Hamro Patra
परिक्षण उडानको अनुमति पायो, व्यवशायिक उडानको टुंगो छैन

टीकापुर, कात्तिक १०
नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेको टीकापुर विमानस्थलमा परिक्षण उडानका लागि अनुमति दिएको छ । 

प्राधिकरणले नेपाल वायुसेवा निगमलाई कात्तिक ९ गते चलानी नम्बर ८३३ को एक पत्र पठाई परिक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । उसले प्राधिकरणको शर्त र अधिनमा रहेर परिक्षण उडान गर्न भनेको छ । पत्रमा परिक्षण उडान पश्चात प्रतिवेदन तयार पारेर बुझाउन समेत भनिएको छ । 

CMA Staff

प्राधिकरणले नेपालगंज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरुको सुनिश्चितता भए पश्चात परिक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ । 

सो प्रतिवेदनमा हवाई मैदान भित्रको निर्माण सामाग्री हटाउने, दुईतर्फको बाटो बन्द गर्ने, धावनमार्गका खाल्डा पुर्ने, झारपात उखेल्नुपर्ने उल्लेख थियो । प्रतिवेदन प्राधिकरणको प्राविधिक टोलीले तयार पारेको थियो । प्रतिवेदन अनुसारका कामहरु भैरहेका छन । 

टीकापुर नगरपालिकाले परिक्षण उडानका लागि आवश्यक व्यवस्था गरिरहेको छ । नगरपालिकाले सबै खर्च व्यहोर्ने प्रतिवद्धता गरेपछि प्राधिकरण परिक्षण उडानका लागि तयार भएको बताईएको छ । 
नेपालगंज नागरिक उड्डयन कार्यालयले कात्तिक ११ गते परिक्षण उडान गर्ने बताईएको छ । 

नेपाल वायुसेवा निगमले परिक्षण उडान गर्ने भएपनि त्यसपछिको नियमित उडानको भने अझै टुंगो लागेको छैन । निगम आफैले नियमित उडान गर्ने बारेमा केही बोलेको छैन । निगमसँग अहिले टीकापुर विमानस्थलमा अवतरण हुनसक्ने दुईवटा विमान मात्रै छन । अन्य विमान कम्पनीसँग भने यस्ता विमान आठवटा छन । अन्य विमान कम्पनीले टीकापुरमा जडाज उडाउने बारेमा चासो दिएका छैनन् । 

२०७१ सालमा समेत विमानस्थलमा तारा एयरले परिक्षण उडान भरेको थियो । तत्कालिन विमानस्थल सञ्चालन समितिले टीकापुर–काठमाण्डौं उडानको १३ सिटको जिम्मा लगेको थियो । तैपनि तारा एयरले व्यवशायिक उडान भर्न सकेन । 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update