Hamro Patra
आर्थिक सुशासन कायम गर्न पालिकाका लेखा समिति सक्रिय हुनुपर्दछः उपाध्यक्ष विश्वकर्मा 

चैनपुर, असोज ७
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङका स्थानीय तहका लेखा समितिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा लेखा समितिको भूमिकाका सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम बझाङको चैनपुरमा सम्पन्न भएको छ । 

अष्ट्रेलियन सरकार र द एसिया फाउण्डेशनद्वारा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको सहयोगमा जिल्ला समन्वय समिति बझाङको आयोजना तथा कमिटेड नेपालको सहजिकरणमा जिल्लाका १२ वटै पालिकाका लेखा समितिका संयोजक, सदस्य तथा सदस्य सचिवको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

जिल्ला समन्वय समितिको सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विश्वकर्माले स्थानीय तहका लेखा समिति सुशासनको मुख्य पिल्लर भएको बताए । 

CMA Staff

‘पालिकाको बेरुजु न्यूनिकरणका लागि लेखा समितिको भूमिका महत्वपूणर् हुन्छ, समितिले आफ्नो काम, कर्तव्य पूणर् रुपमा पालना गर्न सके पालिकाबाटै बेरुजु कम हुँदै जाने, त्यसको नतिजा प्रदेश र संघीय सरकारमा समेत पर्ने हुन्छ’ उपाध्यक्ष विश्वकर्माले भने ‘श्रोत साधनको कमी, प्रशिक्षणको कमीका कारणले लेखा समितिको भूमिका प्रभावकारी हुन सकेको छैन, यो तालिमपछि बझाङका पालिकाहरुमा बेरुजु न्यूनिकरण हुने विश्वास लिएको छु ।’

उपाध्यक्ष विश्वकर्माले देशमा गरिबी नघट्नु, विकास निर्माण पर्याप्त नहुनु र देशको उल्लेख्य प्रगति नहुनुमा भ्रष्टाचार मुख्य कारण रहेको बताउँदै आर्थिक पारदर्शिता कायम गर्न समेत पालिकास्तरबाटै लेखा समितिहरु थप सक्रिय हुनुपर्ने बताए ।

‘आर्थिक सुशासन कायम हुन नसक्दा देशमा गरिबी घटेको छैन, विकास भएको छैन र सोचे अनुरुप हाम्रो प्रगति हुन सकेको छैन’ उपाध्यक्ष विश्वकर्माले भने ‘त्यसका लागि पनि पालिकाका स्थानीय लेखा समिति सक्रिय भएर आर्थिक सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्दछ ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बझाङका समन्वय प्रमुख नरबहादुर बोहराले बझाङ जिल्लामा अन्य जिल्ला भन्दा बेरुजु बढी देखिएकाले बेरुजु फछ्र्यौट गर्न, समयमै सम्परीक्षण गर्न पालिकाका कर्मचारी र जनप्रतिनिधि सचेत हुनुपर्ने बताए ।

‘जनताको नजिकको सरकार भएकाले पनि कतिपय अवस्थामा कागजात नपुगेरै भुक्तानी दिने बाध्यता स्थानीय सरकारसँग हुन्छ’ समन्वय प्रमुख बोहराले भने ‘तर पालिकाका कर्मचारी र जनप्रतिनिधिले आवश्यक ऐन, कानुन अनुसारका कागजात पुर्याउने, समयमै बेरुजु फछ्र्यौट गर्ने र सम्परीक्षण गर्नेतर्फ ध्यान दिन सके जिल्लाकै बेरुजु घट्नेछ ।’

प्रशिक्षणमा सहभागीका तर्फबाट बोल्दै केदारस्युँ गाउँपालिकाको लेखा समितिका सदस्य तस्वीर विश्वकर्माले लेखा समितिको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षणबाट थप स्पष्ट भएको बताउँदै पालिकालाई जनताप्रति थप उत्तरदायी बनाउन समिति सक्रिय हुनुपर्ने बताए । 

दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा पूर्व उपमहालेखापरीक्षक महेश्वर काफ्ले र कमिटेड नेपालका कार्यक्रम व्यवस्थापक अनिरुद्र न्यौपानेले सहजीकरण गरेका थिए । 

जिल्ला समन्वय प्रमुख बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुका तर्फबाट बोल्दै छबिस पाथिभेरा गाउँ पालिकाको लेखा समितिका सदस्य आशादेवी थापा कठायतले प्रशिक्षण प्रभावकारी रहेको बताइन् ।

समापन कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डाक्टर गोपीकृष्ण खनाल, एसिया फाउण्डेशनका वरिष्ठ सुशासन तथा नीति विज्ञ परशुराम उपाध्याय, वरिष्ठ कार्यक्रम अधिकृत आभास घिमिरे, सुदूरपश्चिम संयोजक यज्ञमान सेठ्ठी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update