धनगढी, मंसिर ६
नेपाल सरकारका गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने काँग्रेसको औपचारिक निणर्य रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा काँग्रेस र एमालेका फरक-फरक मान्यताहरु देखिएका भए पनि दुबै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।
‘काँग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निणर्य गरिसकेको छ । एमालेले पनि ऋणका रुपमा भए पनि लिनुपर्छ नै त भनेको छैन’ मन्त्री लेखकले भने ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ्र ।’
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा नचलेको जिकिर गरे । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म काँग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।