Hamro Patra
एक जुझारु अभियन्ताको हत्या

टीकापुर, कार्तिक २९

पूर्वपश्चिम राजमार्गको मसुरीया बजारबाट दक्षिण लागेपछि गौरीगंगा नगरपालिका वडा नम्बर ११ ऐँठा गाउँ पुगिन्छ । सामुहिक कुटपिटमा ज्यान गुमाएका सुरेश भुलको घर त्यही ऐँठामा छ । गाउँसम्मै कालोपत्रे सडक पुगेको छ । त्यही कालोपत्रे सडकको छेउमा उनको पक्की घर छ । तर केही समय यता उनी वडा नम्बर ११ कै कान्तिपुरमा बस्थे । जहाँ वडा कार्यालय नजिकै उनको मेडिकल र फोटो स्टुडियो छ । उनकी श्रीमती त्यही रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन । व्यवशायका रुपमा मेडिकल र फोटो स्टुडियोका साथै श्रीमतीको जागिरले उनको पारिवारिक अवस्था कमजोर छैन भन्ने बुझिन्छ ।

उनको पत्रकारिता प्रति रुची छ । सुदूरपार्टी अनलाईनमा समाचार लेख्थे । पत्रकारहरुलाई सूचना दिन्थे । उनी व्यवशायका साथसाथै पत्रकारिता पनि गर्थे । यही क्रममा उनले सूचनाको हकका बारेमा पनि जानकारी पाए । सूचनाको हक सम्बन्धी अभियानमा जोडिए । कैलाली जिल्ला स्तरीय समितिमा बसे । उनले पत्रकारिताका साथै सूचनाको हक प्रयोग गरेर थुप्रै सूचना माग्न थाले । उनले खाशगरी वडा कार्यालय, सामुदायिक वन, सहकारी संस्था, विद्यालय लगायतमा सूचना माग्न थाले । उनले सूचना माग गरेर हरेक गलत क्रियाकलाप विरुद्ध खबरदारी गर्न थालेपछि यस्ता कार्यमा संलग्न व्यक्तिलाई टाउको दुखाई बन्यो । उनीहरु भूललाई तह लगाउने मौकाको पर्खाईमा बसे । 

CMA Staff

कतिपयले त उनलाई मुखै अघि धम्की दिएका पनि हुन । तर उनी डराएनन् । यो बारेमा उनले सूचनाको हक कैलालीको फेसबुक ग्रुपमा जानकारी पनि दिएका थिए । उनले त्यो ग्रुपमा सूचना माग्दा आफूलाई टार्गेटमा राखेको लेखेका छन । उनले कुनैपनि बेला आफू माथि आक्रमण हुनसक्ने कुराको संकेत गरेका छन । उनले यस बारेमा चाँसो राख्न जिल्ला समितिलाई आग्रह समेत गरेका छन । त्यो ग्रुपमा उनको कुरालाई गम्भिरताका साथ लिईएन ।

तीन÷चार दिन अघि स्थानीय बिस्ना भुलको बाख्रा हरायो । बिस्नाले बाख्रा हराएको कुरा गाउँभरी खबर गरिन । स्थानीयका अनुसार त्यो कुरा बिस्नाले सुरेशलाई समेत भनेकी थिईन । कात्तिक २३ गते बिहान सुरेश वडा कार्यालयको शौचालयमा गएका थिए । शौचालयबाट फर्किदा कार्यालयको बरण्डामा बाख्रा देखे । उनले बाख्रा डोर्याएर घर (पसल रहेको बस्ने ठाउँ) ल्याए । घरको आँगनमा बाख्रा बाँधे । उनी आफ्नो कामकाजमा लागे । केही समयमा हराएको बाख्रा सुरेशको घरमा भेटिएको कुरा गाउँभरी फैलियो । बिस्नाले त्यो बाख्रा आफ्नो भएको बताईन । त्यतिञ्जेल केही मान्छेहरु जम्मा भैसकेका थिए । उनीहरुले सुरेशलाई बाख्रो चोरेको आरोप लगाए । सुरेशले बरण्डामा भेटेर ल्याएको जवाफ दिए । 

वडा कार्यालयमा सिसी क्यामेरा छ । सुरेशले सिसी क्यामेरा हेर्न सल्लाह दिए । इलाका प्रहरी कार्यालय मसुरीयाबाट प्रहरी बोलाईयो । सिसी क्यामेरामा सुरेशले बरण्डाबाट बाख्रा लगेको देखियो । उनलाई चोरीको आरोप लगाउनेको संख्या बढ्दै गयो । वडा कार्यालयको कम्पाउण्ड भित्रै होहल्ला हुन थाल्यो । केही व्यक्तिले प्रहरीकोमा गएर विवाद समाधान गर्न सुझाव दिए । उनीहरु प्रहरी कार्यालयमा गए । बाख्रा धनीले एक लाख रुपैयाँ क्षतिपूर्ती माग गरिन । स्थिति असामान्य बनेपछि सुरेशकी श्रीमतीले ३० हजार रुपैयाँ तिर्ने सहमति गरिन । सुरेश यो कुरामा सहमत थिएनन । उनकी श्रीमतीले नै अनावश्यक झमेलाबाट मुक्त हुनका लागि पैसा तिर्न दवाव दिईन । दुवै पक्षबिच सहमति गरियो । पैसा पछिल्लो दिन तिर्ने कुरा भयो । 

