Hamro Patra
बढ्दै घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल

घोडाघोडी,  असोज २९
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाह दशैँदेखि घोडाघोडीमा पर्यटकको चहलपहल बढेको बताउँछन् । 

घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि रु १० तिर्नुपर्छ  । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उनले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक संख्या वृद्धि भइररहेको बताए । 

पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा फोटोग्राफर २५ भन्दा बढी छन् । दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भने ‘दसैँको दिनदेखि ह्वात्तै पर्यटक बढेका छन् । दिनको पाँच हजारसम्म आम्दानी हुने गरेको छ ।’ 

Tikapur Hospital

आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजा खाँदा व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताए । 

घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडी तालको छेउ हुँदै सहायक तालअन्तर्गत रहेको ओजुवातालसम्म पर्यटक पुग्ने गर्दछन् । 

दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउँछन् । 

पूर्व-पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । 

चराहरूको महत्वपूणर् बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेञ्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । 

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार ‘नेपालकै पहिलो बर्ड सेञ्चुरी घोषणा गरेपछि पनि यहाँ पर्यटकको संख्या बढेको छ । घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थाले पनि पर्यटक लामो समयसम्म अडिनसक्ने वातावरण नरहेको पर्यटन व्यवसायी डबल शाहको भनाइ छ ।

एक शय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update