टीकापुर, मंसिर २
कैलाली जिल्ला समन्वय समितिको संयोजकका लागि नागरिक उन्मुक्ति पार्टीकी रुपमती चौधरीले उम्मेदवारी दर्ता गरेकी छन् । टीकापुर नगरपालिका वडा नं. ४ बाट महिला वडा सदस्यमा निर्वाचित रुपमतीले आज धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेकी हुन् ।
उनको प्रस्तावकमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित जानकी गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया छन् भने समर्थकमा भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवा रहेकी छन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको रिक्त पदका लागि नेपाली काँग्रेसबाट टीका चौधरी भुलले उम्मेदवारी दर्ता गरेकी छन् । उनलाई सत्तारुढ नेकपा एमालेले साथ दिएको छ ।
सत्ता साझेदार दल भए पनि नागरिक उन्मुक्तिले जिल्ला समन्वय समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेको हो । नागरिक उन्मुक्तिले कैलालीको टीकापुर र भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नेतृत्व गरिरहेको छ ।
जिल्ला समन्वय समितिका संयोजक पदम कलेलको मृत्यु भएपछि कैलालीमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।