बाख्रा धनी बिस्ना २४ गते बिहानै पैसा माग्न आईन । सुरेशले पैसा लिएर आफन्त आईरहेकाले केही समय पर्खिन भने । उनी केही समय पछि फेरी आईन । त्यतिबेला उनले एक लाख नै चाहिने बताईन । सुरेशले सहमति अनुसारकै पैसा तिर्ने भने र सोही अनुसार पैसा बुझाए । पैसा बुझाउँदा प्रहरीको पनि उपस्थिति देखिन्छ ।  ठूलो संख्यामा मानिसहरु जम्मा भैसकेका थिए । वडा नम्बर ११ कान्तिपुरका मात्रै हैन अर्को वडाबाट समेत मान्छे आएका थिए । उनीहरुले सुरेशलाई आक्रमण गरे । सुरेशले आक्रमण गर्दा प्रहरी पुगिसकेको थियो भनेका छन तर प्रहरी कुटपिट भएपछि मात्रै पुगेको दावी गर्छ । प्रहरीले खाशै चोटपटक नदेखेकोले आफूहरु फर्किएको बताएको छ । तर सुरेशले दलित पत्रकारहरुको फेसबुक ग्रुपमा प्रहरीले समेत असहयोग गरेको बताएका छन । उनी यसो भन्दै गर्दा धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत थिए । उनले सोही ग्रुपमा सबै मिलेर एक्लो पारेको बताएका छन । 

कुटपिट पश्चात सुरेश घरमै थिए । उनको छातीमा चोट लागेको थियो । उनी राति नै उपचार गर्न धनगढी गए । उनले उपचारका क्रममा केही व्यक्तिलाई घटनाका बारेमा जानकारी दिएका थिए । उनले पत्रकार निराजन परियारलाई म्यासेन्जरमा कुरा गर्दै घटनामा संलग्न व्यक्तिका बारेमा जानकारी दिएका छन । कतिपयलाई फोन समेत गरेका थिए । यो अवस्थाको कल्पना गरिएको थिएन । तर एकाएक उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । उनले उपचारकै क्रममा २६ गते बिहान ज्यान गुमाए ।  

प्रहरी कार्यालयमा सहमति भैसकेपछि पैसा लेनदेनको बेला सुरेश माथि किन आक्रमण गरियो भन्ने कुरा गम्भिर छ । ती आक्रमण गर्नेहरुमा स्थानीय मात्रै नभई बाहिरबाट समेत मान्छे आएका देखिन्छ । आक्रमणका बेलाको भिडियोमा ती मान्छेहरुको पहिचान खुल्छ । उनीहरुले सुरेश माथि आक्रमण गर्नुको कारण बाख्रा हराउनु र भेटिनुमा मात्रै सिमित छैन । ती व्यक्तिहरु कुनै न कुनै संघसंस्थामा संलग्न छन । कोही राजनीति गर्नेहरु पनि छन । उनीहरु मध्ये कतिपयले नेतृत्वमा रहेको बेला बदमासी गरेका छन । तिनीहरुका बारेमा सुरेशले बोलेका छन, खबरदारी गरेका छन, सूचना मागेका छन । गलत गर्नेहरुका बारेको सूचना सार्वजनिक गरिदिएका छन । जनतालाई त्यस बारेमा जानकारी दिएका छन । 

सुरेशको यही खबरदारी धेरैका लागि टाउको दुखाई भएको थियो । केही व्यक्तिहरु उनको खबरदारीलाई कसैगरी रोक्न चाहन्थे । हराएको बाख्रा सुरेशको घरमा फेला पर्नु उनीहरुका लागि अवसर बन्यो । उनीहरुले त्यही अवसरलाई सदुपयोग गरेर एक अभियानकर्मीको हत्या गरिदिए । सधैंका लागि आवाज नामेट पारिदिए । 

यो घटनाको सुक्ष्म अनुसन्धान जरुरी छ । यो केवल भवितव्य हैन । यो बाख्रा हराएको र भेटिएको घटना मात्रै हैन । यो समाजका विकृती विसंगती विरुद्ध आवाज उठाउनेहरुको हत्या हो । घटनामा संलग्न जोसुकैलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । यदि यो घटनामा संलग्न व्यक्तिले उन्मुक्ति पायो भने उनीहरुले विकृती विसंगती विरुद्ध आजाव उठाउने थुप्रै सुरेश भुलहरुको हत्या गर्नेछन । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update