Hamro Patra
तीन जना कर्मचारीसहित आठको मृत्युः घाइतेको हेलिकोप्टरबाट उद्धार

दार्चुला, कार्तिक ३०
दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना कर्मचारीको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट फर्कने क्रममा जिप दुर्घटना हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ को बगजेबलामा दुर्घटनामा परेको हो ।

Tikapur Hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा, बिरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका-९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन् ।

मृतक ८ मध्ये एक जनाको सनाखत हुन बाँकी रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए । जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए । उनको टाउकोमा चोट लागेको छ ।

जिपमा सवार शैल्यशिखर-५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका-५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा शैल्यशिखबर नगरपालिकामा कार्यरत अमिन बिरेन्द्रसिंह रावल, गोकुलेश्वर बहुमुखी क्याम्पसमा कार्यरत मिना लेखक र दिलीपसिंह विष्टको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टका अनुसार तीनै जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएको हो ।

घाइते पाँच जनामध्ये तीन जनाको हेलिकोप्टरबाट धनगढी पठाइएको छ भने थप दुई जनालाई पनि हेलिकप्टोलबाटै थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको उनले बताए। दुर्घटना परेर गम्भीर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ बर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँकाका ८ बर्षीय सन्दीप रावललाई हेलिकोप्टरबाट उद्धार गरेर धनगढी पठाइसकिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update