खेललाई अझ प्रख्यात र प्रतिस्पर्धी बनाएको छ । विदेशी खेलाडीहरूको आगमनले न केबल प्रतियोगिताको स्तर उकासेको छ, तर नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रियस्तरको अनुभव र प्रतिस्पर्धा गर्न अवसर प्रदान गरेको छ । यसले नेपाली क्रिकेटप्रतिको चासो र उत्साहलाई थप प्रोत्साहन दिएको छ ।
नेपालमा क्रिकेटको विकासका लागि हाल विभिन्न योजनाहरू र लिगहरू सञ्चालनमा छन्, जसले देशभर क्रिकेटको लोकप्रियतालाई तीव्र रूपमा विस्तार गरेको छ । नेपाली क्रिकेट लिगहरूले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउनका लागि मञ्च प्रदान गरेका छन्, जबकि विदेशी खेलाडीहरूको सहभागिताले खेलको गुणस्तरमा सुधार ल्याएको छ ।
यसका साथै, नेपालको क्रिकेट संरचनामा भएका सुधारहरू, अन्तर्राष्ट्रिय मञ्चमा नेपालले हाँसिल गरेका सफलता र समर्थकहरूको बढ्दो सहभागिताले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाएको छ । यी सबै प्रयासहरूले नेपालको खेलकुद क्षेत्रमा नयाँ क्रिकेटले अग्लो स्थान बनाएको छ । क्रिकेट केबल खेल मात्र नभई राष्ट्रिय पहिचानको प्रतीक बन्न पुगेको छ ।
अर्कोतर्फ, नेपाली खेलकुदको राजा फुटबलको क्षेत्र पहिलेजस्तो फराकिलो छैन । एक समय थियो, जब फुटबल गाउँ घरसम्मको जनजीवनमा गहिरो रूपमा गाँसिएको थियो । त्यतिबेला स्थानीयस्तरमा प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिन्थ्यो र फुटबलले समुदायलाई एकत्रित गर्ने माध्यमको काम गर्दथ्यो । तर, अहिले त्यो अवस्था समाप्तजस्तै भएको छ ।
अर्कोतर्फ, नेपाली खेलकुदको राजा फुटबलको क्षेत्र पहिलेजस्तो फराकिलो छैन । एक समय थियो, जब फुटबल गाउँ घरसम्मको जनजीवनमा गहिरो रूपमा गाँसिएको थियो । त्यतिबेला स्थानीयस्तरमा प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिन्थ्यो र फुटबलले समुदायलाई एकत्रित गर्ने माध्यमको काम गर्दथ्यो । तर, अहिले त्यो अवस्था समाप्तजस्तै भएको छ ।
फुटबलको घट्दो लोकप्रियता र गतिविधि प्रमुख रूपमा एन्फाका गतिविधिहरू काठमाडौं उपत्यका र केही मोफसलका शहरमा सीमित रहनु कारण बनेको छ । ग्रामीण भेगमा फुटबलप्रतिको चासो घट्दै गएको छ, जसले युवापुस्ताको फुटबलप्रतिको लगावलाई कमजोर बनाएको छ । यसले फुटबलका समर्थकहरूलाई निराश बनाएको छ, विशेषगरी ती स्थानहरूमा जहाँ फुटबल कहिलेकाहीँ मात्र खेलिन्छ । फुटबलको विकासका लागि आवश्यक नीति, संरचना र स्रोतहरूको अभावले गर्दा यो खेलले आफ्नो पूरानो लोकप्रियता गुमाउँदै गएको छ ।
अहिलेको अवस्थामा, फुटबलको पुनरुत्थानका लागि देशव्यापी रूपमा ठोस योजना र स्थानीयस्तरमा सहभागिता बढाउन प्रयास आवश्यक देखिन्छ । स्वदेशी फुटबलको स्तर सुधार नगरेसम्म, सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपको छनोटमा नेपालको प्रदर्शनजस्तै अन्य प्रतियोगिताहरूमा पनि निराशाजनक परिणाम दोहोरिन सक्छ । नेपालको यो प्रदर्शन बिर्सन लायक रह्यो, जसले स्वदेशी फुटबलको सुधारको खाँचोलाई झन् प्रस्ट पारेको छ । फुटबलको दीर्घकालीन विकासका लागि आधारभूत संरचना, खेलाडीहरूको प्रशिक्षण र व्यवस्थापनमा ठोस सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट छ । तर, एन्फाका पदाधिकारीहरूलाई भने फुटबलप्रति गम्भीर चासो देखिएको छैन ।
