Hamro Patra
बाबा रामदेव सहभागी आध्यात्मिक सम्मेलनपछि पनि सुनसानः करोडौंका संरचना अलपत्र

टीकापुर, मंसिर १६
ओहो खप्तड ! असोज कार्तिकमा आँखा अगाडि देखिने अपी, सैपालसहितका हिम श्रृंखला । पुस–माघमा हिउँले सेताम्मे हुने बुकी पाटनहरु । चैत–वैशाखमा रंगीचंगी फुल्ने थरिथरीका गुराँस । जेठ–असारमा जंगली फूलले ढपक्क हुने त्यो खप्तड । सुन्दै स्वर्ग लाग्ने त्यो तपोभूमि । झण्डै ५० वर्ष कठोर साधन गरेका खप्तड बाबाको आश्रम । गंगा, जमुना र सरस्वती नदी मिश्रित त्रिवेणी धाम, सहस्रलिङ्ग, खापर दह, डाँफेकोट, नागढुंगा, केदार ढुंगा, सीता पाइला खप्तडका मुख्य धार्मिक तथा आकर्षक स्थलहरू हुन् । 

Khaptad-(23)-1733023743.jpg
खप्तडको प्राकृतिक, आध्यात्मिक, योग, साहसिक खेल र साँस्कृतिक पर्यटन प्रबद्र्धन  गर्न भन्दै २०८० जेठ २३ देखि २५ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारले खप्तडकै थलीमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गर्यो । सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसहित दर्जनौं मन्त्री, पूर्व मन्त्री, सांसद, योजना आयोगका पदाधिकारी, लगानी बोर्डका पदाधिकारी, पर्यटन बोर्ड र व्यवसायी तथा सर्वसाधारणहरु खप्तड पुगे । 

योग विज्ञानमा चामत्कारिक योगदान गरिरहेका भारतीय योगगुरु रामदेव बाबादेखि आयुर्वेदका ज्ञाता मानिने पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णले खप्तडबारे मुक्तकण्ठले प्रशंसा गरे । सम्मेलनमा तत्कालीन प्रधानमन्त्री दाहालदेखि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसम्मले खप्तडको विकासको ठोस योजना ल्याउने उद्घोष गरे । 

समुद्री सतहदेखि ३ हजार ७० मिटर उचाईमा रहेको खप्तडको आर्मी ब्यारेक नजिक सानो होटलमा कुकको काम गर्दै आएका बाजुराका हरि रावलले सम्मेलनको तामझाम देखेपछि खप्तडमा पर्यटकको ओइरो लाग्ने सपना देखे । सम्मेलनमा आएका पाहुनालाई विहान ८ बजेदेखि दिनभरि राति ३ बजेसम्मै खाना खुवाएका रावलले सरकार प्रमुखदेखि भारतीय योगगुरुसम्म एकैपटक खप्तड पुगेर विकासको योजना सुनाउँदा खप्तडको कायापलट हुने सपना देख्नु अस्वभाविक थिएन । कार्तिक महिनाको एक विहानै उनले भने ‘प्रधानमन्त्रीदेखि मुख्यमन्त्री लगायत सबै नेताहरुका गफ मात्रै रैछन्, सम्मेलनपछि पर्यटकको ओइरो लाग्ने मेरो सपना सपनामै सीमित रह्यो ।’ 

सम्मेलनको सात दिनसम्म खप्तडमा पर्यटकको चहलपहल बढे पनि त्यसयता भने खप्तड सुनसान जस्तै छ । ‘जेठ र भदौमा लाग्ने दशहरा मेलाको बेला दुई चार दिन चहलपहल हुन्छ, असोज कार्तिकमा दुई चार शय आन्तरिक पर्यटक आउँछन्, फागुन चैत्रमा पनि त्यही हो’ उनले भने ‘अरु बेला दिनभरि रुंगेर बस्नुपर्छ, सम्मेलनपछि पर्यटक बढ्लान भन्ने सोचेको थिएँ । न त पर्यटक बढे न त सरकारकै कुनै योजना नै आयो ।’

वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रले लामो समयदेखि खप्तडमा आश्रम बनाई साधनारत खप्तड बाबासँग भेट गरेपछि खप्तडको चर्चा एकाएक चुलिएको हो । वि.सं. २०४० सालमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको खप्तडले २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्री सतहबाट १ हजार ४२० मिटरको चौकी भन्ज्याङदेखि ३ हजार ३ मिटर उचाईको सहस्रलिङ्गसम्म खप्तड फैलिएको छ । बाजुरा, अछाम, डोटी र बझाङ्ग चारै जिल्लालाई समेटिएको खप्तड क्षेत्र र यहाँका प्रसिद्ध फाँट (पाटन), ताल, गुफा आदि विभिन्न पौराणिक तथा धार्मिक कथाहरु हरूसँग जोडिएको पाइन्छ । मानव सभ्यताको आरम्भदेखि तपस्वीहरूको साधना केन्द्र, ईश्वरको क्रिडास्थल एवं धार्मिक व्यक्तिको तीर्थधामका रूपमा खप्तडले अग्रस्थान ओगटेको छ ।

जैविक विविधता खप्तडको अर्को अमूल्य विशेषता हो । कैलाश हिमशृंखला अन्तर्गत पर्ने खप्तड क्षेत्रमा २२ वटा घाँसे मैदानका फाँट (पाटन), ९ वटा दह (ताल) र ५२ थुम्काहरू (पहाड) रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका अनुसार यहाँ २५० भन्दा बढी प्रकारका जडीबुटी, ५६७ फूल फुल्ने प्रजातिका वनस्पति, २३ प्रजातिका वन्यजन्तुहरु पाइन्छन् ।
रातो तथा सेतो बहुरंगी लालीगुराँस र थरिथरिका भुइँफूलले खप्तड पुग्ने जो कोहीलाई रोमाञ्चित बनाउँछन् । फराकिला पाटन, दह, जीवजन्तु र हिमालयको दृश्यावलोकन खप्तडका आकर्षण हुन् । पाटन र थुम्काहरू रहेको खप्तडको मध्यभागमा शिवलिङ्ग स्वरूपको सहस्रलिङ्ग छ । त्यहाँ नौरंगी फूलले सुसज्जित पिरामिड शैलीका दर्जनौं पर्वत शृंखलाहरु छन् । 

निकुञ्जका अनुसार खप्तडमा चिराइतो, चुत्रो, झ्याउ, पदमचाल, टिमुर, सालम, पन्जाजडी, सालम्मी, भोजपत्र, श्री काकोली, डोलु, पाँचऔंले र कालकुट विषलगायत जडीबुटी पाइन्छन् । पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले गत वर्ष सम्मेलनका क्रममा खप्तडमा एक हजार बढी बहुमूल्य प्रजातिका जडीबुटी रहेको अनुमान गरेका थिए । खप्तडमा पाइने  बहुमूल्य जडीबुटीबाट बनेको ओखतीमूलो वितरण गरेर खप्तड बाबाले प्रसिद्धि कमाएको जनविश्वास छ ।

खप्तडमा जेठ महिनाको शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेला, त्रिवेणी धाममा भदौमा लाग्ने जैनपूर्णिमा मेलामा बाजुरा, अछाम, डोटी, बझाङ्ग लगायतका जिल्लाबाट तीर्थयात्रीहरु आउने गर्दछन् । ती मेलामा सुदूरपश्चिमको कला, संस्कृति, भाषा, भेषभूषा देख्न पाइन्छ ।

को हुन् खप्तड बाबा ?

