Hamro Patra
शैक्षिक योग्यता धेरै भएर जागिरमा फेल !

टीकापुर, असोज २९
हरेक मान्छे धेरै भन्दा धेरै पढ्न चाहन्छ । पढ्नुको उद्देश्य शिक्षित बन्नु मात्रै नभई सहजै रोजगारी प्राप्त गर्नु पनि हो । रोजगारी जीविकोपार्जनसँग जोडिएको हुन्छ । त्यसैले मान्छे जीविकोपार्जनका लागि धेरै पढ्छ ।

तर एकजना युवाले भने धेरै पढेका कारण जागिर पाउन सकेनन् । ती युवा हुन, टीकापुर नगरपालिका वडा नम्बर १ एकतानगर शिविरका २२ वर्षका शंकर परियार । 

उनले टीकापुर नगरपालिकाको पाले (चौकिदार) पदमा आवेदन दिएका थिए । बैशाख तिर खोलिएको विज्ञापनमा उनीसँगै ८ जनाले आवेदन दिएका थिए । असारको अन्त्यतिर उनीहरुको मौखिक परिक्षा भएको थियो । जसमध्ये उनको नाम वैकल्पिकमा राखियो ।

Tikapur Hospital

उनले आफ्नो नाम वैकल्पिकमा देखेपछि प्रश्न गरे । उनका अनुसार टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले तपाईको शैक्षिक योग्यता धेरै भयो भनेर जवाफ दिए । यस्तो जवाफ सुनेपछि उनी अचम्मित परे । त्यतिबेला उनलाई शैक्षिक योग्यता धेरै भएर जागिरबाट बञ्चित भएकोमा पढेकोमा पछुतो लाग्यो । 

उनले अछामको रामारोसन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियास्थित पूर्णचन्द्र माविबाट २०७७ सालमा प्लस टु उत्तीर्ण गरेका छन । उनी टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भए । उनले तेस्रो सेमिस्टारसम्म अध्ययन पनि गरे । उनले चाहेर पनि अध्ययनलाई अघि बढाउन सकेनन् । 

उनले परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण पढाई छोड्नु परेको बताए । उनी घरको जेठो सन्तान हुन । उनका १ बहिनी र २ भाई छन । उनी विवाहित समेत हुन । उनका एक छोरा पनि छन । परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ ।

परिवारको आर्थिक अवस्थाकै कारण उनले पालेको जागिर खान खोजेका थिए । तैपनि उनी उत्तीर्ण हुन सकेनन् । नगर प्रमुख थारुले शैक्षिक योग्यता धेरै भएको कुरा गरेपछि उनले आफ्नो अवस्था बारे बताए । 

‘जागिर जस्तोसुकै होस् । मेरा लागि निकै आवश्यक छ’ उनले भने–‘हिजो पढाई छोड्नु पर्यो आज देश छोड्नु पर्ने स्थिति आएको छ ।’

उनी पढाईमा कमजोर छैनन् । उनले अहिलेसम्म कुनै कक्षामा अनुत्तीर्ण नभएको बताए । 

भर्ना प्रकृयामा संलग्न रहेका टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले शैक्षिक योग्यता धेरै भएर जागिर नपाएको कुरामा सत्यता नरहेको बताए । उनले प्रकृयामा योग्य व्यक्ति उत्तीर्ण हुँदा उनी (परियार) अनुत्तीर्ण भएको बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update