व्यवस्थापकीय उदासीनता, दीर्घकालीन योजनाको अभाव र केबल व्यक्तिगत स्वार्थमा केन्द्रित निणर्यहरूले नेपाली फुटबलको विकासमा ठूलो बाधा पुर्याएको छ । जबसम्म नेतृत्व तहमा प्रतिबद्धता र जिम्मेवारी देखिँदैन, स्वदेशी फुटबलको स्तर सुधार हुने सम्भावना न्यून रहन्छ । फुटबलप्रेमीहरूले अब स्पष्ट रूपमा सुधारका लागि आवाज उठाउनुपर्ने समय आएको छ । नेपाल क्रिकेट संघ (क्यान) आफ्नो प्रयास र संशाधनको बलमा नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन लागिपरेको छ । यसको ठीक विपरीत अखिल नेपाल फुटबल संघ (एन्फा)लाई फिफा र एसियाली फुटबल महासंघबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको अनुदान प्राप्त हुँदै गर्दा पनि आन्तरिक विवादले एन्फाको गतिविधि र फुटबलको समग्र विकासमा अवरोध सिर्जना गरेको छ ।
नेपाली फुटबलमा गणेश थापाको बहिर्गमनपछि कर्मा छिरिङ शेर्पाले परिवर्तनको नारासहित नेतृत्व लिएका थिए, तर उनका कार्यकालमा ठोस उपलब्धी देखिएन । त्यसपछि आएका पंकजविक्रम नेम्वाङको वर्तमान कार्यकालमा पनि नेपाली फुटबलमा समस्या जस्ताको त्यस्तै छन । फुटबलमा संरचनागत सुधार, दीर्घकालीन योजना, युवा प्रतिभाको प्रवद्र्धन र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिजस्ता पक्ष अझै कमजोर नै छन् । नेतृत्व परिवर्तन हुँदा मात्रै सुधार हुने अपेक्षा गर्नुभन्दा पनि दीर्घकालीन योजनामा जोड दिँदै संस्थागत व्यवस्थापन र प्राविधिक पक्षलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । अहिले नेपाली फुटबलले खेलाडी पलायनको गम्भीर समस्याको सामना गरिरहेकोछ । एन्फाका गतिविधि प्रायः ठप्पजस्तै छन् । फुटबलको विकासभन्दा संघका पदाधिकारीहरू साधन-स्रोत र अनुदानको दुरुपयोग तथा विदेश भ्रमणलाई प्राथमिकतामा राखिरहेको आभास हुन्छ । शहीद स्मारक लिग ‘ए’ डिभिजन सुचारु हुन सकेको छैन ।
नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको आन्तरिक विवादको असर प्रस्ट खेल क्षेत्रमा देखिएको छ । एन्फाको आन्तरिक विवाद खेलाडी विदेश पलायनको असरले फुटबल थिलोथिलो भएको छ । हाल र विगतको एन्फा तुलना गर्दा विगतको एन्फा तुलनात्मक रूपमा सक्षम देखिन्छ । त्यसबेलाका अध्यक्ष गणेश थापाको कार्यकाल फुटबल गतिविधिमा चलायमान थियो भन्ने अनुभूति धेरैलाई हुन्छ । यद्यपि, थापामाथि केही विवाद र कमजोरीका आरोपहरू पनि लागेका थिए । तर, समग्रमा हेर्दा उनको नेतृत्वले फुटबललाई सक्रिय राख्न सफल भएको थियो ।
आजको परिप्रेक्ष्यमा थापा र वर्तमान नेतृत्वबीच ठूलो अन्तर देखिन्छ । थापाको कार्यकालमा फुटबल व्यस्त र सक्रिय थियो, तर अहिले नेपाली फुटबल निष्क्रिय अवस्थामा पुगेको छ । गणेश थापाले केही गरेनन् भनेर उनको नेतृत्वमा आएकाहरू असफल साबित भइसकेका छन । एन्फाको नेतृत्वमा खेलाडीले मैदानमा प्रतिस्पर्धा गर्नुपर्ने हो तर त्यसको ठीक विपरीत एन्फाका पदाधिकारीहरू मैदान बाहिर फोहोरी खेल खेलिरहेका छन । नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले चार महिनाभित्र तीन साधारण सभा गर्यो, जहाँ फुटबल विकासका एजेन्डा थिएनन् ।