सन् १८८० मा भारतको कश्मीरमा नेहरू परिवारमा जन्मिएका सच्चितानन्द सरस्वती स्वास्थ्य चिकित्सक थिए । चिकित्सा पेसामा रहेकै बेला अन्तरप्रेरणाले काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गरेपछि उनले सन्यास ग्रहण गरे । 

Khaptad-(30)-1733023737.jpg
सन् १९२९ मा तत्कालीन बझाङ्गी राजा रामजङ्गबहादुर सिंहको सहयोगमा उनी पहिलो पटक खप्तड पुगे । उनले खप्तडमै तपोकुटी (बाबा कुटी) निर्माण गरी ५० वर्ष बढी समय कठोर साधना गरे । १ शय १७ वर्ष बाँचेका सच्चितानन्द सरस्वतीले खप्तडलाई पवित्र साधना भूमिका रूपमा रोजेपछि उनको नाम खप्तड बाबाका रुपमा परिचित हुन पुग्यो । 

खप्पड बाबालाई खप्तडको पौराणिक, साँस्कृतिक र प्राकृतिक महत्वलाई लोकप्रियताको शिखरमा पु¥याउने श्रेय जान्छ । खप्तडमै बसेर बाबाले विचार विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान लगायत डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । खप्तड बाबा तत्कालीन राजा महेन्द्र तथा वीरेन्द्रका मुख्य सल्लाहकार मध्येका एक मानिन्थे । धार्मिक, आध्यात्मिक, योग, प्राकृतिक तथा साँस्कृतिक पर्यटनका लागि खप्तड विशेष केन्द्र बन्न सक्ने प्रचुर आधार हुँदाहुँदै पनि योजनाबद्ध विकासका प्रयास भने हुन सकेको छैन । 

खप्तडको विकास क्रम

वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रले खप्तड बाबालाई खप्तडमै पुगेर भेटेका थिए । राजपरिवारका सदस्यले हरेक वर्ष गंगा दशहरा मेलामा खप्तडको भ्रमण गर्थे । खप्तड बाबाकै अनुरोधमा खप्तडलाई ०४० सालमा राष्ट्रिय निकुञ्ज बनाउने निर्णय भएको थियो । यद्यपि विकासको ठोस पहल भने हुन सकेन । सरकारले ०६३/६४ मा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको थियो ।

समितिको नेतृत्वमा बझाङ्गका भानुभक्त जोशी (हाल सांसद), डोटीका त्रिलोचन भट्ट (सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री), कर्णबहादुर केसी, सहदेव बोगटी र पूर्णराज जोशी क्रमशः अध्यक्ष नियुक्त भए । स्थानीयका अनुसार उनीहरूको कार्यकालमा सम्झन योग्य केही काम हुन सकेन बरु आर्थिक अनियमितताको आरोपबाट उनीहरु अछुतो रहन सकेनन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ०६३/६४ देखि ०७४/७५ सम्म खप्तड पर्यटन विकास समितिका लागि ३० करोड बढी रकम खर्चिएको विभिन्न अभिलेखहरुमा छ । त्यसबाहेक ०६५/६६ देखि ०७५/७६ सम्म नेपाल पर्यटन बोर्डले समेत ३ करोड ५२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको थियो । 

मुलुक संघीय संरचनामा गएसँगै २०७५ मा खप्तड क्षेत्रको विकास समिति प्रदेश अन्तर्गत हस्तान्तरण भयो । सुदूरपश्चिम प्रदेश सरकारले गठन आदेशअनुसार ०७७ पुसमा डोटीका हर्कबहादुर सिंहलाई अध्यक्ष र कार्यकारी निर्देशकमा भीमबहादुर खड्कालाई नियुक्त ग¥यो । उक्त समितिको पहल र सुदूरपश्चिम सरकारको आयोजनामा झण्डै २ करोड बढी रकम खर्चेर गत वर्ष सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलनको ठोस उपलब्धी के हो ? 

समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले भने ‘खप्तडको विकासका लागि निजी क्षेत्रलाई जिम्मेवार पर्यटन विकासमा लगानी गर्न प्रोत्साहित गर्ने खालको राष्ट्रिय निकुञ्जको नीति, नियममा संशोधन नगरी केही पनि हुँदैन ।’ कार्यकारी निर्देशक खड्काले सम्मेलनले बाबा रामदेव, आचार्य बालकृष्ण सहित खप्तडमा पुगेकाले अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार भएको जिकिर गरे ।

‘प्रचार प्रसार देश विदेशमा भएको छ, सम्मेलनकै बेला निर्माण गरिएका केही भौतिक संरचनाहरु थपिएका छन् । पर्यटकको संख्या पनि थोरै बढेको छ’ खड्काले भने ‘खप्तडबारे अध्ययन, अनुसन्धान गर्न केही गैरसरकारी संस्थाहरुले निकै चासो दिइरहेका छन् तर पनि सरकारको ध्यान जान सकेको छैन ।’ 

Khaptad-(31)-1733023738.jpg
कति आए पर्यटक

प्राकृतिक सौन्दर्यता सहित आध्यात्मिक र धार्मिक महत्व राख्ने खप्तडमा आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ३७० नेपाली, ३२ जना विदेशी र सार्क राष्ट्रका २६ जना गरी ३ हजार ४२८ जना पर्यटकहरु निकुञ्जमा प्रवेश गरेको तथ्याङ्क निकुञ्ज कार्यालयसँग छ । 

आर्थिक वर्ष २०७४/०७५ मा ६ हजार ८३१ नेपाली, २८ विदेशी, ७ जना सार्क राष्ट्रका गरी ६ हजार ८६६ पर्यटक खप्तडमा पुगेका थिए । वर्षेनी खप्तडको प्रचार प्रचार भइरहेको दाबी निकुञ्ज र समितिले गरे पनि पर्यटकहरुको संख्या कम हुँदै गइरहेको छ । यसको मुख्य कारण उचित बसोबासको व्यवस्थापन हुन नसक्नु हो । 

पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको खप्तडमा अछाम, बाजुरा, बझाङ्ग र डोटी गरी चार जिल्लाबाट प्रवेश गर्न सकिने निकुञ्जमा यो संख्या निकै कम भएको नेपाल सरकारका पूर्व सचिव डाक्टर गोपीकृष्ण खनाल बताउँछन् । 

‘मैले कतै पढेको थिएँ, खप्तड सुनको कचौरा हो भनेर, साँच्चिकै यसको प्राकृतिक, धार्मिक, भौगोलिक अवस्थिति हेर्दा यो सुनको कचौरा नै हो’ कार्तिकमा खप्तड पुगेका डाक्टर खनालले भने ‘जुन रुपमा यहाँका पर्यटकको ओइरो हुनुपथ्र्यो, त्यो हुन सकेको छैन, निकुञ्जको ऐन, नियमले यहाँ निजी क्षेत्रले लगानी गर्न सक्दैन ।’ स्थानीय आर्थिक विकासका विज्ञ समेत रहेका पूर्व सचिव डाक्टर खनालले निकुञ्जबाट प्रभावित जिल्लाका बासिन्दालाई यसको आर्थिक उपलब्धी हुने गरी योजनाबद्ध विकासमा लाग्नुपर्ने बताए । 

करोडौंका संरचना अलपत्र

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्य महिना भन्दा साउन भदौमा बढी मासिन आउँछन् । पलभरमै बदलिने मौसम, घाम र कुहिरोको रोमाञ्चक लुकामारी अनि रंगीचंगी फूलको बिचैबिच बग्ने सुन्दर खोलाहरु, मनमोहक ताल तथा मनै लोभ्याउने झरना हेर्न खप्तड पुग्ने पर्यटकहरूको मनमा बास कहाँ बस्ने ? भन्ने तनाब सधैं हुन्छ ।

