अछाम, मंसिर ९
मानिसलाई नुन नभई नहुने अति अवश्यक वस्तु हो । हरेक भोजन, खाना तथा प्रायः जस्तो स्थानीय पेय पदार्थमा हाम्रो समाजले नुनको अनिवार्य प्रयोग गरी खाने गर्दछन । मानिसका लागि मात्र होइन, घर पालुवा जनावर गाई, गोरु, बाख्रा, भैंसीलाई समेत विभिन्न खानामा नुन अनिवार्य चाहिन्छ । मानिसलाई चायिने वस्तु मध्येको नुन अनिवार्य आवश्यकताको वस्तु हो ।
एक जमाना थियो, नुन लिन धेरै टाढा टाढाको बजार धाउनुपर्ने बाध्यता थियोे । नुन नपाउँदा कति घर परिवारले छाकौंछाक नुन बिना अलिउँदो खाना खाने गर्दथे । नुन पाउन दुर्गम पहाडका हाम्रा गाउँ बस्तीबासीलाई सजिलो कहाँ थियो र ? नौ डाँडाखोला पारिका पहाडी क्षेत्रका गाउँमा न त सजिलो हिँड्ने पैदलमार्ग न त खोला पार गर्ने पुल नै हुन्थे न त स्तरयुक्त डुंगा, न त उचित बासस्थान, न त खाना कठिन भन्दा कठिन, जोखिम भन्दा जोखिम जिउ ज्यान नै जोखिममा राखेर नुन लिन करिब पञ्चिसदेखि तीस दिनसम्म लगाएर जानुपर्ने बाध्यता थियोे ।
बजार हाट भएको ठाउँमा नुन लिन गएका कतिपय तपाई हाम्रो परिवारका सदस्यले नुनको भारी बोकिरहेको अवस्थामै ज्यानै गुमाएका थिए । हाट गएको बेला हिमपात, वर्षा, आँधी हुरी, चट्याङ, बाढी चिसो, गर्मी, हैजा र अनेकौं प्राकृतिक तथा अप्राकृतिक रोगब्याधका कारण पिठ्युमा क्वीन्टलको भारी बोकी रहेका बेला नै प्राण त्यागे । पहाडी गाउँका मानिसलाई कति पिडा थियोे नुन पाउनको लागि पक्कै पनि यो पिडा हाट गएकाहरुलाई ताजै छ । नुन लिन एक्लै मानिस हजारौं डाँडा, खोला पार गर्दै गन्तव्यमा पुगेर फर्केर आउन सकिन्थ्यो र तपाईं हामी कल्पना गरौं है ? भान्सामा नुन सकिँदा तुरुन्तै बजारबाट नुन लिन जाने यो जमानाका तपाईं हामीलाई, अहिले त हरेक गाउँको सानो पसलमा पनि नुन सजिलै पाइन्छ ।
नौ डाँडापारी खोला उकाली, ओरालीमा पसिना चुहाउदै घरबाट लिएको आफ्नो एक महिनाको लागि चाहिने खाद्यान्न, पकाउने भाँडाकुडा, आफुलाई चाहिने लत्ताकपडा, बेड बिस्तरा नुन किन्ने पैसाको लागि, घ्यु, मह, भटमास, गहत, कालो भट्ट लगायतका कृषि वस्तुसहितको भारी बोकेर घरबाट जानुपर्ने हुन्थ्यो । नुन लिनको लागि गाउँ टोल, छर छिमेकीको सरसल्लाह गरेर एक गाउँका तीस चालीस जनाको समूह बनाएर जाने चलन थियोे । यसरी नुन लिन जाँदा उनीहरुको विस्वास र भरोसा केबल भगवानको मात्र हो हाटबाट फर्किन्छ या त मरिन्छ ।
साथीहरुसँगको हाटको यात्रा हुँदाको रमाइलो पल हुँदा रमाइला रमाइला, बात, कथा, जोक सुन्दा हाँसोले गद्गद् भए पनि उता घर परिवारको र आफुलाई आफ्नो जिउको चिन्ताले च्वास्स च्वास्स मुटुमा चस्का दिएर छियाछिया बनाइरहेको हुन्थ्यो । निरन्तर तालमा ताल मिलाए हिटि हिटी बासस्थानमा पुग्ने सुरले झन मन पिरोली पिरोली खुला आकाश मुनि जंगलको बाटो मुनिको ओडार, खोचमा बास बस्नुपर्ने बाध्यकारी समय थियोे । मनमा पानी पिउने इच्छा जागिरको हुन्थ्यो तर सजिलै पानी नपाइने, खाना खान, खाजाका बेला झनै गा¥हो है । खाजा (फाँको पोटली) खानको लागि घरबाट लिएका जौको सातु, भट्ट, गहुँ, भाँगो, सिरौला, चिउरा, गुण, मह, खुदो मिसाएर लिएका चामल खाने गर्दथे । बिहान, बेलुकीको खाना रोटी र भात खाने चलन थियोे । कतिपयको भान्सा छुट्टाछुट्टै र कतिपयले संयुक्त रुपमा बनाएर खान्थे । छुट्टै भान्सा बनाउनेहरु भात खाने र कोही अरुले सँगै रहेकाले लसपस नगरी (बट्टेर) खानेहरु हुन्थे ।
