Hamro Patra
फागुन ९ देखि ११ गतेसम्म वीरेन्द्र विद्यामन्दिरको स्वर्ण महोत्सव हुने 

टीकापुर, मंसिर १६
कैलालीको टीकापुरमा २०३१ सालमा स्थापना भएको वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयले फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । टीकापुर आवासीय माध्यमिक विद्यालयका नामबाट २०३१ फागुन ७ गते स्थापना भएको विद्यालयले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने भइएको हो ।

हाल वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालय र वीरेन्द्र विद्या मन्दिर क्याम्पसले स्वर्ण महोत्सवको तयारी थालेको छ । स्वर्ण महोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्ण महोत्सवबारे जानकारी दिएको हो । मूल समितिका संयोजक नवराज रावलले पत्रकार सम्मेलनमा स्वर्ण महोत्सवको मिति, उद्देश्य र कार्यक्रमको रुपरेखाबारे जानकारी दिएका हुन् ।

तीन दिनसम्म आयोजना हुने महोत्सवमा विद्यालय र क्याम्पसमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई अभिनन्दन कार्यक्रम, स्वर्ण महोत्सव स्मारिका प्रकाशन, स्वर्ण महोत्सव स्तम्भ निर्माण आदि कार्यक्रमहरु समावेश गरिएको संयोजक रावलले जानकारी दिए । रावलको अनुसार स्वर्ण महोत्सवको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ ।

महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु निर्माण गरिएको संयोजक रावलले जानकारी दिए । पत्रकार सम्मेलनमा वितरण गरिएको स्वर्ण महोत्सवको जानकारी पत्रमा महोत्सव सञ्चालनका लागि ५९ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम विभिन्न सहयोगीदाता, स्मारिकाको विज्ञापन, प्रदेश तथा स्थानीय सरकारको सहयोगबाट संकलन गरिने संयोजक रावलले बताए ।

'विद्यालयको कुनै पनि रकम खर्च नहुने गरी हामीले स्मारिकाको विज्ञापन, प्रदेश र स्थानीय सरकारको सहयोगमा महोत्सव मनाउने छौं, संस्थाका गुठियार प्रमुख समेत रहेका रावलले भने टीकापुर स्थापनाको इतिहाससँग जोडिएको वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव टीकापुर क्षेत्रकै लागि गौरबको विषय हुनाले सबैलाई सहयोगका लागि अनुरोध गर्दछु ।'

विकास समिति ऐन २०१३ अनुसार गठित तत्कालीन टीकापुर विकास समितिले सम्पूर्ण खर्च व्यहोर्ने गरी २०३१ सालमा स्थापना भएको टीकापुर आवासीय माध्यमिक विद्यालय २०४३ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेपछि वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका नाममा सञ्चालित छ । २०४९ देखि प्लस टु सञ्चालन भइरहेको विद्यालय २०५९ सालमा शिक्षा नियमावली अनुसार सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालनमा छ ।

शैक्षिक गुठी अन्तर्गत पी.जी. कक्षादेखि स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको उक्त विद्यालय २०६६ सालदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका कक्षा ५ देखि १० सम्मका छात्रछात्रालाई निःशुल्क शिक्षा र आवासीय सुविधा (बुढानिलकण्ठ मोडेल) उपलब्ध गराउँदै आएको छ । 

कुनै समयका देशकै अब्बल विद्यालयका रुपमा परिचित वीरेन्द्र विद्या मन्दिरले २०४४, २०४५ र २०४८ सालमा सुदूरपश्चिमाञ्चलमा सर्वोत्कृष्ठ नतिजा हाँसिल गरी वीरेन्द्र विद्या क्षेत्रीय शिल्ड प्राप्त गरेको थियो । विद्यालयबाट उत्पादित विद्यार्थीहरु साहित्य, कला, प्रशासन, सरकारी सेवा, वैदेशिक कुटनीतिक नियोग, उद्यम, व्यवसाय, खेलकुद आदिका क्षेत्रसहित प्रनिनिधि सभा, राष्टिय सभा, संविधान सभा, प्रदेश सभा, मन्त्री तथा राज्यमन्त्री जस्ता पदमा सेवा गरिरहेका छन् । 

मूल समितिले डाक्टर योगेन्द्रप्रसाद बजगाईं प्रधान सम्पादक रहेको स्मारिका प्रकाशन मण्डल गठन गरेको छ भने १९ सदस्यीय मूल आयोजक सतितिको सचिवालय गठन गरेको छ । १४० सदस्यीय मूल समिति रहेकोमा विभिन्न दश वटा समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अनुगमन तथा समन्वयको संयोजकमा कीर्तिसिंह बम, आर्थिक व्यवस्थापन समितिमा जगदिश्वर पण्डित, झाँकी व्यवस्थापनमा कृष्णप्रसाद बजगाईं, साँस्कृतिक व्यवस्थापनमा प्रेमबहादुर चौधरी, अतिथि तथा सम्पर्क व्यवस्थापनमा चेतमान खत्री, मञ्च निर्माण तथा व्यवस्थापनमा वीरेन्द्र साउँद, ब्याच, फूलमाला, खाना व्यवस्थापनमा प्रकाश खड्का, प्रस्तावना लेखनमा धर्मबहादुर विष्ट, स्काउट, मार्चपास तथा स्वयंसेवक व्यवस्थापनमा कमला कोइराला, अभिनन्दन तथा सम्मान पत्र व्यवस्थापनमा फणेन्द्रराज रेग्मी संयोजक रहेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update