टीकापुर, मंसिर ५
प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र सशस्त्र प्रहरी बल बिओपी खल्ला, कञ्चनपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं. ९ टुँडीखेलका ५३ वर्षीय गगन तारामी र ५५ वर्षीय प्रेमबहादुर धामी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार भीमदत्त नगरपालिका वडा नं. ९ कालीगाडा खोलामा हतियारधारी समूहका १० जना थिए । प्रहरी गस्ती टोलीलाई देखेर अरु भाग्न सफल भए पनि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
दुई नाल भरुवा बन्दुक, दुई प्याकेट बारुद, बन्दुकको सीसा ३८ टुक्रा, क्याप १२ वटा, दुई खुकुरी जस्ता हातहतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।