करिब बाह्र, पन्ध्र दिन लगाएर हाट बजारमा पुगिन्थो, अनि घरमा चाहिने नुनसहित आवश्यक लत्ता कपडा, भाँडाकुडा, दैनिक उपभोग्य सरसामान किन्न आफुले लिएको माल सामान बिक्री गरेर त्यसबाट आएको पैसाबाट खरिद गरिने गरिन्थ्यो । कतिपयको त पैसा नपुगेको कारण मनको इच्छा मारेर खाली नुन मात्र लिएर फर्किएका हुन्थे । हाटबाट घरका लागि खिप, सियो, नङकाटो, धागो, गुण, खणिसक्कर, परिवारका लागि डोरी, चुणा, रिबन, चेपाउ ल्याउनु पर्ने हुन्थ्यो ।
गजबको कुरा के हो भने त्यो बेला हाटबाट खिप ल्याउने र गाउँका दाजुभाई, दिदी बहिनीलाई दिने मानिसको ठूलो जस लाग्थ्यो । किन कि त्यो जमानामा खुट्टामा लगाउने जुत्ता चप्पल पाइँदैन थियोे, कोही कोहीले मात्र छालाको चप्पल र जुता लगाउने गर्थे धेरैजसोले मालुको टाँटाको चप्पल बनाएर लाउँथे भने अधिकांशले खालि खुट्टामा नै आफ्नो काम व्यवहार गरेर हिँडडुल गरिरहन्थे । काम गरिरहँदा हिँडडुल गर्दा जंगल, खेतबारी धाइरहँदा हात, खुट्टामा काँडा बिजेकाले समस्या हुन्थ्यो, बिजेको काँडा निकाल्न खिपको अति आवश्यक रहने गरेको थियोे । नुनसँग आयोडिन छ या छैन त्यो त परको कुरा भयो, सुरक्षित राख्न मालुको पातको पोको, निगालाले बुनेको सर्पुमा राख्ने चलन थियोे । त्यो नुन जे जति भए पनि एक वर्षका लागि घर परिवार र गाई वस्तुलाई पु¥याउन पर्ने बाध्यता थियोे ।
नुन बोक्ने मानिसको सारथी हटाले डोको हुन्थ्यो । हटाले डोकोेले घरबाट हाटका लागि लैजाने सबै मालसामान र हाटबाट घर ल्याउने सबै सरसामान आफूभित्र राख्ने, अटाउने क्षमता राखेको हुन्थ्यो । क्वीन्टलको भारी बोक्न सहज हुने गरी सहयोगीको भूमिकामा रहन्थो । बिसाउनीमा आरामले अडेर बस्ने डोरीका कदेला, जेला, मुणेला र बाँसको बाणाबाट सुसज्जित हटाले डोका निगालोको चोयाले डब्बल बुनाईबाट बुनाई गरेको हुन्थ्यो, आजकाल हाट पनि हरायो, हटाले डोको पनि ।
नुन बोक्ने हाट जाने हटाले डोको छियो
तिउन तरकारी, खाना अलिउनै खानाले भोको छियो
नुन र गुन नभुल्लिने मान्छे हुनाले समाज चलेको छियो
नौनी, घ्यु र तेलको दियो बाल्ला छियारप, दियो बलेको छियो
अणिमु पणिमु हरि काम चलेको छियो
आज भोलि यो संस्कार कलले लियो लियो
दई चामलका टीका लाउना छिया
घर घर प्रदेसी र पाउना हुना छिया
पाकपकवान पाक्या पछि अउणा सौणामा पुरेउना छिया
अईल समाज स्वार्थी भयो ती दिन त सम्झना मात्र भया ।
नुन लिने हाट बजार धेरै टाढा टाढा थियो, समय अनुसार छिमेकी देश भारतको रुपडिया, बजार, पलिया, गौरीफन्टा, टनकपुर हाम्रो नेपालगञ्ज, बर्दियाको राजापुर, कैलाली कटासे, सत्ती, चिसापानी, धनगढी, अत्तरिया, चौमाला, दिपायल लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियोे । सडक निर्माण भएर यातायातको सुविधा भएपछि क्रमिक रुपमा रुपडिया र पलिया गौरीफन्टाबाट स्वदेशकै र जिल्लाका छिमेकी जिल्लाकै बजारमा नुन पुग्यो । अनि पछिल्लो समय त गाउँघरमै नुन पुगेको छ । हाल त नेपाल सरकारले देशैभरि आयोडिनयुक्त नुन बिक्री वितरण गरिरहेको छ भने पहाडी केही जिल्लामा अनुदानमा नुन उपलब्ध गराई रहेको छ ।
हाट र हटाले डोको तपाईं हाम्रो पुर्खाको जिवनयापनको इतिहास हो । पूराना दिनको यादमा हाम्रा बुढापाका भन्छन बाबू तिमीहरू अहिलेका मानिस भाग्यमानी हौ । हामीलाई दिन गुजारा गर्न कति मुस्किल थियोे नुन नै नपाइने कस्तो युग र दुःख काट्यौ । तिमीहरू त घरमै नुनदेखि सुन पाइने जमानामा छौ है । सडक थिएन, मोटर थिएन, फोन थिएन लाँउ भने लुगा खाँउ भने खाना, हामी त पानी खाएर बाचेका हौं ।
लेखक नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् ।