टीकापुर, मंसिर १२
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षणमा अस्वभाविक रुपमा कर्मचारी प्रस्ताव गरिएको छ । इन्भाइरोन्मेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरंले बुझाएको प्रतिवेदनमा ५०४ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ ।
प्रतिवेदन अनुसार टीकापुर नगरपालिकामा १८ शाखा, ३२ उपशाखा, १२ वडा, १३ स्वास्थ्य केन्द्र, १ नगर अस्पताल, १ आयुर्वेद औषधालयलगायतका संरचना प्रस्ताव गरिएको छ । ५०४ जना कर्मचारी आवश्यक रहेको औल्याए पनि तीन वटा उपशाखा एक-एक कर्मचारीको मात्र दरबन्दी राखिएको छ । छ वटा उपशाखामा शुन्य दरबन्दी राखिएको छ ।
खाद्य प्राविधिक निरीक्षण अधिकृत हुनुपर्ने उपभोक्ता हित तथा बजार व्यवस्थापन उपशाखामा शुन्य दरबन्दी राखिएको छ । नयाँ संरचनामा दशौं तहको प्रमुख प्रशासकीय अधिकृत, नवौं तहको अधिकृतको नेतृत्वमा ५७ जनाको दरबन्दी रहेको सामान्य प्रशासन शाखा, १८ प्राविधिक र ५ प्रशासनिक कर्मचारी रहेको शहरी पूर्वाधार विकास शाखा, २२ प्राविधिक, ३ प्रशासनिक कर्मचारी भएको कृषि विकास शाखा, २२ प्राविधिक र १५ प्रशासनिक कर्मचारी भएको पशु सेवा शाखा, ३६ जना कर्मचारी भएको पार्क व्यवस्थापन तथा पर्यटन सेवा केन्द्र राखिएको छ ।
यस्तै, प्रशासन सूचना तथा सञ्चार प्रविधि विकास तथा बिस्तार र एफएम सञ्चालन शाखालगायत छन् । उपशाखातर्फ बैठक व्यवस्थापन उपशाखा, खानी तथा खनिज पदार्थको संरक्षण उपशाखा, जलविद्युत, उर्जा सडकबत्ती उपशाखा, सिँचाइ तथा जल उत्पन्न प्रकोप उपशाखा, सार्वजनिक निजी साझेदारी, संस्कृति सम्पदा ललितकला उपशाखा, पर्यावरण, भूरसंरक्षण एवं जलाधार क्षेत्र संरक्षण उपशाखा, विदाउत्सव उर्दी जात्रा पर्व उपाधि तथा विभुषण उपशाखा लगायत छन् ।
अस्वभाविक दरबन्दी
कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टताअनुसार संगठन तथा व्यवस्थापन सर्भेक्षण गरिनुपर्नेमा हल्का रुपमा लिइएको सरोकारवालाको भनाइ छ । शहरी पूर्वाधार विकास शाखामा नवौं तहको सिनियर डिभिजन इन्जिनियरको दरबन्दी सिर्जना गरेकोमा त्यसको अनुगमन गर्ने योजना अनुगमन तथा तथ्याङ्क शाखामा सातौं तहको प्रशासनिक अधिकृत, पाँचौ र चौथो तहका कर्मचारी गरी तीन जना राखेको छ ।
लेखातर्फ हाल तीन जनाले गर्दै आएकोमा नयाँ दरबन्दी अनुसार केन्द्रमा ६ जना हरेक वडामा एक-एक गरी १२ जना थपेर १८ जना लेखाका कर्मचारी रहने छन् । एमबीबीएस डाक्टरको नेतृत्वमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र अर्को एमवीवीएस डाक्टरको नेतृत्वमा सिकलसेल नगर अस्पताल खोल्ने योजना छ । यी दुई स्वास्थ्य संस्थाको दूरी तीन किलोमिटर हुनेछ ।
सिजनमा सरसफाईकर्मी र बेसिजनमा हेरालु मात्र चाहिने पार्कमा मात्र ३६ जनाको दरबन्दी राखिएको छ । ‘सङगठन सर्भेक्षण गरेर काममा लगाउनु राम्रो हो’ एकजना अधिकृतले भने ‘प्राविधिक काम हुने शाखामा प्रशासनिक कर्मचारी राख्ने र अनावश्यक दरबन्दी यहाँको आर्थिक अवस्थाले धान्न सक्दैन् ।’
न्यून आय बढ्दो कर्मचारी
टीकापुर नगरपालिकाको क्षेत्रफल ११८ बर्गकिलोमिटर, जनसंख्या ९० हजार छ । त्यसमध्ये २० हजार अनुपस्थित रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १.५ प्रतिशत मात्र छ । आ.व. २०७४-७५ देखि २०८०-८१ को तुलना गर्दा चालू खर्च ३६ करोड ७७ लाख बाट बढेर ५१ करोड ४३ लाख पुगेको छ भने पूँजीगत खर्च २४ करोड ३८ लाख बाट बढेर ३२ करोड पुगेको छ ।
यही अवधिमा चालूतर्फ २१ करोड बढ्दा पूँजीगतमा ७ करोड र आन्तरिक आयमा डेढ करोड मात्र बृद्धि भएको छ । आन्तरिक आय सात वर्षमा ५ करोड ५५ लाखबाट बढेर ६ करोड ३२ लाख ६० हजार पुगेको छ ।
नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई पनि पालिकाको आय, जनसङ्ख्या, मौजुदा कर्मचारीको अभाव हेरी अत्यावश्यक र प्राविधिक कर्मचारीको दरबन्दी राख्नु पर्नेमा प्रशासनिक खर्चको दायित्व बढने गरी काम अघि बढ्दा सुशासन नहुने बताए । यस्तै, नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर रणबहादुर रावल हचुवाको भरमा दरबन्दी सिर्जना गर्न नहुने र सुझबुझका साथ निणर्य लिनुपर्ने बताए ।
कार्यपालिका सदस्यहरुबीच प्रयाप्त छलफल नभई दरबन्दी सिर्जना हुनु गलत भएको कार्यपालिका सदस्यको भनाइ छ । नगर प्रमुख रामलाल डगौरा थारुले कार्यपालिकाले काटछाँट गरेर अन्तिम रुप दिएपछि सार्वजनिक गरिने बताए । २०५३ सालमा स्थापना भएको टीकापुर नगरपालिका हाल स्थायी ८४, करार १०२ र ज्यालादारी गरी २४ गरी २१० कर्मचारी कार्यरत छन् ।
गोरखापत्रबाट