धनगढी, मंसिर ४
गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज कैलालीको धनगढीमा गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजनामा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो निर्देशन दिएका हुन् ।
‘जनतालाई अनुभूति हुने गरी मुस्कानसहित प्रभावकारी ढङ्गबाट सेवा प्रभाव गर्न सबै सुरक्षा निकाय गम्भीर रुपमा लाग्न जरुरी छ’ मन्त्री लेखकले भने ‘अपराध, राजस्व चुहावट, सीमा सुरक्षा, लागूपदार्थ, सवारी दुर्घटना नियन्त्रण गर्न निर्मम ढङ्गबाट काम कारवाही अगाडि बढाउनै पर्छ ।’
सुदूरपश्चिम प्रदेश भारत र चीनसँग सीमा जोडिएकाले संवेदनशील तरिकाले सीमा सुरक्षाका सवालमा काम गर्न समेत मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
पछिल्लो समयमा साइबर अपराध बढेकाले यसको निगरानी गर्नसमेत ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले भने ‘सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा वितृष्ण फैलाउने, धार्मिक तथा जातीय हिंसा फैलाउने कार्य हुन नदिन सुरक्षा निकायले सजग र चनाखो भएर काम गर्नुपर्छ ।’
सुरक्षा गोष्ठीलाई औपचारिकतामा मात्र सिमित नराखी शान्ति सुरक्षाका सवालमा गोष्ठीमा उठेका सवालहरूलाई कडाईका साथ पालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले भने ‘अशान्ति कस्तो हुन्छ ? यसले कस्तो नोक्सान गर्छ भन्ने कुरा हामीले दश वर्षे सशस्त्र द्वन्द्वको समयमा अनुभूति गरेका छौं । अशान्तिले कसैलाई पनि फाइदा गर्दैन तसर्थ शान्ति स्थापना गर्न सबैले एकजुटका साथ अगाडि बढ्नुको विकल्प छैन ।’
यस्तै, मंसिर १६ गते हुने उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले भूमिका खेल्नुपर्नेमा मन्त्री लेखकले जोड दिएका छन् ।
यसैगरी, गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले लोकतन्त्रको रक्षाका लागि सुरक्षा निकायको महत्वपूणर् भूमिका रहेको जानकारी दिए । ‘पछिल्लो समयमा लोकतन्त्रको नाममा अराजकता हाबी हुन थालेकाले सुरक्षा निकायले चनाखो भएर निगरानी बढाउनुपर्छ’ मन्त्री लेखकले भने ।
गृहसचिव गोकणर्मणी दुवाडीको अध्यक्षतामा शुरु भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।