Hamro Patra
नगर प्रमुख र उपप्रमुखले बहिस्कार गरे मुख्यमन्त्रीको कार्यक्रमः मुख्यमन्त्री शाहले मञ्चबाटै खोले फायर

टीकापुर, कार्तिक २६
कैलालीको लम्कीचुहा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति तथा नगर प्रमुख विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोहमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ‘फायर’ भएका छन् । 

आइतवारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाह सहभागी पालिकाकै कार्यक्रममा नगर प्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुष्मा महता केसी अनुपस्थित भएपछि मुख्यमन्त्री शाह ‘फायर’ भएका हुन् । नगरपालिकाकै प्रमुख शैक्षिक कार्यक्रमका रुपमा रहेको खेलकुद प्रतियोगितामा पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि मुख्यमन्त्री शाहले आफ्नो मन्तव्यमै आक्रोश पोखे । 

CMA Staff

‘आज यो मञ्चमा यो नगरपालिकाको नगर प्रमुख छैन, यो मञ्चमा यो नगरपालिकाको उपप्रमुख छैन, यो मञ्चमा कार्यकारी अधिकृत छैन, तपाईहरुले बुझ्नुपर्छ यस्ता कुराहरु, व्यक्ति सबैको सम्मान हुनुपर्छ, व्यक्ति चाहे सानो होस्, चाहे ठूलो होस् हरेकले सम्मान चाहेको हुन्छ यस्ता क्रियाकलापहरु आइन्दा नगर्नुहोला’ मुख्यमन्त्री शाहले चेतावनी दिँदै भने ‘म निवेदन गर्न चाहन्छु तपाईहरुलाई । आजको परिस्थिति भनेको सबैलाई जोडेर लैजाने परिस्थिति हो, सबैको एकता अपिरहार्य छ, सबैलाई जोड्न आवश्यक छ र हरेक विकास निर्माणका कार्यक्रमहरु, हरेक सामाजिक रुपान्तरणका कार्यक्रमहरु तपाई हामी सबै मिलेर एकजुट भएर एक अर्काको अस्तित्व स्वीकारेर हामी अगाडि बढ्न जरुरी छ ।’

मुख्यमन्त्री शाहकै गृहपालिकामा नगर प्रमुख शाही र उपप्रमुख चौधरीले कार्यक्रम बहिस्कार गरेपछि मुख्यमन्त्री शाह फायर भएका हुन् । मुख्यमन्त्री शाहको अभिव्यक्तिमा आफूलाई अपमान गरिएको आशय सुनिन्छ । पालिकाकै कार्यक्रममा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । प्रतियोगितामा लम्कीचुहा नगरपालिका अन्तर्गतका ३८ वटा सामुदायिक तथा १७ वटा संस्थागत गरी ५५ विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो । 

सामाजिक फेसबुकमा लम्कीका स्थानीय धर्मराज न्यौपानेले व्यंग्य गरेका छन् । ‘सायद नगरपालिका नै आयोजक भएको नगरस्तरीय खेलकुद कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै उपस्थित नहुने अर्थात् अप्रत्यक्ष रुपमा बहिष्कार गर्ने नगरपालिका हामै्र त होला !’ न्यौपानेले नगर प्रमुखको सचिवालय, नगर प्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरीलाई ट्याग गर्दैै लेखेका छन् ‘यो राम्रो भएन है, मुख्यमन्त्रीलाई होइन आफ्नै निणर्यलाई बहिस्कार गरेको हो ।’

व्यवस्थितनगरस्थित राष्ट्रिय माध्यामिक विद्यालयको आतिथ्यतामा शुरु भएको प्रतियोगिता वडा नम्बर ३ का वडा अध्यक्ष लब बहादुर शाहीको सभापतित्वमा भएको थियो । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बहिस्कार गरेको विषयमा कार्यक्रमका सभापति एवं नगरपालिकाका प्रवक्ता लब बहादुर शाहीले त्यो सामान्य विषय भएको बताए । 

‘नगर प्रमुख शाही आइतवार मात्रै इजिप्टबाट लम्कीमा फर्किनु भएको थियो, उपप्रमुख पार्टीको काममा धनगढी जानु भएको रहेछ’ प्रवक्ता शाहीले भने ‘नियतवश बहिस्कार होइन, संयोग त्यस्तो भएको हो, कार्यक्रम सकिएपछि नगर प्रमुख सुशीला शाही पुग्नु भएको थियो ।’

आफ्नै पालिकामा आफ्नै पार्टीबाट निर्वाचित मुख्यमन्त्री आउने कार्यक्रममा अनुपस्थित हुनुले मुख्यमन्त्री शाहको आक्रोश स्वभाविक भएको बताए ।मुख्यमन्त्री शाह र नगर प्रमुख शाही नेपाली काँग्रेसको एउटै टिमबाट निर्वाचित भएका हुन् भने उपप्रमुख चौधरी नेकपा एमालेबाट निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update