धनगढी, मंसिर २
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। एमालेले काँग्रेसलाई सहयोग गरेर जाने भएको हो मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको हो ।
नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो ।
काँग्रेसले प्रमुखमा टीकाकुमारी चौधरी भुललाई उम्मेदवार बनाउने निणर्य गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् ।
टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो ।
कैलालीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् ।