टीकापुर, कात्तिक १०
नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर १ ले आज टीकापुरमा ७२ औं स्थापना दिवस मनाएको छ । उसले लागु औषध विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि शाहले लागु औषध दुव्र्यसन साझा समस्या भएको बताए । उनले लागु औषध दुव्र्यसन रोकथामलाई राजनीतिक आँखाले हेर्न नहुने बताए ।
‘यो हामी सबैको समस्या हो । यसको रोकथाममा सबैको हातेमालो हुनुपर्छ’ उनले भने–‘सबैको साझा प्रयासले मात्रै दुव्र्यसन रोकथाम गर्न सकिन्छ ।’
उनले दुव्र्यसनको विकल्प खेलकुद हुने भएकाले खेलकुदका माध्यमबाट दुव्र्यसन रोकथाम गर्न सहज हुने बताए । उनले राज्यका तीनै तहले खेलकुदका क्षेत्रमा बजेट बढाउनुपर्नेमा जोड दिए । उनले टीकापुर नगरपालिकाले खेलकुदका क्षेत्रमा छुट्याएको बजेटको दुरुपयोग भैरहेको आरोप लगाए ।
‘नगरपालिकाले छुट्याएको बजेट बिल मिलाएर खर्च गरिन्छ’ उनले भने–‘खेलकुदको बजेट दुरुपयोग रोक्नुपर्छ ।’
सोही कार्यक्रममा विशिष्ट अतिथि रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले दुव्र्यसन मुक्त टीकापुर बनाउने साझा संकल्पको आवश्यकता रहेको बताए । उनले प्रहरीको एक्लो प्रयासले यो सम्भव नरहेको बताए । ‘प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव छैन’ उनले भने–‘सबैको हातेमालो जरुरी छ ।’
उनले दुव्र्यसन आफैमा अपराध नभई दुव्र्यसनले अपराध बढाउने बताए । उनले कानूनी कारवाहीले मात्रै दुव्र्यसन रोकथाम हुन नसक्ने भन्दै यसका लागि जनचेतना आवश्यक रहेको बताए । उनले प्रहरीले समाजमा निरन्तर रुपमा दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
‘हामी समाजमा जनचेतना फैलाउने कार्यमा सकृय छौं’ उनले भने–‘सबैको सहयोगको अपेक्षा राखेका छौं ।’
कार्यक्रममा पूर्व दुव्र्यसनी रहेर अहिले दुव्र्यसन विरुद्धको अभियानमा सकृय उपेन्द्र बटालाले समाज लागु औषधका कारण बदनाम भैरहेको बताए । उनले समेत रोकथामका लागि सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिए ।
उनले लहलहैमा दुव्र्यसनमा फसेर पछि पछुताउनु भन्दा अहिले नै त्यसतर्फ आकर्षित नहुन युवाहरुलाई आग्रह गरे ।
कार्यक्रमको समापन गर्दै सभापति कुँवरले युवालाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बताए । सो कार्यक्रम बीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा आयोजना गरिएको थियो । त्यहाँ क्रिकेट प्रतियोगिता सञ्चालन भैरहेको छ ।
कुँवरले आफू समेत पूर्व दुव्र्यसनी रहेकाले यसका बारेमा राम्रो जानकारी रहेको बताए । उनले खेलकुदमा लागेका युवाहरु समेत दुव्र्यसनमा फस्ने डर रहेको बताउँदै त्यसतर्फ नलाग्न आग्रह गरे ।
कार्यक्रममा तरुण दल टीकापुर नगर समितिका उपसभापति उमेश नाथले स्वागत गरेका थिए ।