Hamro Patra
यान्त्रिकरणले उत्पादन लागत घट्यो, उत्पादनमा वृद्धि

टीकापुर, ३ कार्तिक
कैलालीका अधिकांश खेतमा किसानहरु धानबाली भित्र्याउन व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले महिना दिनसम्म धान काट्न व्यस्त रहने किसानहरु कृषिमा भित्रिएका यान्त्रिक प्रविधिको प्रयोगले उत्पादन लागत घटाई रहेका छन् । 

जिल्लामा यतिबेला धान काट्ने कम्पाइन मेसिन, पावर टिलर रिपर मेसिनको प्रयोगले धान काटिरहेका दृष्यहरु देख्न पाइन्छ । कम्पाइन मेसिनले पाकेको धान सिधै सिधै झारेर जम्मा गर्दछ भने पावर टिलर रिपरले सजिलै काट्न सकिन्छ । 

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ किसान हरिप्रसाद चौधरी वर्षाैंदेखि खेती किसानी गर्दै आइरहेका छन् । झण्डै ४ बिघा जमिनमा खेती गर्दै आएको दश जनाको चौधरीको परिवारलाई धान काट्न र स्याहार्न महिना दिन लाग्थ्यो । सिजनमा उनको परिवारका सदस्यलाई पानी पिउन समेत फुर्सद हुँदैनथ्यो । खेत जोत्नका लागि वर्षैभरि राँगा, गोरु पाल्नुपथ्र्यो ।

Tikapur Hospital

चार वर्षअघि ट्याक्टर खरिद गरेर खेती गर्न थालेपछि राँगा गोरु पाल्ने झण्झटबाट मुक्त भएका उनी यान्त्रिक खेतीमा लागेका छन् । उनको घरमा पावर टिलर रिपर छ, गाउँकै कम्पाइन मेसिनले उनले धान र गहुँ केही घण्टामै घर भित्र्याउँछन् । 

‘धान रोप्ने मेसिन आइसक्यो, खेतबाटै धान र गहुँ काटेर सिधै दाना जम्मा गर्ने कम्पाइन हार्वेट्स मेसिन आएपछि चार बिघाको उत्पादन तीन घण्टामै घर भित्र्याई रहेका छौं’ चौधरीले भने ‘धान काट्न मजदुर खोज्नुपर्ने, महङ्गो शुल्क तिर्नुपर्ने, घर परिवार कसैलाई महिना दिनसम्म फुर्सदै नै हुन्थेन, अहिले छिटो र सजिलै भित्र्याई रहेका छौं, यसले हाम्रो लागत पनि कम भएको छ ।’ 

लम्कीचुहा नगरपालिका वडा नं. ४ बलियाका तपेन्द्र रावलको छ विघा जग्गा छ । धान लगाउने मान्छे नभेटिने, खर्च बढी हुने जस्ता समस्या भएपछि खेती अधियाँ (बटैया) मा दिँदै आएका उनी मेसिनको प्रयोगबाट खेती हुन थालेपछि आफै खेती गरिरहेका छन् । ‘मेसिनको प्रयोगले किसानको समय र खर्च दुबै बचत भएपछि गाउँका अधिकांश किसान मेसिनको प्रयोग गर्न थालेका छन्’– यान्त्रिक कृषिबारे उनले भने–‘एक विघा जग्गाको गहुँ काट्न, दाना बनाउन कम्पाइन मेसिनले ४५ मिनेट लाग्छ यसले समय र लागत दुबै बचत भएको छ ।’ 

जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा नं. २ बौनियाँका किसान एकराज बुढाले दुई वर्ष अघि ४५ लाख खर्चेर धान गहुँ काट्ने कम्पाइन मेसिन खरिद गरे । यो सिजनमा उनको मेसिनले तीन शय विघा धान काटेको छ । प्रतिविघा साढे ७ हजार रुपैयाँमा कम्पाइन मेसिनको प्रयोगले खेतबाटै धान गहुँको दाना भित्र्याउन सकिने भएकाले मेसिन खरिद गरेको उनले बताए । 

