टीकापुर, मंसिर १२
सुदूरपश्चिममा पाँच पालिकामा पाँच वटा पदका हुने उपनिर्वाचनमा भोलिदेखि कर्मचारीहरु खटिने भएका छन् । रिक्त रहेका ती पदका लागि मंसिर १६ गते उप निर्वाचन हुँदैछ ।
गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइएको छ ।
पाँच वटा वडाअध्यक्षका लागि हुने उपनिर्वाचन भइरहेकोमा १८ वटा मतदान केन्द्र तोकिएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ ७ हजार ४६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ५ मा एक हजार दुई सय ७२ मतदाता छन् भने दुईवटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए । डोटीको पुर्वीचौकी गाउँपालिका-६ मा एक हजार पाँच सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र रहेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पाँच हजार ४३४ मतदाता छन् भने ६ मतदान केन्द्र छन् ।
बझाङको सुर्मा गाउँपालिका-४ मा एक हजार ५५४ मतदाता छन् भने दुई मतादन केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।