
टीकापुर, मंसिर १५
कैलालीबाट ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट वडा नं. १ का २१ वर्षीय बिशाल शाही ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नं. ५ गेटाबाट घनगढी उपमहामगरपालिका वडा नं. १३ का २३ वर्षीय प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार लम्की-चुहा नगरपालिका वडा नं. ४ बलियाबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धिरज चौधरीलाई ८० वटा ट्रमाडोल, २० वटा स्पास, र १६ वटा ट्याबलेट अभिलसहित पक्राउ गरिएको हो । दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।