Hamro Patra
टीकापुर विमानस्थलमा परिक्षण उडान

टीकापुर, कात्तिक १२
नेपाल वायुसेवा निगमको जहाजले आज टीकापुर विमानस्थलमा परिक्षण उडान भरेको छ । हिजो गर्ने भनिएको परिक्षण उडान आज सारिएको थियो । 

नेपालगञ्जबाट उडेको विमान करिव १ बजेतिर टीकापुर विमानस्थलमा अवतरण भएको छ । जहाजले विमानस्थलको दुवैतर्फबाट अवतरण गरेको छ । 

जहाज हेर्न सयौंको संख्यामा सर्वसाधारण विमानस्थलको वरपर जम्मा भएका छन । टीकापुर नगरपालिकाले परिक्षण उडानको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती गरिएका छन । 

CMA Staff

नगरपालिकाले विमान चालक र नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई स्वागत गरेको छ । स्वागतका लागि संस्कृति, पर्यटन राज्यमन्त्री अरुण चौधरी विमानस्थल पुगेका छन । 

उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नियमित उडानका लागि पहल गर्ने बताएका छन । उनले टीकापुर विमानस्थलमा अवतरण गर्न मिल्ने ट्वीनअटर विमानको संख्या कम भएकाले त्यसको व्यवस्थापनमा ध्यान दिने बताए ।  

२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखी बन्द अवस्थामा रहेको छ । विमानस्थलमा २०७१ सालमा समेत परिक्षण उडान भएको थियो । त्यतिबेला तारा एयरले परिक्षण उडान भरेको थियो । 

व्यवशायिक रुपमा उडान गर्ने सहमति सहित तत्कालिन समयमा तारा एयरले परिक्षण उडान गरेको थियो । तर सहमति अनुसार उडान हुन सकेन ।

विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । यहाँ ट्विनअटर विमान मात्रै अवतरण गर्न सक्छन । प्राधिकरणले ट्विनअटर विमानको संख्या कम भएको र सरकारले पूर्वाधारमा ठूलो लगानी गरेका नेपालगञ्ज र धनगढी विमानस्थल नजिकै रहेकोले सो विमानस्थल पुनःसञ्चालनमा कठिनाई रहेको भनेको छ । टीकापुरबाट पूर्वतर्फ रहेको नेपालगञ्ज र पश्चिमतर्फ रहेको धनगढी करिव सय किलोमिटरको दूरीमा छन ।

जहाँ ७२/८० सिट क्षमताका ठूला जहाज सञ्चालनमा छन । नेपालगञ्ज र धनगढीबाट दैनिक दर्जन बढी उडान हुने गरेका छन । यी दुवै विमानस्थलमा रात्रीकालिन अवतरणको व्यवस्था समेत रहेको छ । 

    
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update