‘मेसिनको प्रयोगले समय र खर्च दुबै बचत हुन्छ’–वर्षौदेखि खेती गर्दै आएका उनले भने–‘यस्ता मेसिनहरुको प्रयोगले कृषिलाई व्यावसायिक बनाउन मद्दत पुग्छ ।’ धान गहुँ काट्न मात्र होइन, जोत्न, खेत रोप्न समेत कैलालीका किसानहरुले आधुनिक यन्त्र उपकरणहरु भित्र्याई रहेका छन् । 

टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले धान र गहुँ काट्ने कम्पाइन मेसिन भित्र्याएपछि त्यहाँका किसानहरुको उत्पादन लागत कम भएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार कम्पाइन मेसिनले धान काट्न प्रतिबिघा ७ हजार ५ रुपैयाँ लागत लाग्ने बताउँछन् । ‘मान्छेले काट्ने हो भने ज्यालादारी दिन, धानको पुला बाँध्न, थे्रसिङ्ग गर्न प्रतिबिघा २० हजार बढी लाग्छ’ व्यवस्थापक चौधरीले भने ‘एक डेढ घण्टामै खेतको धान थोरै लागतमा घरमै पुर्याउन सकिन्छ, यसले लागतको ७५ प्रतिशतसम्म कम गरेको छ ।’

यान्त्रिक मेसिनहरुको प्रयोगले उत्पादन लागत कम मात्रै नभई ट्याक्टर र पावर टिलरले जोत्दा धान र गहुँको उत्पादन समेत वृद्धि भएको किसानहरु बताउँदै किसान समेत रहेका चौधरीले भने ‘नयाँ प्रविधिको प्रयोगले उत्पादन समेत बढेको छ भने किसानको लागत कम भइरहेको छ ।’ कृषिमा भित्रिएको यान्त्रीकरणले गोरुले खेत जोत्ने, रोपाहारले रोप्ने र धान दाउनी गर्ने परम्परागत प्रविधि भने विस्थापित हुँदै गएको छ । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६७ हजार ४३७ हेक्टरमा यस वर्ष धान खेती भएको छ । जिल्लाका अधिकांश किसानहरुसँग पावर टेलर, ट्याक्टर लगायतका उपकरणहरु रहेका छन् भने विभिन्न सहकारीहरुले धान र गहुँ काट्न प्रयोग हुने कम्पाइन मेसिनहरु भित्र्याएका छन् । 

कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले स्थानीय तह, ज्ञान केन्द्र, प्रदेश सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यान्वयन इकाईले किसानहरुलाई यान्त्रिक मेसिनहरु उपलब्ध गराउँदै आएकाले पनि कैलालीमा यान्त्रिक खेती भइरहेको बताए । 

‘ज्ञान केन्द्र, आयोजना र स्थानीय तहहरुले समेत कृषि यन्त्रमा अनुदानमा दिइरहेका छन्, अधिकांश किसानहरुसँग पावर टिलर, रिपरहरु छन्’ अधिकृत चौधरीले भने ‘उत्पादन लागत कम हुने, जोत्न सजिलो हुने, अन्नबाली भित्र्याउन सहज हुने भएकाले यसप्रति आकर्षण बढ्दै गइरहेको छ ।’

मेसिनको प्रयोगले हुने जोताईले समेत धान, गहुँ बालीको उत्पादन वृद्धिमा मद्दत पुगिरहेको अधिकृत चौधरीले बताए । ‘गत वर्ष कैलालीमा प्रतिहेक्टर ४.७१ मेट्रिक टन धान उत्पादन भएको थियो, यो अघिल्ला वर्षहरुको तुलनामा वृद्धि भएको देखिन्छ’ चौधरीले भने ‘यस वर्ष समेत धान उत्पादन बढ्ने अनुमान गरेका छौं, जिल्लाका ११ वटै पालिकामा कोरकटिङ्ग चलिरहेको छ ।’ 

किसानहरुले मेसिनबाट खेती गर्न थालेपछि कैलालीमा कृषिजन्य मेसिनहरु भित्रिने क्रम बढ्दो छ । कैलालीमा धान, गहुँ काट्ने कम्पाइन मेसिन, ट्याक्टर, पावर ट्रिलर, धान रोप्ने मेसिन, धान गहुँ दाउने थ्रेसर जस्ता मेसिनहरु वर्षेनी भित्रिरहेका छन् । यस्ता मेसिनहरुको प्रयोगले कृषिमा व्यावसायीकरण हुँदै गएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update