टीकापुर, मंसिर १०
तारा एयर प्रालिले शर्त सहित टीकापुर र साँफेबगर विमानस्थलमा उडान भर्ने भएको छ । विमान कम्पनी र टीकापुर तथा साँफेबगर नगरपालिकाबीच मंसिर २ गते १४ बुँदे सम्झौता भएको छ ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार दुईटै पालिकाले उडानका क्रममा सिटको ग्यारेन्टी लिनुका साथै धरौटी समेत राख्नुपर्नेछ । टीकापुर नगरपालिकाले काठमाण्डौं-टीकापुर-काठमाण्डौ र साँफेबगर नगरपालिकाले टीकापुर-साँफेबगर-टीकापुर उडानमा १५/१५ सिटको ग्यारेन्टी लिनुपर्नेछ ।
टीकापुर-काठमाण्डौंको भाडादर १३ हजार ५०० र टीकापुर-साँफेबगरको भाडादर ४ हजार ७०० निर्धारण गरिएको छ । जहाजमा सिट खाली भएमा सोही अनुसारको रकम विमान कम्पनीलाई तिर्नुपर्नेछ । यात्रु सेवा शुल्क र विमानस्थल सेवा शुल्क यसैमा जोडिएको सम्झौतामा उल्लेख छ ।
सम्झौताको बुँदा ४(घ) मा इन्धनको मुल्य घटबढ हुँदा भाडादर पनि सोही अनुसार फेरबदल हुनेमा दुवै पालिका मञ्जुर रहेको उल्लेख छ । सोही बुँदाको (ख) मा अन्य विदेशी नागरिकहरुको हकमा भने तारा एयरले तोके बमोजिम हुने बतार्ईएको छ ।
शर्त अनुसार पालिकाहरुले पाँच फ्लाईट बराबर भाडाको रकम अग्रिम धरौटी बुझाउनुपर्नेछ । जसअनुसार टीकापुरले १० लाख १२ हजार ५०० र साँफेबगरले ३ लाख ५२ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । महिना समाप्तीको पहिलो हप्ता भित्र हरहिसाब फरफारक गरिने उल्लेख छ ।
सोही शर्तमा उडान हुँदै जाँदा धरौटी रकम अद्यावधिक गर्नुपर्ने र धरौटी रकम कम भएमा विमान कम्पनीले उडानलाई निरन्तरता नदिने कुरामा तीनै पक्षले मञ्जुरी जनाएका छन । विमानका लागि इन्धनको व्यवस्था टीकापुर नगरपालिकाले गर्ने र भुक्तानी विमान कम्पनी आफैले गर्नेछ ।
दुवै पालिकाले विमान कम्पनीका लागि एक/एक कोठा निशुल्क दिनुपर्ने र ४/४ जना कर्मचारी आफ्नै खर्चमा उपलब्ध गराउने कुरामा सहमति जनाएका छन । कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था विमान कम्पनीले निशुल्क उपलब्ध गराउने बताईएको छ ।
सम्झौतामा यात्रुहरुको ब्यागेज तौल्ने उपकरण बाहेक विमानस्थलमा चाहिने आवश्यक पूर्वाधार सम्बन्धित पालिकाले व्यहोर्ने उल्लेख छ । सम्झौता अनुसार यही मंसिर १७ गतेबाट उडान सुरु हुनेछ । प्रत्येक हप्ताको सोमवार उडान हुने बताईएको छ । उडानको रुट काठमाण्डौं-टीकापुर-साँफेबगर र साँफेबगर-टीकापुर-काठमाण्डौं हुनेछ । आवश्यकता अनुसार उडान संख्या थप गर्न सकिने सम्झौतामा उल्लेख छ ।
सोही सम्झौतामा दुवै पालिकाले मार्च १ देखी मे १५ र सेप्टेम्बर १५ देखी डिसेम्बर १५ सम्म विमानको उपलब्धता हेरेर हप्तामा कुनै पनि बार उडान सञ्चालन गर्ने कुरा शर्त अनुसार सहमत रहेको जनाएका छन ।
टिकट बिक्रीको जिम्मा पालिकाहरुले तोकेको ट्राभल्स एजेन्सी वा तारा एयरको अनलाईन सिस्टममार्फत गरिने बताईएको छ । सम्झौता पत्रमा टीकापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख रामलाल डगौरा थारुले हस्ताक्षर गरेका छन । उनले सिट ग्यारेन्टी र धरौटी राख्ने कुरामा आफूहरुले सहमति गरेको जानकारी दिए ।
तर साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले यस बारेमा कुनै जानकारी नभएको बताए । उनले धनगढी-साँफेबगर जहाज सञ्चालन पहिलो प्राथमिकतामा रहेको जानकारी दिए । ‘पहिले धनगढी-साँफेबगर चल्नु पर्यो’ उनले भने-‘त्यसपछि टीकापुरको बारेमा पहल गरौंला ।’ उनले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छैनन् । नौजना साक्षी मध्ये साँफेबगरका तर्फबाट रहेका दुईजना साक्षीको नाममा खाली छोडिएको छ ।
टीकापुर नगरपालिकाका तर्फबाट वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हस्ताक्षर गरेका छन । विमान कम्पनीका तर्फबाट सम्झौता पत्रमा ग्राउण्ड ह्याण्डिलिङ तथा कमर्सियल चिफ राप्के छिरिङ शेर्पाले हस्ताक्षर गरेका छन भने साक्षीमा मानव संशाधन तथा प्रशासन विभाग प्रबन्धक विनोद शिवभक्ति र अपरेसन विभाग प्रबन्धक सुमन बराल रहेका छन ।
साक्षीमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने, टीकापुर उद्योग वाणिज्य संघका कृष्णप्रसाद बजगाई र टीकापुर ट्युसन सेन्टरका लिखराम चौधरीले हस्ताक्षर गरेका छन ।
२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको हो । स्थानीय स्तरमा गठित सञ्चालन समितिको पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाईट’ पनि गरिएको थियो । समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन ।
विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निणर्यका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद विक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो । मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैया रकम संकलन भएको थियो ।
टीकापुर नगरपालिकाको पहलमा विमानस्थलमा २०८१ कात्तिक १२ गते दोस्रो पटक टेस्ट फ्लाईट गरिएको छ । सोही दिन तारा एयरको विमानले उडान भरेको थियो ।