टीकापुर, कात्तिक १२
तारा एयरको ट्वीनअटर विमानले समेत आजै टीकापुर विमानस्थलमा उडान भरेको छ । नेपालगञ्ज विमानस्थलबाट उडेको जहाज टीकापुरहुँदै पोखरा गएको छ । उसले टीकापुरका ३ र पोखराका १५ जना यात्रु बोकेर उडेको थियो ।
सो विमानबाट नेपालगञ्ज हुँदै टीकापुर आउनेमा पूर्व साँसद रेशमलाल चौधरी, व्यवशायी टीकाराम जैशी र बसन्त हमाल रहेका छन । व्यवशायी जैशीले सम्भाव्यता अध्ययनका लागि तारा एयरले टीकापुर उडान भरेको बताए ।
उनले नेपाल वायुसेवा निगम र तारा एयरले आलोपालो रुपमा टीकापुरमा उडान भर्ने बारेमा छलफल भैरहेको जानकारी दिए । ‘कुरो सकारात्मक ढंगले अघि बढेको छ’ उनले भने–‘८÷१० दिनमा भएपनि एउटा फ्लाईट हुन्छ कि भन्ने आशा गर्न सकिन्छ ।’
लामो समयदेखी बन्द अवस्थामा रहेको विमानस्थलमा आज मात्रै नेपाल वायुसेवा निगमको जहाजले परिक्षण उडान भरेको छ । हिजो गर्ने भनिएको परिक्षण उडान आज सारिएको थियो ।
२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखी बन्द अवस्थामा रहेको छ । विमानस्थलमा २०७१ सालमा समेत परिक्षण उडान भएको थियो । त्यतिबेला तारा एयरले परिक्षण उडान भरेको थियो । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । यहाँ ट्विनअटर विमान मात्रै अवतरण गर्न सक्छन ।