Hamro Patra
कोल्ड स्टोर निर्माणको माग गर्दै किसानको दवाव सुरु


योगेश रावल
टीकापुर, फागुन १२
कैलालीको पूर्वी क्षेत्रका किसानहरु तत्काल कोल्ड स्टोर निर्माणका लागि दवाव दिने उद्देश्यले रकम संकलन अभियानमा जुटेका छन । उनीहरुले रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फलाई कोल्ड स्टोर निर्माणका लागि दवाव दिने उद्देश्यले रकम संकलन अभियान थालेको बताए ।

रकम संकलन अभियानको नेतृत्व रानी जमरा कुलरीया मुल कुला समितिले सम्हालेको छ । मुल कुला समितिका अध्यक्ष कुमारराज शाहीले तत्काल कोल्ड स्टोर निर्माणका लागि दवाव दिने उद्देशयले तीनवटै कुला समितिले रकम संकलन गरिरहेको जानकारी दिए । मुल कुला समिति मातहत रानी, जमरा र कुलरीया गरी तीन छुट्टाछुट्टै कुला समिति छन । ‘यो एक किसिमको दवाव नै हो’ उनले भने–‘किसान स्वस्फूर्त रुपमा रकम संकलन गर्न तयार छन ।’

आयोजनाले आफ्नो दोस्रो चरणको कार्यक्रम अन्र्तगत टीकापुरमा कोल्ड स्टोर निर्माण गर्ने लक्ष्य राखेको छ । जसका लागि आयोजनाले झण्डै सवा तीन करोड रुपैयाँ खर्च गर्नेछ । कुल साढे चार करोडको लागतमा निर्माण हुने कोल्ड स्टोरको थप रकम किसानहरुबाट संकलन गरिने उल्लेख छ ।
अध्यक्ष शाहीले सोही रकम शेयरका रुपमा किसानहरुबाट संकलन अभियान थालेको बताए । उनले किसानलाई १० देखी १०० कित्ता शेयर प्रदान गरिने जानकारी दिए । ‘सबै किसानको सहभागिता हुनुपर्नेमा हाम्रो जोड छ’ उनले भने–‘तब मात्रै किसानले आफ्नो सहभागिताको महशुस गर्नेछन ।’

Khadga Memorial And Janajagriti

मुल कुला अन्र्तगतका रानी, जमरा र कुलरिया गरी १३ हजार किसानहरुले कोल्ड स्टोरको लागत सहभागिताका लागि शेयर रकम संकलन गर्नेछन । जसमध्ये रानी कुला जल उपभोक्ता समितिमा ३ हजार उपभोक्ता छन् । समितिले रकम संकलन गर्न आर्थिक संकलन उपसमिति समेत बनाएको छ । उपसमितिले माघ २९ गतेदेखि रकम संकलन शुरु गरिरहेको अध्यक्ष श्रीपाल चौधरीले जानकारी दिए । ‘हामीले उपसमिति बनाएर रकम संकलन थालेका छौं’ उनले भने–‘केही रकम जम्मा समेत भैसकेको छ ।’

त्यस्तै जमरा कुलामा ६ हजार सदस्य छन् । अध्यक्ष लालबिर चौधरीले किसानहरुलाई प्रत्यक्ष लाभ होस् भन्नका लागि शेयर सदस्यता दिने गरी रकम संकलन थालेको बताए ।
उता, कुलरिया कुला जल उपभोक्ता समितिमा ३ हजार ५ शय सदस्य छन् । सदस्य किसानहरुले प्रति सदस्य १ हजारको दरले शेयर लिने गरी रकम संकलन भइरहेको अध्यक्ष रविलाल चौधरीले जानकारी दिए । किसानबाट संकलित रकम तीनवटै कुला समितिले आ–आफ्ना जिम्मामा राखेका छन ।

कोल्ड स्टोर निर्माणका लागि आयोजनाले किसानको २५ प्रतिशत लागत सहभागीता खोजेको छ । जुन रकम झण्डै सवा करोड रुपैयाँ हुन आउँछ ।
आयोजनाको कृषितर्फका प्रमुख भरत कँडेलले चालु आवमै कोल्ड स्टोर निर्माणको काम सुरु हुने बताए । उनले आगामी आव भित्र निर्माणको काम सम्पन्न गर्ने गरी गृहकार्य भैरहेको जानकारी दिए । ‘केही प्रकृया बाँकी छ । तर अर्को आर्थिक वर्षमा सक्ने गरी यो वर्ष निर्माण सुरु हुन्छ’ उनले भने–‘कोल्ड स्टोर निर्माणको काममा ढिलाई हुँदैन ।’

उनले कोल्ड स्टोर निर्माणको जग्गाका लागि टीकापुर नगरपालिकासँग छलफल भैरहेको बताए । उनले जग्गा उपलब्ध गराउने बारेमा नगरपालिका तयार रहेको पाईएको बताए ।
किसानहरुले कोल्ड स्टोर सञ्चालन प्रकृया प्रति भने अनभिज्ञता व्यक्त गरेका छन । उनीहरुले किसानको लागत सहभागीतामा निर्माण भएपनि त्यसको सञ्चालन अन्य कुनै व्यक्तिका हातमा जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन । जमरा कुलाका अध्यक्ष लालबिर चौधरीले कुनै व्यक्तिले सञ्चालन गर्ने हो भने कोल्ड स्टोर निर्माणको अर्थ नहुने बताए ।

आयोजना कृषितर्फका प्रमुख कँडेलले भने कोल्ड स्टोर किसानकै मातहतमा सञ्चालन हुने बताए । ‘किसानले शंका नगरे हुन्छ । सञ्चालन प्रकृयामा हाम्रो हस्तक्षेप हुँदैन’ उनले भने–‘आवश्यक सरसल्लाह मात्रै दिने हो ।’
कमाण्ड क्षेत्र भित्रका किसानलाई लक्षित गरी निर्माण हुने कोल्ड स्टोरबाट सिजनमा उत्पादन भएको तरकारी र फलफूललाई भण्डारण गरेर बढी मूल्यमा बिक्री गर्न सकिने उद्देश्यले आयोजनाको छ । जसले किसानको आय श्रोतमा वृद्धि हुने विश्वास गरिन्छ ।

हाल यस क्षेत्रका किसान आफ्नो उत्पादन कोल्ड स्टोरमा राख्न कञ्चनपुरको महेन्द्रनगर वा बाँकेको कोहलपुर जान वाध्य छन । कोल्ड स्टोर निर्माण भएसँगै किसानको यो वाध्यता अन्त्य हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update