Hamro Patra
कृषकलाई बहुउपयोगी ‘छिटो प्लस’ बजारमा

टीकापुर, कात्तिक २४
स्वदेशमै उत्पादन भएको छिटो प्लस कृषकहरुबिच छोटो समयमै लोकप्रिय बन्दै गएको छ । यसको उत्पादन स्वदेशमै पहिलो पटक भरोसा कृषि बहुउद्देश्यीय प्रालिले गरेको हो । 

उद्योगले पहिलो चरणमा किसानका तीन कुरालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादन बजारमा पठाईरहेको छ । प्रालिका अध्यक्ष तथा अनुसन्धानकर्ता राजिव खनालले अहिले तरकारी÷फलफूल, कुखुरा र माछालाई फाईदा पुग्ने गरी उत्पादन बजारमा पठाईएको जानकारी दिए । 

उनले आफ्नो उत्पादन बहुउपयोगी भएपनि तत्काल तीनवटा कुरालाई मात्रै प्राथमिकतामा राखेको बताए । ‘यो बहुउपयोगी छ । यसलाई किसानले धेरै कुरामा प्रयोग गर्न सक्छन’ उनले भने–‘तर अहिले किसानको विश्वास जित्न जरुरी छ ।’

उद्योगले विषादिमुक्त समाजको परिकल्पना गरेको छ । पछिल्लो समय तरकारी र फलफूलमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पारेको असरलाई न्यून गर्ने उद्देश्य बोकेको अनुसन्धानकर्ता खनालले जानकारी दिए । 

उनका अनुसार यसको प्रयोगले तरकारी र फलफूलमा रोग लाग्दैन । उनले रोग नै नलागे पछि कृषकहरुले विषादी प्रयोग गर्नुपर्ने अवस्था नै नआउने दावी गरे । यसको प्रयोगले तरकारी र फलफूलको उत्पादनमा वृद्धि हुने बताईएको छ । 

‘एकातिर विषादी रहित तरकारी र फलफूल अर्कोतिर उत्पादनमा वृद्धि हुनेछ’ उनले भने–‘यो कृषक र उपभोक्ता दुवैका लागि लाभदायक छ ।’

त्यस्तै कुखुरापालक कृषक र उपभोक्ता समेत यसबाट लाभान्वित हुन सक्ने छन । यसको प्रयोगले कुखुरामा एन्टिबायोटिक दिन नपर्ने बताईएको छ । खनालले भने–‘एन्टिबायोटिक नदिए पछि कृषकको लगानी जोगियो र उपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाए ।’ उनले कुखुरा निरोगी हुनुका साथै छोटो समयमै वृद्धि विकास हुने दावी गरे । 

यसको उत्पादनले माछापालक कृषकलाई समेत निकै फाईदा पुग्ने गरेको छ । यसले पोखरीको पानीमा जमेको फोहोरलाई छुट्याउने काम गर्नुका साथै सोही फोहोरबाट माछाका लागि दाना बनाउने काम गर्छ । खनालका अनुसार जसले गर्दा माछा हुर्किन सहज हुन्छ । 

‘पानीमा फोहोर जमेपछि माछा खेल्न पाउँदैन र मर्छ’ उनले भने–‘माछाका लागि पोखरीको पानी सफा हुनु जरुरी हुन्छ ।’

उद्योगले आफ्नो उत्पादन सुदूरपश्चिममा समेत बिस्तार गरेको छ । सुदूरपश्चिममा यसको आधिकारिक बिक्रेताको जिम्मा टीकापुरस्थित ब्रविम सप्लायर्सले पाएको छ । 

विगत १४ वर्षदेखी यस्तै विदेशी उत्पादन आयात गर्दै आएका खनालले अनुसन्धान पश्चात २०८० साउन महिनाबाट स्वदेशी उत्पादन थालेका हुन । उनले आफ्नो उत्पादन विदेशी उत्पादन भन्दा गुणस्तरीय र सस्तो भएको दावी गरेका छन । 

उनले कोरोनाको समयमा विदेशबाट आयात गर्न नसकेपछि आफैले अनुसन्धान गरेर स्वदेशमै उत्पादन थालेको बताए । उनका अनुसार यसको कच्चा पदार्थ भने विदेशबाट आयात गरिन्छ ।  उद्योगले समुन्द्री जीवहरुबाट प्रशोधन पश्चात प्राप्त हुने काइटिनहरुबाट प्रशोधित काइटोसन उत्पादन गरेको हो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update