Khaptad-(26)-1733023741.jpg
‘खप्तडको आनन्द लिन, यहाँका फाँटहरु घुम्न, दृश्य हेर्न, ट्रेकिङ्ग गर्न जति आनन्द छ, त्यो नेपालकै अन्य कुनै ट्रेकिङ्ग क्षेत्रमा मैले पाएको छैन’ खप्तड घुम्न आएका काठमाडौंका आभाष घिमिरेले भने ‘दिनभर जति नै रमाइलो गरे पनि राति बास कहाँ बस्ने भन्ने चिन्ता चै हुनेरहेछ ।’ उचित बासको व्यवस्थापन हुन सके ध्यान, योग, टे«किङ्गको आनन्द लिन खप्तडमा पर्यटक आउने विश्वास घिमिरेले गरे । 

घिमिरेले भनेझैं खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग सम्पर्क सम्बन्ध नहुनेहरु एउटै कोठामा १०÷१५ जनासम्म कोचिएर रात कटाउनु पर्ने बाध्यता छ । खप्तडमा लाग्ने मेलाको बेला यहाँ पुग्ने पर्यटकहरुले राम्रोसँग सुत्नै पाउँदैनन् । खप्तडमा रहेको एउटा मात्रै सार्वजनिक गेस्टहाउस सञ्चालनमा छ । गेष्ट हाउस थुप्रै भए पनि कोही निर्माण सम्पन्न नहुँदै भत्किन लागेका छन भने कोही प्रयोगमै आएका छैनन् । 

खप्तडको आर्मी ब्यारेक नजिकै क्यान्टिनका कर्मचारी हरि रावलले भने ‘भएका भवनहरु समेत सञ्चालन हुन नपाउँदै भत्किरहेका छन्, यही एउटा गोलघर छ, पर्यटकहरू धेरै आएको बेला एकै कोठामा कोचाकोच गरेर भए पनि सुताउने गरेका छौं ।’ निकुञ्जले बनाएका दुई वटा गेष्ट हाउस गरी खप्तडमा दैनिक २०/३० जनालाई बास व्यवस्थापन गर्न समस्या नभएको बताए । धेरै संख्यामा एकै पटक पर्यटकहरू आउँदा राष्ट्रिय निकुञ्जको गेस्ट हाउस र कर्मचारीहरू बस्ने कोठामा समेत व्यवस्थापन गर्ने गरेको रावलले बताए ।

खप्तडका विभिन्न ठाउँमा गेष्ट हाउसका रुपमा २१ वटा घरहरू निर्माण भएका छन । ब्यारेक क्षेत्रमा चार, त्रिवेणी क्षेत्रमा तीन, केदारढुंगामा तीन, बाबा आश्रम क्षेत्रमा दुई, घोडा दाउना पाटनमा एक, खापर दहमा तीन र सहस्रलिङ्गमा एक पक्की भवन बनेका छन । डोटीको झिंग्राना हुँदै आउने पर्यटकका लागि बिचपानीमा दुई, अछामबाट खप्तड छिर्ने पर्यटकका लागि गणेशस्थान पाटनमा एक र बझाङको लोखडामा एक पक्की भवनहरु छन् । 

विश्राम स्थलको रुपमा खप्तडको घोडादाउना पाटन, त्रिवेणी, बिचपानी, खापरदह, खप्तड बाबा कुटी, नागढुंगा, सहस्रलिङ्गलगायत ठाउँमा त्यत्तिकै मात्रामा फलामका ट्रस्टहरू छन् । यी सबै भवन प्रयोगमा आउने हो भने खप्तडमा दैनिक एक हजार ५ शय भन्दा बढी पर्यटकलाई बास बस्न पुग्छ । निर्माण भएर सञ्चालन नहुँदा यी मध्ये अधिकांश भवनहरु जीर्ण बनेका छन् । जस्तापातामा खिया लागेको छ । फलामे ट्रष्टमा गाईबस्तुको मलमुत्र भरिएको छ । 

‘एकातिर यत्रा भवनहरू बनेर पनि प्रयोग भएका छैनन्, अलपत्र छन् । अर्कोतिर घुम्न आउनेहरूले बास नपाएर दुःख पाइरहेका छन्’ सिन्धुपाल्चोकबाट खप्तड घुम्न पुगेका अनिरुद्र न्यौपानेले भने ‘राज्यको लगानीमा बनाइएका यत्रा भवनहरु प्रयोग नै नहुने भए किन बनाउनु ? यी संरचना बनाएको के अर्थ भयो ?’ 

