Hamro Patra
टीकापुरमा चाँडै योजना लिएर फर्किने सोच छः महासेठ

टीकापुर, फागुन १७
टीकापुर उद्योग वाणिज्य संघले पूर्वमन्त्री रघुविर महासेठलाई आज एक समारोहकाबीच स्वागत तथा सम्मान गरेको छ । संघले लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतीमा पहल गरेको भन्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठलाई सम्मान गरेको हो ।

संघले गतवर्ष सडक स्तरोन्नतीको एकल माग राखेर टीकापुर महोत्सवको प्रमुख अतिथिका रुपमा महासेठलाई ल्याएको थियो । महोत्सवको उद्घाटन गर्दै तत्कालिन मन्त्री महासेठले यसैवर्ष भित्र सडक स्तरोन्नतीको काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल सरकारले लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतीका लागि हालै टेण्डर आह्वान गरेको छ । सरकारले चालु आर्थिक वर्षभित्रै तीन खण्डबाट सडक स्तरोन्नतीको काम सुरु गर्ने तयारी गरिरहेको छ ।

Khadga Memorial And Janajagriti

संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासेठले टीकापुरमा कुनै योजना ल्याएर चाँडै फर्किने सोच रहेको बताए । उनले योजनाका बारेमा स्पष्ट नपारे पनि आफू टीकापुरबासीसँग पुनः भेट्न आतुर रहेको बताए ।

उनले टीकापुरको विकासका लागि हुने पहलकदमीमा आफू टीकापुरबासी भन्दा एक कदम अघि सर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

सो अवसरमा बोल्दै उनले वर्तमान सरकारले जनताको भावना अनुरुप काम गरिरहेको दावी गरे । उनले सरकारले विकास निर्माणका काममा कुनै पूर्वाग्रह नराखेको बताए ।

आजै सञ्चारकर्मीसँग कुराकानी गर्र्दै महासेठले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने बताएका छन । नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका महासेठले पार्टीले गरेको निर्णय सरकारले मान्नुपर्ने बताए ।

उनले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा सो निर्णय भएकाले उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्ने कुरामा कुनै विवाद नरहेको बताए । ‘बामदेम गौतम राष्ट्रिय सभामा जानुहुन्छ’ उनले भने–‘पार्टी भित्र यस बारेमा कुनै विवाद छैन ।’

उनले पछिल्लो समय संसद विघटनको हल्ला फैलिएको प्रति आक्रोश व्यक्त गरे । उनले कुनैपनि हालतमा संसद विघटन हुने सम्भावना नरहेको बताए । ‘अहिले देशमा कुनै संकट छैन । कुनै संकट नभएर संसद विघटन हुँदैन’ उनले भने–‘यो काल्पनिक कुरा हो ।’

उनले पार्टी फुट्ने कुराको समेत खण्डन गरेका छन । उनले पार्टी भित्र आन्तरिक प्रजातन्त्रको अभ्यास भैरहेको बताउँदै पार्टीभित्र विवाद नभई छलफल भैरहेको दावी गरे । ‘पार्टीभित्र कुनै विवाद छैन । यो आन्तरिक प्रजातान्त्रिक अभ्यास हो’ उनले भने–‘पार्टी कुनै हालतमा फुट्दैन ।’

उनले सरकार विरुद्ध पार्टीबाट कुनै असहयोग नभएको दावी गरेका छन । उनले सरकारलाई सहयोग गर्न स्थायी कमिटी सदैव तयार रहेको बताए । उनले आगामी तीन वर्ष वर्तमान सरकार कायम रहने बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update