टीकापुर, मंसिर ३
गहुँ छर्ने बेला भइसक्दा समेत कैलालीमा रासायनिक मलको चरम अभाव देखिएपछि कैलालीका किसानहरु चिन्तत बनेका छन् ।
कार्तिक अन्तिमदेखि मंसिर दोश्रो साताभित्र गहुँ छर्न उपयुक्त हुने भए पनि रासायनिक डिएपी मलको चरम अभावले किसानहरु चिन्तित बनेका हुन् ।
टीकापुर नगरपालिका वडा नं. २ का किसान मनिराम चौधरीले गहुँसँगै छर्ने डिएपी मलको चरम अभाव हुँदा गहुँ छर्न ढिलाई भइरहेको बताए । तीन बिघा खेतमा गहुँ छर्दै आएका उनी स्थानीय कृषि सहकारी धाउँदा धाउँदा हैरान छन् ।
‘वडा नं. १ देखि ९ सम्मका सबै सहकारीहरुमा धाइसकें डिएपी मल पाउन सकेको छैन’ चौधरीले भने ‘एउटा सहकारीले अर्कोलाई देखाउँछ, अर्कोले अर्कोलाई देखाउँछ, हामीले गहुँ छर्ने ढिलो भइसक्दा समेत मल पाउन सकेका छैनौं ।’
टीकापुरकै अर्का किसान कृष्णप्रसाद धिताल डिएपी मल उपलब्ध हुने टुंगो नलाग्दा गहुँको उत्पादन घट्ने चिन्तामा छन् । ‘गत वर्ष मैले कार्तिक अन्तिममा चार बिघामा गहुँ छरेको हो, यो वर्ष मंसिर पहिलो साता हुँदा समेत मलको जोहो गर्न सकेको छैन’ उनले भने ‘मंसिर दोश्रो सातासम्म डिएपी नपाउने हो भने गहुँको उत्पादन निकै कम हुन्छ, किसानलाई घाटा मात्रै हुन्छ ।’
कैलालीमा मलको सहज उपलब्धताका लागि प्रदेश सरकारको समन्वयमा जिल्लास्थित कृषि सहकारीलाई कोटा प्रणालीबाट मल उपलब्ध हुँदै आएको छ । किसानको माग अनुसारको कोटामा मल उपलब्ध हुन नसक्दा गहुँ छर्ने समयमा रासायनिक मलको चरम अभाव हुने गरेको छ ।
कैलालीको धनगढीबाट रासायनिक मलको बिक्री कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ्ग लिमिटेडले गर्दै आइरहेका छन् । जिल्लास्थित सहकारीमार्फत् किसानलाई मलखाद उपलब्ध गराउँदै आएका यी कम्पनीमै डिएपी मलको अभाव देखिएपछि किसान मारमा परेका हुन् ।
विगत लामो समयदेखि ती कम्पनीबाट खरिद गरी कृषकलाई रासायनिक मलखाद बिक्री गर्दै आइरहेको टीकापुरस्थित शान्ति नेपाल साना किसान सहकारी संस्थाका अध्यक्ष नरेश रावलले किसानको माग अनुसार कम्पनीले मल उपलब्ध गराउन नसक्दा डिएपी मलको अभाव देखिएको बताए ।
‘दैनिक २०/२५ जना किसानहरु मलको खोजीमा आइरहेका छन्, धनगढीमै रहेका कम्पनीका कार्यालयमा मलको अभाव छ अनि हामीले किसानलाई रित्तो हात फिर्ता गर्नु परेको छ’ अध्यक्ष रावलले भने ‘कोटा सिस्टमले सबै पालिकाका सहकारीले मल पाउने भए पनि त्यो पर्याप्त हुँदैन, किसानको मागअनुसार कृषि कम्पनी र साल्ट टे«डिङ्गले मल दिन नसक्दा किसानले अभाव खेप्नु परेको हो ।’
रासायनिक मलको बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक नबलसिंह बोगटीका अनुसार कैलालीमा कम्पनीले ३ हजार १ शय मेट्रिक टन डिएपी मल सहकारीमार्फत् बिक्री गरेको छ ।
‘प्रदेश सरकारले निर्धारण गरेको कोटा अनुसार हामीले ३ हजार १ शय मेट्रिक टन डिएपी मल बितरण गरिसकेका छौं’ प्रबन्धक बोगटीले भने ‘हाल कैलालीमा मात्रै किसानको माग ५ हजार मेट्रिक टन भन्दा बढी रहेकाले अभाव देखिएको हो, कम्पनीमा थप मल आइपुगेको छैन ।’
साल्ट टे«डिङ कम्पनीले समेत मल बिक्री गर्दै आइरहेको छ । कम्पनीले सुदूरपश्चिममा कुल बिक्री हुने मलको ३० प्रतिशत मात्रै बिक्री गर्ने अधिकार पाएको छ । जुन निकै कम हो ।
कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीका अनुसार कैलालीमा ३७ हजार ५ शय हेक्टरमा गहुँखेती, ११ हजार हेक्टरमा तोरी खेती र ७ हजार हेक्टरमा दलहनबाली खेती हुँदै आएको छ । हाल किसानलाई उपलब्ध भएको रासायनिक मल मागको आधारमा निकै कम भएको बाली विकास अधिकृत चौधरी बताउँछन् ।
‘औसतमा गहुँ खेतीका प्रतिहेक्टर एक क्वीन्टल डिएपी, डेढ क्वीन्टल युरिया र ५० केजी पोटास मल आवश्यक पर्छ’ बाली विकास अधिकृत चौधरीले भने ‘डिएपी मल तोरी र दलहन बालीमा समेत प्रयोग हुने हुनाले यसको माग बढी छ, त्यो अनुसारको वितरण हुन सकेको छैन ।’
कैलालीमा ५० किलाग्राम तौल रहेको युरिया ९ सय ३६ रुपैयाँ ५० पैसा, डीएपी २ हजार ३ सय ८६ रुपैयाँ ५० पैसा र पोटास १ हजार ७ सय ८६ रुपैयाँ ५० पैसा प्रतिबोरा मूल्यमा कृषि सामग्री र साल्ट टे«डिङ्गले बिक्री गर्दै आएका छन् । उक्त खरिद मुल्यमा स्थानीय सहकारीले ढुवानी भाडा, लोड अनलोड भाडा तथा अधिकतम् १०० रुपैयाँसम्म थप नाफा खान पाउने गरी बिक्री हुँदै आएको छ ।
जिल्लास्थित निकायले मल उपलब्ध गराउन नसक्दा रासायनिक मलको सीमावर्ती भारतबाट चोरी तस्करी समेत हुने गरेको छ । खेती लगाउने समय भइसक्दा समेत मल पाउन नसकेपछि चोरी तस्करीबाट आएको मल महङ्गोमा खरिद गर्नु परेको किसानहरुको गुनासो छ ।