Hamro Patra
किशोरीको हत्या प्रकरण जटिल बन्दै 

डडेल्धुरा, असोज २७
डडेल्धुरामा एक किशोरीको शव फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान जारी रहेको मात्रै भनिरहेको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव शुक्रवार फेला परेको थियो ।

शुक्रबार राति उनको हत्या भएको र त्यसपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

Tikapur Hospital

सोही घटनामा प्रहरीलाई सत्यतथ्य अनुसन्धान तथा न्याय माग गर्दै स्थानीय र आफन्तले पोखरा बजारमा आन्दोलन पनि थालेका छन ।

सोही क्रममा प्रहरीले भने भट्टराईको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

घटनास्थलबाट करिव १५÷२० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

२५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नफर्किएपछि परिवारले उनको खोजी कार्य थालेका थिए । तर, स्थानीयले सोही दिन राति प्लास्टिकको बोराभित्र शव रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले शव फालेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोली घटनास्थलमा खटिएको थियो ।

अनुसन्धानबाट उक्त शव आरतीको रहेको खुलेको थियो । आरतीको बलात्कारपछि हत्या भएको परिवारको आरोप छ । उनको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update