टीकापुर, कात्तिक १२
टीकापुर विमानस्थलको परिक्षण उडान सम्बन्धी प्रतिवेदन बुझाईएको छ । प्राधिकरणका सूचना अधिकारी समेत रहेका नायब प्रबन्धक ज्ञानेन्द्र भुलले प्रतिवेदन बुझाएको जानकारी दिए ।
उनले तत्काल ट्वीनअटर विमान मात्रै ल्याण्ड गर्न सकिने अवस्था रहेको बताए । उनले ठूलो जहाज अवतरणका लागि धावनमार्ग नपुग्ने बताए । ‘ठूलो जहाजका लागि धावनमार्ग कम्तिमा १ हजार मिटर त चाहिन्छ’ उनले भने–‘अहिलेको धावनमार्गले त्यो सम्भव छैन ।’
उनले विमानस्थल घुलाम्मे भएकाले पानी परेको दिनमा विमान अवतरण गर्न कठिनाई हुने बताए । उनले धावनमार्गमा खाल्डाखुल्डी रहेकाले त्यसको व्यवस्थापन गर्न समेत आवश्यक रहेको बताए ।
उनले अन्य भौतिक संरचना र उपकरण समेत थप्नुपर्ने देखिएको बताए । ‘उपकरण केही छैन । आँखाले हेरेर अवतरण गर्नुपर्नेछ’ उनले भने–‘मौषम क्लियर नभए पनि ल्याण्ड गर्न समस्या हुने देखिन्छ ।’
उनका अनुसार विमानस्थलको दक्षिणतर्फबाट अवतरणमा समस्या देखिएको छ । उनले बसपार्क नजिकैको टावर र दुई तले घरले अवतरणमा समस्या देखिएको बताए । उनले उत्तरतर्फबाट अवतरण गर्दा कुनै समस्या नरहेको जानकारी दिए । परिक्षण उडान गरेको नेपाल वायुसेवाको विमानले उत्तर र दक्षिण दुवैतर्फबाट अवतरण गरेको थियो ।
‘उत्तरतर्फबाट ल्याण्ड गर्ने र दक्षिणतर्फबाट उडाउन सकिन्छ’ उनले भने–‘यो त्यत्ति ठूलो समस्या नहोला ।’
उनले तत्काल टीकापुर–काठमाण्डौं उडानको सम्भावना नरहेको बताए । उनले ट्वीनअटर विमानले यति लामो दूरीमा उडान भर्दा खर्चिलो हुने बताए । ‘धनगढी र नेपालगञ्जबाट ५/७ हजारमा उड्ने ठाउँमा टीकापुर–काठमाण्डौं १५/१६ हजार तिर्ने कुरा महंगो हो’ उनले भने–‘टीकापुर–काठमाण्डौं तत्काल सम्भव छैन ।’
उनले टीकापुरबाट सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा भने विमान सञ्चालन गर्न सकिने बताए । उनका अनुसार त्यसका लागि ट्वीनअटर विमानको संख्या थप्न आवश्यक देखिएको छ ।
नेपाल वायुसेवा निगमसँग २ र अन्य गरी १० वटा मात्रै ट्वीनअटर विमान छन । ती विमान पहाडी जिल्लामा केन्द्रित छन । उनीहरु मध्ये धेरैजसोले पर्यटक बोकेर माउण्टेन फ्लाईट गर्ने गरेका छन ।
यस्तोमा विमान कम्पनीको नजरमा टीकापुर व्यवशायिक रुपमा कत्तिको प्राथमिकतामा पर्छ भन्ने कुरा महत्वपूर्ण रहेको छ ।