थापाको कार्यकालमा उनकै प्रयासमा एन्फाले अन्तर्राष्ट्रिय फुटबल संघहरू, विशेष गरी फिफा र एएफसीबाट आर्थिक सहयोग प्राप्त गर्दथ्यो । जुन अहिले पनि नियमित छ । अहिलेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू पूर्वअध्यक्ष गणेश थापाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध प्रयोग गरी सुनिश्चित गरेको नियमित स्रोतबाट तलब-भत्ता खाएर बसिरहेका छन् ।
नेपाली क्रिकेट टिमले एकदिवसीय र ट्वान्टी-२० राष्ट्रको अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपाली क्रिकेट टोलीले एकदिवसीय (ओआईडी) र ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । वन डेमा एसिया कप र ट्वान्टी- २० विश्वकपमा दुईपटक सहभागिता जनाई सकेको नेपाल एसोसिएट राष्ट्रहरूमध्ये अग्रणी मानिन्छ । हाल नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु भइरहेका छन् । जसले देशभर क्रिकेटप्रतिको चासो र उत्साहलाई थप बढाएको छ । कैलालीको टीकापुर शहरदेखि देशका विभिन्न स्थानसम्म एनपीएलको चर्चा चुलिएको छ । क्रिकेटको प्रगतिमा खुसी छु । यो हामी सबैका लागि गर्वको कुरा हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) सफल पार्न क्यानको नेतृत्व कम्मर कसेर लागेको छ । तर, फुटबलको सर्वेसर्वा एन्फा सात दोबाटोबाट बाहिर निस्केको देखिँदैन । एन्फा निष्क्रियता र फुटबलको अधोगतिको विषयमा छलफल आवश्यक छ । यी पंक्ति लेख्दै गर्दा म बिचबिचमा टिकटक पनि चलाउँदै थिएँ । मोबाइलमा टिकटक आईडी खोलेर स्क्रोल गर्दै थिएँ, त्यही क्रममा ठ्याक्कै गणेश थापा देखा परे । ‘के बोल्दै छन् ?’ भनेर सुन्न थालेँ । ठ्याक्कै मैले लेखिरहेको विषयसँग सम्बन्धित उनी आफ्नो धारणा व्यक्त गर्दै थिए । उनको १ मिनेट २२ सेकेन्डको भिडियो मैले तीन-चार पटकसम्म ध्यान दिएर सुनेँ ।
भिडियोमा थापाले नेपाल क्रिकेटको पछिल्लो प्रगतिप्रति खुसी व्यक्त गर्दै क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिएका थिए । तर, फुटबलको विषयमा भने उनले वर्तमान एन्फा नेतृत्वप्रति गम्भीर आक्रोश व्यक्त गरे । दश वर्षअघि खेलाडीहरूको अवस्थालाई सम्झँदै उनले पछिल्ला दुई वर्षदेखि फुटबल नहुँदा धेरै खेलाडी विदेशीन बाध्य भएकोमा दुःख व्यक्त गरे ।
साथै, एन्फाको नेतृत्वलाई आरोप लगाउँदै, उनले सिस्नेरी दुर्घटनालाई बालकहरूको हत्या भनेर टिप्पणी गरे । उनले एन्फाका पदाधिकारीलाई सुध्रन चेतावनी दिए । थापाको भिडियोमा देखिएको आक्रोश र एन्फाका पदाधिकारीको आलोचना फुटबलप्रति उनको गहिरो लगाव झल्काउँथ्यो । त्यसैले कुरा प्रस्ट छ नेपाली फुटबलको पुनर्संरचना गर्दै व्यापक पुनरुत्थान अहिलेको नेतृत्वबाट सम्भव छैन ।
त्यसैले, नेपाली फुटबललाई पुनःसंरचना गर्दै यसको व्यापक पुनरुत्थानका लागि सक्षम नेतृत्वको आवश्यकता स्पष्ट छ । यस सन्दर्भमा गणेश थापाको अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवस्थापकीय क्षमताले फुटबललाई नयाँ उचाईमा पुर्याउन मद्दत गर्न सक्छ । फुटबलको वर्तमान अवस्थामा सुधार ल्याउन र यसलाई नयाँ दिशा दिन गणेश थापाको जस्तो नेतृत्व अपरिहार्य देखिन्छ ।
(लेखक नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य हुन् ।)