Hamro Patra
विमानस्थल सञ्चालन गर्ने राज्यमन्त्रीको पत्र, प्राधिकरण भने बेखबर 

टीकापुर, कात्तिक २
टीकापुरस्थित विमानस्थल फेरी एक पटक चर्चामा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालन सम्बन्धी पठाएको पत्र सार्वजनिक भएपछि चर्चा सुरु भएको हो । 

अहिले सो पत्र सामाजिक सञ्जालमा भाईरल बनेको छ । कतिपयले राज्यमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन भने कतिपयले व्यङ्ग्य गरिरहेका छन । पत्रको व्यहोरा नै सामान्य ढंगको छ । 

२०८१ कात्तिक १ गते पठाएको चलानी नम्बर ४३ को तीन हरफको पत्रमा विमानस्थल सञ्चालन गर्न मन्त्रालय पूर्ण रुपमा तयार रहेको र दुवैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाई गर्ने व्यवस्था मिलाउनु भनिएको छ । 

Tikapur Hospital

बन्द अवस्थामा रहेको विमानस्थलका दुई ठाउँमा घेरावार काटेर स्थानीयले सडकका रुपमा प्रयोग गर्दै आएका छन । पश्चिम तर्फको सडक स्थानीय पालिकाले कालोपत्रे समेत गरेको छ । 

राज्यमन्त्रीको निजी सचिवालयले नगरपालिकालाई यस्तो पत्र पठाए पनि नागरिक उड्डयन प्राधिकरण भने यस बारेमा बेखबर छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको बताए । 

‘त्यो पत्र मलाई पनि कसैले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत पठाएको थियो’ उनले भने–‘हामीलाई आधिकारिक जानकारी छैन ।’

उनले विमानस्थल सञ्चालन गर्ने कुरामा प्राधिकरण बेखबर रहनुले पत्रको गम्भीरता माथि प्रश्न उठ्नु स्वभाविक हुने बताए । 

२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको हो । विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयस्तरबाट धेरै प्रयास गरियो । अहिलेसम्म सम्भव हुन सकेको छैन । 

लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा ४ सय मुक्त कमैयाले अतिक्रमण गरे । वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट पहल हुन थालेपछि  टीकापुर नगर विकास समितिले विमानस्थलमा बसेका मुक्त कमैयालाई अन्यत्र स्थानान्तरण गर्यो । २०६९ सालमा मुक्त कमैयाले विमानस्थलको जग्गा छोडेका थिए । 

तत्कालिन सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालन गर्ने निर्णय गर्यो । टीकापुरमा पनि विमानस्थल सञ्चालनका लागि पहल गर्न स्थानीय बासिन्दाले टीकाराम जैशीको संयोजकत्वमा सञ्चालक समिति गठन गरे । 
स्थानीयको पहलमा अतिक्रमित जग्गा खाली गरेर सञ्चालनका लागि घेरावार र धावनमार्ग मर्मत समेत गरियो । जसमा करिव २ करोड रुपैयाँ खर्च भएको थियो । 

समितिकै पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाईट’ पनि गरिएको थियो । सञ्चालक समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन । 

विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद विक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो । मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैया रकम संकलन भएको थियो ।

विमानस्थल पुनः सञ्चालन यस क्षेत्रका बासिन्दाको प्रमुख माग हो । तर प्राधिकरणका अनुसार विमानस्थल पुनः सञ्चालन हुने कुरा प्राविधिक रुपमा कठिन छ । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । जुन ठूलो जहाज अवतरणका लागि अपुग हुन्छ । हाल सञ्चालनमा रहेका ठूला जहाजका लागि कम्तिमा १२ सय मिटरको धावनमार्ग चाहिने सूचना अधिकारी भुलले बताए । 

उनका अनुसार सानो जहाज सञ्चालन गर्न खर्चिलो हुनेछ । जसको भार यात्रुले व्यहोर्नु पर्नेछ । सानो जहाज सञ्चालन गर्दा काठमाण्डौं–टीकापुरको भाडादर कम्तिमा १४ हजारको हाराहारीमा हुन जानेछ । 

नेपालमा सानो जहाजको संख्या नै कम छ । नेपाल वायुसेवा निगमसँग २ र निजी कम्पनीसँग ८ गरी १० वटा मात्रै सानो जहाज छन । सूचना अधिकारी भुलका अनुसार ती जहाजलाई पर्यटक बोक्न भ्याई नभ्याई छ । उनी अहिलेकै अवस्थामा विमानस्थल पुनः सञ्चालन हुनसक्ने कुरामा सहमत छैनन् । 

टीकापुरबासीले हाल हवाइ सेवाका लागि करिव सय किलोमिटर टाढा रहेका नेपालगञ्ज र धनगढी विमानस्थल प्रयोग गर्ने गरेका छन । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update