Hamro Patra
सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानको गठन प्रक्रिया नै गलत छः साहित्कार श्रेष्ठ प्रिया पत्थर

टीकापुर, असोज ३०
सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानको गठन प्रक्रिया गलत र साहित्यिक क्षेत्रका प्रतिनिधिहरुको अपमान हुने गरी भएको अग्रज साहित्यकार एवं पहिलो नेपाली महिला गजलकार श्रेष्ठ प्रिया पत्थरले बताएकी छन् । 

कैलालीको टीकापुरमा गगन फाउण्डेशनले आयोजना गरेको ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहको लोकार्पण गर्दै साहित्यकार श्रेष्ठले सो कुरा बताएकी हुन् । 

‘समग्र सुदूरपश्चिमको कला, साहित्य क्षेत्रको विकासका लागि भन्दै गठन भएको प्राज्ञ प्रतिष्ठानमा कुलपति मुख्यमन्त्री, सहकुलपति सामाजिक विकास मन्त्री रहने व्यवस्था राखिएको प्राज्ञ प्रतिष्ठानमा साहित्यकारको भूमिका के हो ?’ प्रश्न गर्दै श्रेष्ठले भनिन् ‘साहित्य, कला क्षेत्रको विकासका लागि काम गरिरहेका अग्रजहरुको भूमिकालाई प्रदेश सरकारले ख्याल गर्न सकेन, त्यो व्यवस्था सच्याउनका लागि मैले अनुरोध गरिरहेको छु ।’

Tikapur Hospital

कार्यक्रममा बोल्दै श्रेष्ठले टीकापुरको माटोले जन्माएका थुप्रै साहित्यकारहरुले टीकापुरलाई सिर्जनशील बनाउने मद्दत गरिरहेको बताइन् । 

‘४० को दशकमा नेपालमा भित्रिएको गजल बिधा साहित्य क्षेत्रमा अब्बल बिधाका रुपमा स्थापित भइरहेको छ, विश्वविद्यालयका पाठ्यपुस्तकमा टीकापुरका श्रष्टाहरुका सिर्जनाहरु समावेश भएका छन्’ श्रेष्ठले भनिन् ‘सत्ती, टीकापुर क्षेत्रबाटै मेरै नेतृत्वमा सुदूरपश्चिम साहित्य समाजको गठन भएको हो, यहाँको साहित्यिक विकासमा समाजको योगदान महत्वपूर्ण छ ।’ हाल धनगढी बसोबास गर्दै आएकी श्रेष्ठले आफूले टीकापुरको बासिन्दा भनी चिनाउन पाउँदा गर्व लाग्ने गरेको बताइन् ।  

२०७९ मा टीकापुरमा सम्पन्न टीकापुर साहित्य महोत्सवको गजल सन्ध्या कार्यक्रममा सहभागी १५ जना श्रष्टाहरुका पाँच÷पाँच वटा गजल समावेश गरिएको ‘रैबार टीकापुरका’ संयुक्त गजल संग्रहमा ७५ वटा गजलहरु समावेश छन् । स्थानीय गगन फाउण्डेशनले उक्त संग्रह प्रकाशन गर्दै बजारमा ल्याएको हो । 

संग्रहमाथि टिप्पणी गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा बाचन गरिएका १५ श्रष्टाका गजलहरुको संग्रह नै प्रकाशित हुनु आफैमा सुखद् अनुभूति रहेको बताए । 

‘कार्यक्रममा बाचन गरिएका १५ जना श्रष्टाका ७५ गजल समावेश गरेर संग्रह प्रकाशित हुनु आफैमा सुखद् अनुभूति हो’ डाक्टर उपाध्यायले भने ‘गजल साहित्यमा यो कृतिले छुट्टै स्थान बनाउनेछ, यो प्रकाशनका लागि म हिक्मत थापालाई आभार व्यक्त गर्दछु ।’ डाक्टर उपाध्यायले संग्रहमा देश प्रेम, माया प्रेम, समसामयिक विषयवस्तुमाथि लेखिएका सशक्त गजलहरु समावेश रहेको बताए । 

कार्यक्रममा संग्रहका स्रष्टा हर्क विष्ट, विष्णाकुमारी बिसी ‘सपना’ ले आफ्ना गजलहरु बाचन गरेका थिए । त्यस्तै सहभागीहरुका तर्फबाट मिनबहादुर थापा ‘मिलन’ आर्त अकुलिन, आनन्दबिक्रम राणा, कण्ठराज गिरी, झलनाथ खनाल, भक्तराज देवकोटा, ललित विष्ट, जनकराज तिमिल्सेना, चेतराज देवकोटा, निलम चौधरी र बाबु देवकोटाले गजल तथा कबिताहरु प्रस्तुत गरेका थिए । 

गगन फाउण्डेशनका संस्थापक संरक्षक हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update