निर्माण भएका कतिपय भवनहरु निर्माण कम्पनीले हस्तान्तरण नगरी छोडेका कारण सञ्चालन हुन सकेका छैनन् भने कतिपय भवनहरु अपायक ठाउँमा निर्माण भएका छन् । ‘दुई ठाउँमा निर्माण भएका भवनहरु निर्माण कम्पनीले मुस्किलले निर्माण सकेर हस्तान्तरण गरेका छैनन् भने कतिपय पर्यटकका लागि पायक पर्ने स्थानमा छैनन्’ खप्तड राष्ट्रिय निकुञ्जका सुचना अधिकारी विद्या थापाले भनिन् ‘निकुञ्जले हस्तान्तरण भएका भवनहरु टेण्डर प्रक्रियाबाट सञ्चालन गर्ने निकुञ्जको तयारी छ ।’

निकुञ्जले नै बनाएका कतिपय भवनको हालत समेत उस्तै छ । प्रयोग मै नआएर जीर्ण बन्दै गरेका खप्तड क्षेत्रका यी भवनहरू निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय, नेपाल पर्यटन बोर्ड, खप्तड क्षेत्र विकास समितिले करोडौं लगानी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा खप्तडसँग जोडिएका चारै जिल्लाका स्थानीय तहको गरी २०६६ यताका १० वर्षमा खप्तडमा भवन बनाउन मात्रै ३० करोड बढी खर्च भएको विभिन्न अभिलेखमा भेटिन्छ । निकुञ्जको ब्यारेक क्षेत्र नजिक पाँच करोडको लगानीमा बनेको गेस्टहाउस ठेकेदारले हस्तान्तरण नगरेरै जीर्ण बन्दै गएको छ ।

वातावरणीय दृष्टिकोणले समेत निकै संवेदनशील क्षेत्र मानिएको खप्तडमा फोहोर व्यवस्थापन जटिल समस्याका रुपमा छ । बाटोमा राखिएका डस्टबिनको अवस्था निकै दयनीय छ । खप्तडको मुख्य क्षेत्रमै प्लाष्टिक, चाउचाउका खोल, कालो प्लाष्टिकजस्ता फोहोर थुप्रिएका छन् ।

‘यसले पर्यावरणीय प्रभाव त पार्छ नै पर्यटकहरुमा नराम्रो सन्देश पनि जान्छ’ काठमाडौंबाट खप्तड पुगेका आयुषजंग थापाले भने ‘खप्तडमा भौतिक पूर्वाधारको विकाससँगै दीगो पर्यटन विकासमा ध्यान दिन जरुरी छ । यति महत्वपूर्ण ठाउँमा जथाभावी प्लाष्टिक फाल्ने, डष्टबिनको फोहोर व्यवस्थापन नहुनुले राम्रो सन्देश जाँदैन, निकुञ्जले यसमा ध्यान दिनुपर्छ ।’

गत जेठमा सम्पन्न भएको सम्मेलनमा बोल्दै पतञ्जली योगपीठका प्रमुख आचार्यले बालकृष्णले भनेका थिए ‘प्रकृतिको दुर्लभ उपहार हो खप्तड ।’ यही प्रकृतिको दुर्लभ उपहार खप्तडको विकासका लागि चर्चा शुरु भएको लामो समय भइसक्दा समेत उचित व्यवस्थापकीय कमजोरीका कारण खप्तड सुनसान झैं छ । प्राकृतिक, आध्यात्मिक, योग, साहसिक खेल र साँस्कृतिक पर्यटनका लागि खप्तड विशेष केन्द्र बन्न सक्ने प्रचुर आधार हुँदाहुँदै पनि सरकारी बेवास्ताका कारण खप्तड ओझेलमै छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update